+
+
Shares

विभाजित माओवादीबीच एकताको पहल गर्न प्रचण्डलाई आग्रह

जनयुद्धका शहीद, बेपत्ताका परिवार, घाइते तथा अपांगता भएकाहरूले माओवादीबाट विभाजित भएकाहरूबीच पुनः एकताको पहल गर्न माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनयुद्धका शहीद, बेपत्ता परिवार, घाइते र अपाङ्गता भएका व्यक्तिहरूले माओवादी एकताको आवश्यकतामा जोड दिए।
  • नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई पुनः एकताको नेतृत्व गर्न आग्रह गरेको र सरकारमा हुँदा शहीदलाई राष्ट्रिय सम्मान दिने व्यवस्था गरेको बताए।
  • प्रचण्डले आगामी १२ जेठमा माओवादी र नेपा पार्टीबीच एकता हुने र अन्य नेताहरूसँग पनि एकता प्रक्रिया अघि बढिरहेको जानकारी दिए।

७ जेठ, काठमाडौं । जनयुद्धका शहीद, बेपत्ताका परिवार, घाइते तथा अपांगता भएकाहरूले माओवादी धाराहरूबीच पुनः एकताको खाँचो रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वको सिस्नेमा आयोजित कार्यक्रममा उनीहरूले अध्यक्ष प्रचण्डलाई त्यसको नेतृत्व गर्न आग्रह गरेका हुन् ।

पटकपटक विभाजित हुँदा माओवादी पार्टी कमजोर बनेको भन्दै घाइते तथा अपाङ्ग योद्धाहरूले उपचार, जीवन निर्वाह भत्ता वृद्धि, रोजगारीको व्यवस्था र राज्यबाट प्रभावकारी पुनःस्थापनाको माग गरे ।

जवाफमा माओवादी अध्यक्ष प्रचण्डले आफू सरकारमा हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको, शान्तिप्रक्रियासम्बन्धी बाँकी काम पूरा गर्न संसद्बाट कानुन निर्माण गरिएको र पीडितलाई क्षतिपूर्ति दिने कानुनमै व्यवस्था गरिएको बताए ।

शान्ति प्रक्रिया टुंग्याउन दुईवटा समिति गठन भइसकेको जानकारी दिँदै उनले पीडितलाई परिचयपत्र दिने प्रक्रिया कानुनमार्फत सुनिश्चित गरिएको र सोहीअनुसार ती समितिले काम गर्ने बताए ।

सरकारमा रहँदा माओवादी केन्द्रले देशका पाँच स्थानमा आवासीय विद्यालय स्थापना गरेर शहीद, बेपत्ता र गरीब परिवारका सन्तानलाई शिक्षाको पहुँचमा ल्याउने काम गरेको पनि प्रचण्डले चर्चा गरे ।

उनले आगामी १२ जेठमा माओवादी र नेपा राष्ट्रिय पार्टीबीच एकता हुने जानकारी गराए । बाबुराम भट्टराईसँग अलग भएर गएका अन्य नेताहरूसँग पनि विचार र सिद्धान्तको आधारमा एकता गर्ने प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो ।

विगतमा केही कमजोरी भएको आत्मसमीक्षासहित आफू आफ्नो वर्गका जनता, जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूसँग भेट्दै र पिर मर्का बुझ्दै हिँडेको प्रचण्डले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?