
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा चालु आर्थिक वर्षको १० महिनामा ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको लसुन आयात भएको छ।
- भन्सार विभागले चीन र भारतबाट आयात भएको लसुनको तथ्यांक सार्वजनिक गरेको छ।
- सरकारले ठूलो परिमाणमा लसुन नेपाल भित्रिनु अस्वाभाविक भन्दै शंका व्यक्त गरेको छ।
७ जेठ, काडमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) अवधिमा नेपालमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात भएको छ ।
भन्सार विभागले बु्धबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ६ अर्ब ५५ करोड ६३ लाख ७२ हजार रुपैयाँको ४ करोड ९७ लाख ८९ हजार किलो लसुन आयात भएको हो । उक्त परिमाणको लसुन आयातबाट विभागले १ अर्ब ६७ करोड १६ लाख ८८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
चालु आव १० महिनामा चीन र भारतबाट लसुन आयात भएको तथ्यांकले देखाउँछ । वैशाखसम्म आयात भएको लसुनमध्ये ६ अर्ब ५० करोड २३ लाख २० हजार रुपैयाँको ४ करोड ९३ लाख २७ हजार ३ सय ६७ किलो लसुन चीनबाट आयात भएको छ ।
यस्तै भारतबाट ५ करोड ४० लाख ५१ हजार रुपैयाँको मात्रै लसुन आयात भएको छ ।
नेपालमा पछिल्लो समय लसुन आयात अस्वाभाविक भएको तथ्यांकले देखाउँछ । आयात भएको लसुन कतै भण्डारण गरेर राखेको नदेखिएको पनि सरोकारवालाहरू बताउँछन् ।
सरकारी अधिकारी ठूलो परिमाणमा लसुन नेपाल भित्रिनु अस्वाभाविक भएको बताउँछन् । उक्त लसुन भारततर्फ निकासी भएको हुन सक्ने शंका छ ।
अस्वाभाविक रूपमा लसुन आयात भए पनि लसुनको मूल्य भने घटेको छैन । धेरै परिमाण आयात हुँदा पनि लसुनको भाउ घटेको देखिँदैन ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार एक किलो चिनियाँ लसुनको अधिकतम मूल्य ३ सय रुपैयाँ र औसत मूल्य २ सय ७६ रुपैयाँ कायम छ । आम उपभोक्ता भने खुद्रामा एक किलो लसुनको मूल्य ४ सयदेखि ५ सय रुपैयाँसम्म तिर्ने गरेको गुनासो गर्छन् ।
प्रतिक्रिया 4