+
+
Shares

राजेश हमालकी गुमनाम हिरोइन, पर्दामा हेर्न अधैर्य छन् दर्शक

संयोग भनौं- कृष्टिकै जन्मदिनमा राजेशको कमब्याक फिल्म प्रदर्शनमा आएको छ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म अभिनेत्री कृष्टी मैनालीले ५० औं जन्मदिन मनाइरहेकी छन्।
  • उनी अहिले अमेरिकाको न्यूयोर्कमा बसोबास गरिरहेकी छन् र गुमनाम जीवन बिताइरहेकी छन्।
  • उनको पछिल्लो फिल्म ‘पछ्यौरी’ २८ वर्षअघि रिलिज भएको थियो, त्यसयता उनी फिल्म क्षेत्रमा सक्रिय छैनन्।

काठमाडौं । नेपाली फिल्मका दर्शकले ९० को दशक सम्झिँदा मस्तिष्क चित्रमा एउटा नाम आउँछ- कृष्टी मैनाली । राजेश हमालको डेब्यु फिल्म ‘युगदेखि युगसम्म’मा उनले हमालसँग अनस्क्रिन रोमान्स गरेकी थिइन् ।

राजेशले शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘नरसिंहा अवतार’बाट कमब्याक गरे । संयोग पनि कस्तो- हमालकै डेब्यु फिल्मकी हिरोइन कृष्टी शुक्रबार ५० औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् ।

फिल्मप्रेमीले कृष्टीलाई चिन्ने धेरै तरिका छन् । सर्वप्रिय फिल्म ‘कान्छी’बाट डेब्यु गरेकी कृष्टी ‘चिनो’, ‘युगदेखि युगसम्म’, के घर के डेरा, सन्तान, तिलहरी, कसम, गोपीकृष्णजस्ता जीवन्त फिल्मका लागि परिचित छन् ।

शुक्रबार उनको जन्मदिन ! अहिले उनी रेडकार्पेटमा, कुनै अन्तर्वार्तामा छैनन् । आक्कलझुक्कल सामाजिक संजालमा पोस्ट आउँछन् । यद्यपि, गतिविधि शून्य । यतिबेला उनका समकालिन कलाकार धमाधम पर्दामा फर्किरहेका छन् । तर, कृष्टी भने गुमनाम जीवन बाँचिरहेकी छन् ।

कुनै समय थियो, जब पर्दामा कृष्टीको अनुहार देखिँदा फिल्म हिट हुने ग्यारेन्टी मानिन्थ्यो । ‘कसम’मा हमालसँगको दोहोरो भूमिकाले दर्शकलाई छक्क तुल्यायो । ‘राधाकृष्ण’ मा भुवन केसीसँगको जोडीले सिंगो हल तालीले गुञ्जायमान बनाउँथ्यो । तर अहिले हलमा नयाँ पुस्ता चम्किरहेको छ ।

करिअरको उत्कर्षमा हुँदा अचानक पर्दाबाट हराएकी कृष्टी अहिले अमेरिकाको न्यूयोर्कमा बसोबास गर्छिन् । कृष्टीको पछिल्लो फिल्म ‘पछ्यौरी’ रिलिज भएको २८ वर्ष भयो । त्यसयता उनी गुमनाम छिन् ।

करिअरमा उनले ३० भन्दा धेरै फिल्ममा अभिनय गरिन् । उनका धेरैजसो फिल्ममा भुवन केसी, शिव श्रेष्ठ र राजेश हमाल हिरोको भूमिकामा छन् । उनका समकालिन कलाकार पनि अहिले पनि सक्रिय छन् । कोहीले पुनरागमन गर्न थालिसके ।

हमाल शुक्रबारदेखि ‘नरसिंहा अवतार’बाट फिल्ममा फर्कीएका छन् । भुवन नयाँ पुस्तासँग फिल्म बनाइरहेका छन् । तर कृष्टी मैनाली ? उनी त न्यूयोर्कमा बसोबास गरिरहेकी कुरा धेरैलाई थाहा छैन । उनी न त फिल्म कार्यक्रममा देखिन्छिन्, न सामाजिक सञ्जालमा आफ्ना स्मृतिहरू बाँड्छिन् ।

कुनै बेला चम्किएको उनको स्टारडम अहिले प्राइभेसीको रुपमा लुकेको छ । सामाजिक सञ्जालमा उनका पछिल्ला फोटोहरू हेर्दा उनको लुक्स भिन्न देखिन्छ । नयाँपुस्ताले त चिन्दा पनि चिन्दैन । यद्यपि, सामाजिक संजालमा उनलाई चिनेकाले शुभकामना दिइरहेका छन् ।

उनको उमेर ५० वर्ष पुगेको छ तर सौन्दर्य अझै निखारिँदो छ । नेपाली दर्शक अझै पनि आशामा छन्– कहीँ कतैबाट कृष्टीले पुनः पर्दामा फन्को मारून् भन्ने । दर्शकको स्मृतिमा उनै अझै स्टार हुन् । कृष्टीलाई ह्याप्पी बर्थडे !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?