
News Summary
Generated by OK AI. Editorially reviewed.- आज मे २२ मा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघले यस वर्षको अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको नारा ‘हारमोनी विथ नेचर एण्ड सस्टेनेबल डेभलफमेन्ट’ तय गरेको छ ।
- दिगो विकास र जैविक विविधता एक अर्काका परिपुरक हुन् यिनलाई सापेक्ष रुपमा अघि बढाउनु पर्छ ।
- नेपालले जैविक विविधता र वातावरण संरक्षणमा प्रयास गर्दै आएको भएता पनि अवैध व्यापार, प्राकृतिक श्रोतको दोहन र विकास परियोजनाले चुनौती सिर्जना गरिरहेका छन्।
आज मे २२, अन्तराष्ट्रिय जैविक विविधता दिवस “प्रकृति र दिगो विकास, समृद्धिको मूल आधार” भन्ने नाराको साथ मनाइँदै छ । सन् १९९२ को रियो अर्थ सम्मेलनबाट पारीत जैविक विविधता महासन्धि दिनको सम्झना स्वरुप हरेक वर्ष २२ मेलाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको रुपमा मनाइदै आइएको छ ।
जैविक विविधता महासन्धिको मुख्य लक्ष्य जैविक विविधताको संरक्षण, त्यसको दिगो उपयोग र उपयोगबाट प्राप्त लाभको न्यायोचित वितरण थियो ।
सामान्य हिसाबमा जैविक विविधता भनेर विभिन्न प्रकारका वनस्पति, जनावर र सूक्ष्मजीवहरुको विविधतालाई बुझिन्छ । जैविक विविधताले प्राणी, वनस्पती तथा सुक्ष्म जीवात्माहरुको जातीय–प्रजातीय विविधता, आनुवंशिक विविधता तथा पारिस्थितिक प्रणालीको विविधता समेतलाई जनाउँदछ ।
जैविक विविधता महासन्धि १९९२ ले पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण, जीव, जन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधतालाई जैविक विविधता भनेको छ ।
सन् १९६० को दशकबाट संसारभरि ठुला भौतिक पूर्वाधार निर्माणको विकासले तीव्रता पाएको देखिन्छ । यस खालको विकासले प्राकृतिक सम्पदा र जैविक विविधताको भने विनाश गर्दै गयो र वातावरणीय सन्तुलनलाई पनि खलबलायो । विकासले विनाश निम्ताउदै गएपछि सक्तरीको दशकबाट संयुत्त राज्य अमेरिकालगायत अन्य विकसित देशहरूले विकास निर्माणका परीयोजना बनाउनुपूर्व नै त्यसखालका परीयोजना निर्माण र सञ्चालनले त्यस क्षेत्रको जैविक विविधता र वातावरणमा पर्ने सक्ने असर र तिनको न्यूनीकरणको लागि वातावरणीय प्रभाव मूल्यांकन गर्ने कार्यको सुरुआत गरे ।
नेपालले पनि सातौं पञ्चवर्षीय योजना (सन् १९८५—९०) बाट ठूला आयोजनाहरूको सम्भाव्यता अध्ययनमा वातावरणीय पक्षको पनि अध्ययन हुनुपर्ने नीतिलाई अवलम्बन गर्यो । सन् १९९२ को रियो अर्थ सम्मेलनबाट नै दिगो विकासको अवधारणालाई पनि संस्थागतरुपमा अघि सार्यो ।
यसले वातावरणीय संवर्द्धन र आर्थिक समृद्धि एकअर्काका परीपुरक हुनसक्ने परिकल्पना गर्यो । वर्तमान पिंढीको आवश्यकताको परिपूर्तिका लागि गरिने विकासले भावी पिंढीको आवश्यकता पूर्तिको पनि ग्यारेन्टी गर्नुपर्ने बाध्यकारी अवस्था सृजनामा जोड दियो । यसले वातावरण मैत्री विकासको मान्यतालाई स्थापित गर्यो ।
तर आज पनि विकास र जैविक विविधता संरक्षण बीच सुमधुर सामञ्जस्यता छैन । विकासले निम्ताइरहेको प्राकृतिक विनाश र मानव समुदायमा परेको त्यसको प्रतिकूल प्रभावको मुद्दा संसारभर पेचिलो बन्दै गएको छ ।
त्यसैले होला संयुक्त राष्ट्रसंघले यस वर्षको अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको नारा ‘हारमोनी विथ नेचर एण्ड सस्टेनेबल डेभलफमेन्ट’ (Harmony with nature and sustainable development) तय गरेको छ ।
विकासको आवस्यकता, माग र प्रतिस्पर्धा संसारभर तीव्र छ । स्वभाविकरुपमा हाम्रो जस्तो देशमा यसको रफ्तार र खाँचो झन् बढी छ ।
आज पनि ठूला भौतिक पूर्वाधारहरु जस्तै सडक, विमानस्थल, उधोग, सिंचाइ, जलविद्युत उत्पादन तथा प्रशारण र रेलमार्ग हाम्रा प्राथमिकताका क्षेत्र हुन् । यसखालका भौतिक पूर्वाधारहरुको निर्माण र संचालनले ती क्षेत्रको जैविक विविधता, प्राकृतिक स्वरुप र पर्यावरणीय सन्तुलन खलबलिन्छ ।
जैविक विविधताकै कारण हाम्रो पृथ्वी सजिव ग्रह तथा बस्नयोग्य ग्रह बनेको हो । त्यसैले जैविक विविधता मानव जीवन र अस्तित्वको आधार हो ।
एक तथ्यांक अनुसार विश्वमा करीब डेढ अर्ब मानिसहरु आफ्नो जिविकोपार्जनका लागि वनजन्य श्रोतमा आश्रित छन् । यसरी जैविक विविधता जिविकोपार्जन तथा आयआर्जनको मुख्य श्रोतको रुपमा रहेको छ ।
विभिन्न वनस्पती तथा जीवजन्य उत्पादनहरुबाटै हाम्रा आवश्यकताहरु पूर्ति हुन्छन् । जैविक विविधताबाटै प्राप्त हुने वस्तु र सेवाहरुबाट मानिसका दैनिक जिविकाका साथै वस्तु विनिमय र व्यापार सम्भव भएको हो ।
विश्व अर्थव्यवस्थाको ४० प्रतिशत र न्यून आय भएका मुलुकका जनताको ८० प्रतिशत आवश्यकताहरु जैविक विविधताजन्य श्रोतबाटै प्राप्त हुने गरेको तथ्यांक छ ।
वातावरणीय सन्तुलन, पानीको प्राकृतिक शुद्धीकरण, प्रदूषण नियमन, रासायनिक पदार्थको शोषण, जलचक्रको सन्तुलन, प्राणवायु उत्पादन, कार्बन सञ्चिती, बाढी तथा पहिरो नियन्त्रण जस्ता वातावरणीय प्रणालीका लागि जैविक विविधताको अहम् भूमिका रहन्छ ।
कृषि उत्पादन, खाद्य सुरक्षा, स्वास्थ्य र पोषण, स्थानीय ज्ञान, सीप तथा संस्कृति, जलश्रोत तथा प्राकृतिक सौन्दर्य जस्ता विषयहरु जैविक विविधतासँगै जोडिएका हुन्छन् ।
हाम्रो मुलुकमा विभिन्न समुदायहरुको वनस्पती र जीवजन्तुहरुसँग सांस्कृतिक सम्बन्ध समेत रहेको र धर्मशास्त्रमा विभिन्न जीवजन्तु र वनस्पतीलाई पवित्र मानेर सम्मान तथा पूजा समेत गरिने भएबाट जैविक विविधतालाई जीवनशैलीकै एक पाटोको रुपमा समेत लिन सकिन्छ ।
जीव विज्ञान तथा आनुवांशिक अध्ययनबाट रोग निदान गर्ने औषधिको आविष्कार हुने गरेको छ । यसले मानिसको स्वास्थ्यमा सुधार तथा औषत आयुमा वृद्धि भैरहेको छ । आनुवांशिक विविधताले प्रजातिहरुमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै वातावरणीय परिवर्तनसँग अनुकुलित हुन सहयोग पुर्याउँदछ ।
नेपाललाई विश्वकै जीवन्त जैविक विविधताको संग्रहालय भनिन्छ । विश्व मानचित्रमा भौगोलिक हिसाबले सानो मुलुक रहेको विश्वको कूल भुभागको केवल ०.१ प्रतिशत हिस्सा ओगट्ने भएपनि जैविक विविधताको हिसाबले नेपालले विश्वको करीब ४ प्रतिशत हिस्सा ओगट्छ ।
जैविक विविधताको हिसाबले नेपाल विश्वमा २५ औँ र एसियामा ११ औँ स्थानमा पर्दछ । यहाँ १ सय १८ किसिमका पारिस्थितिक पद्धति पाइन्छन् ।
सरकारी तथ्यांक अनुसार विश्वमा पाइने कूल वनस्पती प्रजातिको ३.२ प्रतिशत र कूल प्राणी प्रजातिको १.१ प्रतिशत नेपालमा पाइन्छ । त्यसमध्ये कैयन् प्रजाति स्थानीय प्रजातिको रुपमा रहेका छन् ।
तर बिडम्वना हाम्रै कारणले विद्यमान जैविक विविधतामा भने ह्रास आइरहेको छ । वन्यजन्तुको चोरी सिकार तथा ओखेटोपहारको अवैध व्यापार, संरक्षित क्षेत्र तथा स्थानीय समुदायबीचको द्वन्द्व, मानिस वन्यजन्तु द्वन्द्व, प्राकृतिक श्रोतको अत्यधिक दोहन, भौतिक पूर्वाधार निर्माणमा चरम वनफडानी, बढिरहेको सहरीकरण तथा वस्ती विस्तार, कृषि भूमिको विस्तार, प्रदूषण तथा वनक्षेत्रमा अत्यधिक चरीचरनले जैविक विविधतामा चुनौति खडा गरिरहेका छन् ।
मिचाहा प्रजातिको फैलावट, अव्यवस्थित रुपमा किटनाशक औषधिको प्रयोग र अहिले हामीले अभ्यास गरीरहेका पर्यावरण अमैत्री विकाशका त्रियाकलापको कारण पनि जैविक विविधता संकटमा पर्दै गएको छ ।
सरकारी संरक्षण निकाय, विज्ञ, संरक्षण सस्थाहरु र संरक्षणकर्मीहरुले जैविक विविधताको संरक्षणको पाटोलाई मात्र ध्यान दिने र आम उपभोक्ताहरुले उपयोगलाई मात्र प्राथमिकतामा राख्ने गर्दा संरक्षण र दिगो उपयोगको बिचमा असन्तुलन पैदा हुने गरेको छ ।
देशको बदलिदो संरचनामा स्थानीय सरकार स्वायक्त र शत्ति सम्पन्न भएको वर्तमान अवस्थामा यस्ता खालका क्षेत्रहरुमा सहभागितामुलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवम पर्यटन उद्योग र विकास सँगसँगै लैजान समन्वयकारी तथा अभिभावकीय भूमिका निभाउनु पर्नेमा प्राकृतिक स्रोत–साधनको दोहनमा मात्र ध्यान दिइएको पाइन्छ ।
यसको न्यूनीकरणको लागि जैविक विविधताको अनुसन्धान, संरक्षण, दिगो उपयोग र व्यवस्थापनमा नीतिनिर्मातासँगै जनचासो, जनसहभागिता र अपनवत्वको मुलप्रवाहीकरण जरुरी छ ।
हाम्रो समृद्धिको आधार यी प्राकृतिक सम्पदा र जैविक विविधताको पहिचान गरी तिनको महत्व स्थापित गर्दै संरक्षण, व्यवस्थापन, दिगो उपयोग र प्रवर्द्धनको खाँचो छ ।
दिगो विकास र जैविक विविधता एक अर्काका परिपुरक हुन् यिनलाई सापेक्ष रुपमा अघि बढाउनु पर्छ । तर हाम्रो ध्यान तात्कालिन लाभ, अधिकतम उपभोग र अनियन्त्रित तथा अवैज्ञानिक दोहनमा मात्र छ । परीणामत बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोप र मानव वन्यजन्तु द्वन्द्वका घटानाको संख्या बढ्दो छ ।
यसले पर्यावरण मैत्री दीर्घकालीन योजना र नेपाल पक्ष राष्ट्र भएका वातावरण सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताहरुको समेत खिल्ली उडाएको छ । जैविक विविधता मासेर होइन संरक्षण, व्यवस्थापन र यसको प्रवर्द्धन गरेर मात्र आर्थिक सवलताका साथै पर्यावरणीय सन्तुलन कायम राख्न सकिन्छ । विश्व पर्यटन बजारको इतिहास र विकास हेर्ने हो भने पनि जैविक विविधितामा आधारीत पर्यटन दिगो र बढी प्रतिफल दिने खालको देखिन्छ ।
हाम्रा विकास निर्माणका परियोजनाहरुले पनि जैविक विविधता र वातावरणीय पक्षलाई सधैं उपेक्षा गरिरहेको देखिन्छ । अधिकांश आयोजनाहरुमा वातावरणीय प्रभाव मूल्यांकन (आईईई, ईआईए) अध्ययनलाई खाली कर्मकाण्डी प्रक्रियाको रुपमा मात्र बुझ्ने गरिन्छ । निजी लगानीकर्ताका परीयोजनामा मात्र होइन सरकारी र अन्तर्राष्ट्रिय दातृसंस्थाको सहयोग र लगानीमा सञ्चालन हुने परियोजनामा समेत ईआईए अध्ययनलाई प्राथमिकता दिइँदैन । त्यसैगरी दक्ष र विषयगत विज्ञहरुको फिल्ड अध्ययन अनुसन्धानमा संगलग्नता बिना नै अध्ययन प्रतिवेदन बनाउने परीपाटी पनि व्यापक छ ।
दक्ष विषयगत विज्ञबाट गम्भिरतापूर्वक र जिम्मेवार रुपमा गरिने वातावरणीय अध्ययनबाट मात्र समस्याको समयमै पहिचान हुनुका साथै निर्माण र ततपश्चात हुने जोखिमहरु पनि न्यूनीकरण गर्न सकिन्छ । त्यतिमात्रै होइन फरक पृष्ठभूमि, प्रकृति र क्षेत्रका अरु आयोजनाका प्रतिवेदनबाट हुबहु नक्कल गरी प्रतिवेदन बनाउने प्रचलन आम छ ।
यसमा नियामक र निर्देशक निकायले अध्ययन तथा प्रतिवेदनलाई अनुगमन तथा मूल्यांकन नै नगरी आँखा चिम्लिएर स्वीकृत दिने गर्छ । यसले अन्तत परियोजनाको दिगोपना र वातावरण संरक्षणमा मात्र हानी गर्दैन हाम्रो प्रकृती तथा पर्यावरणीय सन्तुलन, त्यसप्रतिको उत्तरदायीत्व र दिगो विकासको बुझाइ र व्यभारलाई उजागर गर्दछ ।
जैविक विविधता हाम्रो जनजीवन र संस्कारसँग पनि अभिन्न सम्बन्ध राख्ने विषय हो । हाम्रा संस्कारले पनि पञ्चमहाभूतको रुपमा प्रकृति पुजन गर्ने र विभिन्न जीव तथा वनस्पतिलाई ईश्वरको रुपमा पूजा गर्ने पाठ हामीलाई सिकाएको छ ।
सम्पूर्ण प्राणी र वनस्पति प्रकृतिका अनुपम सिर्जना मात्र होइनन् अभिन्न अंगसमेत हुन् जसको अभावमा मानव अस्तित्व सम्भव छैन । त्यसैले जैविक विविधताको संरक्षणप्रति सबैको साझा चासो, साझेदारी तथा दायित्वबोध आवश्यक छ ।
हामीले विकासको गतिलाई रोक्न भने सक्दैनौं र यो रोकेर रोकिँदैन पनि । यस अवस्थामा हामीहरुले अपनाउनुपर्ने बाटो प्राकृतिक सम्पदाको कमभन्दा कम क्षतिमा, यथासक्य जैविक विविधता जोगाउँदै वातावरण मैत्री र दीर्घकालीन महत्व तथा फाइदाको विकास नै हो । यसबाट नै हामीले समृद्धि हासिल गर्न सक्छौं ।
प्रतिक्रिया 4