
News Summary
Generated by OK AI. Editorially reviewed.- कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एक्लो’ समावेश भएको छ।
- अभिनेता प्रदीप खड्काले नेपालका छायांकन गन्तव्य प्रचार गर्दैछन्।
- फिल्मको प्रवर्धन र नेपालको प्रवर्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय गतिविधिहरू सञ्चालन भएका छन्।
काठमाडौं । यतिबेला फ्रान्समा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल जारी छ । यसवर्षको कान्स मार्केटमा नेपालबाट फिल्म ‘एक्लो’ समावेश छ । यो फिल्मका निर्माताले फेस्टिभलमा सहभागी अन्तर्राष्ट्रिय निर्माता, वितरक र सेल्स एजेन्टलाई फिल्मबारे जानकारी दिइरहेका छन् ।
अभिनेता प्रदीप खड्का पनि यतिबेला निर्देशक प्रदीप शाहीसँगै फेस्टिभलमा छन् । यो फिल्मको प्रवर्धन मात्र होइन, अभिनेता खड्काले नेपालका छायांकन गन्तव्यको समेत कान्समा प्रचारप्रसार गर्दैछन् ।
फ्रान्सेली अभिनेत्री मारिएन बोर्गो, अबुधाबी र नर्वेका फेस्टिभल निर्देशकहरूलाई भेटेर उनले चलचित्र विकास बोर्डले तयार पारेको लोकेसन सम्बन्धी ब्रोसर बाँडेका छन् । भारत प्याभेलियनसहितका अन्तर्राष्ट्रिय बुथमा पुगेर उनले नेपाल छायांकनको लागि उत्कृष्ट गन्तब्यको रहेको बताउँदै चिनाइरहेका छन् ।
साथै, ‘एक्लो’को च्याप्टर १ लाई अन्तर्राष्ट्रिय वितरक र प्रदर्शकमाझ पनि प्रवर्धन गरेको प्राप्त तस्वीरमा देख्न सकिन्छ । ढोरपाटनमा छायांकन भैरहेको ‘ऐरी’को छायांकनबाट निस्किएका प्रदीप अहिले कान्समा पुगेका हुन् ।
प्रदीपले नेपाली समयानुसार सोमबार बिहान कान्समा एक फ्रेन्च फिल्मको प्रिमियरमा भाग लिएका थिए । पहिलोपटक नेपालको राष्ट्रिय झण्डा र स्टल राख्दै ‘एक्लो’ले कान्स मार्केटमा नेपालको प्रवर्धन गरिरहेको छ ।
प्रतिक्रिया 4