
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले पहाडी क्षेत्रमा नयाँ ठूला सडक आयोजना नगर्ने निर्णय गरेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कार्ययोजना स्वीकृत भएको हो।
- कार्ययोजनाअनुसार, सडक आयोजना र पूर्वाधारको प्राथमिकता निर्धारण गरी मात्र आयोजना सञ्चालन हुनेछ।
- आगामी ६ महिनामा लुम्बिनी र पशुपति क्षेत्र विकास कोषलाई राष्ट्रिय गौरवको सूचीबाट हटाइनेछ।
९ जेठ, काठमाडौं । सरकारले पहाडमा नयाँ ठूला सडक आयोजना अगाडि नबढाउने भएको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
सो कार्ययोजनामा उल्लेख भए अनुसार अब पहाडी भेगमा नयाँ ठूला सडक आयोजना बनाइने छैन । सडक आयोजनाको प्राथमिकीकरण गरी रणनीतिक उपदायताका आधारमा मात्र आयोजना सञ्चालनको नीति ल्याउने र यसको कार्यान्वयन आगामी वर्ष नै हुने कार्ययोजनामा उल्लेख छ ।
कार्ययोजना अनुसार प्राथमिकीकरणको मापदण्ड तयार गरी कार्यान्वयन गरिने भएको छ । निर्माण भइसकेका सडक र सिँचाइका पूर्वाधारलाई मध्यनजर गरी उत्पादन वृद्धि गर्ने कार्यक्रम सञ्चालनको समेत योजना कार्ययोजनामा उल्लेख छ ।
पूर्वतयारी नसकेका आयोजनामा अब बजेट विनियोजन नगर्ने समेत अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।
आयोजना अवधिभर कर्मचारीलाई सरुवा नगर्ने समेत अर्थले कार्ययोजनामा लेखेको छ ।
सञ्चालनमा रहेका राष्ट्रिय गौरव र बहुवर्षीय आयोजना सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरिने भएको छ ।
अधुरा आयोजना सम्पन्न गर्न र वित्तीय स्रोत उपलब्ध भए मात्र नयाँ आयोजना छनोटको नीति लिइने समेत कार्ययोजनामा उल्लेख छ ।
आगामी ६ महिनाभित्र लुम्बिनी र पशुपति क्षेत्र विकास कोषलाई राष्ट्रिय गौरवका आयोजनाको सूचीबाट हटाइने भएको छ । सिँचाइ र जलविद्युत् उत्पादन गर्ने आयोजनामा निजी क्षेत्रको लगानी आकर्षित गर्ने समेत कार्ययोजनामा समेटिएको छ ।
प्रतिक्रिया 4