
News Summary
Generated by OK AI. Editorially reviewed.- सवारी चालक अनुमतिपत्र छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिइएको छ।
- समझदारीपत्रमा हस्ताक्षरपछि असार मसान्तभित्र पहिलो चरणको छपाइ गरिनेछ।
- मन्त्री दाहालले छपाइ कार्य चुस्त र पारदर्शी बनाउने निर्देशन दिएका छन्।
९ जेठ, काठमाडौं । सवारी चालक अनुमतिपत्र छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यस सम्बन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्रमार्फत चालक अनुमतिपत्र छपाइ गर्ने भएको हो ।
नवीकरण गरिएको लामो समयसम्म सवारी चालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले विभागलाई पटक–पटक निर्देशन दिएका थिए ।
तत्काल अनुमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य गर्न नागरिक एपमा चालक अनुमतिपत्र समावेश समेत गरिएको छ । हाल सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिबाना भुक्तानी गराउने कार्यसमेत गर्दै आएको छ ।
दिगो समाधानका लागि समयमै सवारी चालक अनुमतिपत्र छपाइ नै गर्नुपर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलब्ध गराउने विकल्प खोजी गर्न निर्देशन दिएका छन् ।
सरकारी निकायबीच सहकार्य गरी सवारी चालक अनुमतिपत्र छपाइको विकल्प खोजी गर्ने क्रममा केही दिनअघि दुवै मन्त्रालयका सचिव सहित भौतिकमन्त्री दाहाल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङबीच छलफल भएको थियो ।
दुई सरकारी निकायबीच सहकार्यले सवारी चालक अनुमतिपत्र छपाइ कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
दुवै पक्षबीच भएको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र प्रथम चरणको छपाइ गरी विभागलाई हस्तान्तरण गर्ने छ ।
समझदारीपत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन् । अब सुरक्षण मुद्रण केन्द्रले क्यूआर सहित विभिन्न सुरक्षा विशेषता भएका सवारी चालक अनुमतिपत्र छपाइ गर्ने छ ।
प्रतिक्रिया 4