+
+
Shares

युवा संघमा क्षितिजलाई नै दोहोर्‍याउन ओली-भण्डारीकै दबाब, आकांक्षी असन्तुष्ट

प्रतिस्पर्धीलाई निषेध गर्न खोजिएको आरोप

ओली–भण्डारीले क्षितिजलाई नै दोहोर्‍याएर पूर्वी नेपाललाई समेट्नुपर्ने दबाब दिइरहेको नेताहरू बताउँछन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ जेठ १० गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवा संघका अध्यक्षमा क्षितिज थेबेलाई दोहोर्‍याउन दबाब दिएका छन्।
  • नेताहरूले सर्वसम्मत बनाउन प्रयास गरिरहेका छन्, तर आकांक्षीहरूमा असन्तुष्टि बढिरहेको छ।
  • महाधिवेशनमा मतदान र प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।

१० जेठ, पोखरा । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्मले राष्ट्रिय युवा संघका अध्यक्षमा क्षितिज थेबेलाई नै दोहोर्‍याउन दबाब दिँदा अन्य आकांक्षीहरूमा तीव्र असन्तुष्टि बढेको छ । वर्तमान अध्यक्ष क्षितिजकै नाममा सर्वसम्मत बनाउन नेताहरूले कसरत गरेका हुन् ।

अब पार्टीको राजनीतिमा जाने र युवा संघको नेतृत्व छाड्ने बताएका क्षितिजलाई फेरि दोहोर्‍याउन ओली र भण्डारीले दबाब दिइरहेका नेताहरूले बताएका छन् । ओलीकै निर्देशनमा सर्वसम्मत बनाउन जनसंगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य भानुभक्त ढकाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, राजीव पहारीलगायतले कसरत रहिरहेका छन् ।

हालका अध्यक्ष क्षीजित थेबे, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम, महाराज गुरुङ र महासचिव सुमन पुरी अध्यक्षका आकांक्षी छन् । क्षितिजलाई नदोहोर्‍याउने हो भने सबैभन्दा बढी सुमन र महाराजको बीचमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।

पूर्वअध्यषहरू महेश, राजीव र किरण पौडेल महाराज गुरुङलाई अध्यक्ष बनाउन लागि परेका छन् भने पूर्वअध्यक्ष रमेश पौडेल, बच्चनबहादुर सिंह, पूर्वउपाध्यक्ष सन्तोष रावललगायत सुमन पुरीलाई अध्यक्ष बनाउन कसरत गरिरहेका छन् ।

सर्वसम्मत बनाउने नाममा शुक्रबार सुमन र महाराजलाई आधा/आधा कार्यकाल चलाउने गरी सर्वसम्मत गराउन प्रस्तावसमेत गरेका नेताहरूले शनिबार बिहानदेखि भने ओली र भण्डारीको हबला दिँदै क्षितिजलाई नै दोहोर्‍याउने प्रस्ताव गरेका छन् ।

‘अध्यक्ष ओली, पूर्वराष्ट्रपति भण्डारीको हबला दिँदै क्षितिजलाई अध्यक्षमा सर्वसम्मत गर्न नेताहरूले प्रस्ताव गरे । एक दिन एउट कुरा गर्ने, अर्को दिन अर्को कुरा गर्ने हुँदैन । अध्यक्षलाई कसैलाई च्याप्ने, नच्याप्ने गर्ने कुरा पनि हुन्छ, हामी पनि पार्टी अध्यक्ष ओलीकै त हौं,’ अध्यक्षका एक आकांक्षीले अनलाइनखबरसँग भने, ‘सर्वसम्मत गर्ने नाममा लाखापाखा गर्न पाइन्नँ, बरु चुनावमै गइन्छ ।’

अध्यक्षका आकांक्षी सुमनले पनि कुनै पनि हालतमा आफू पछि नहट्ने जिकिर गरे । ‘क्षितिजको नाममा सर्वसम्मत गर्ने कसरत भइरहेको साँचो हो तर म मैदानबाट बाहिर जान्नँ । सर्वसम्मतका नाममा पछि हट्दिनँ,’ सुमनले भने, ‘स्वस्थ प्रतिस्पर्धा हुन्छ । मतदाता र प्रतिनिधिले आफ्नो नेतृत्व आफैं छान्छन् ।’

यसअघिको महाधिवेशनमा पनि आफू पछाडि हट्दै महासचिव बनेको र अहिले पनि अध्यक्षको आकांक्षा कुनै पनि हालतमा नछोड्ने सुमनको जिकिर छ । उनले मतदानमै जानुको अर्को विकल्प नभएको बताए । क्षितिजपछि ओलीको रोजाइमा सुमन पर्ने नेताहरूको भनाइ छ ।

निर्वाचनकाे माग गर्दै सुमन समूहकाे नाराबाजी।

अर्का आर्काक्षी माहाराज गुरुङले पनि आफू अध्यक्षका लागि मैदानमा होमिइसकेको बताए । नेताहरूलाई सबैलाई मिलाएर आफ्नो नाममा सर्वसम्मत गर्न सक्ने उनको भनाइ थियो । ‘२ दशकदेखि युवा संघको राजनीतिमा छु । युवामा ४० वर्षको उमेर हद छ । अब अर्को पटक भन्ने हुँदैन,’ उनले भने, ‘ठूलो संघर्षपछिको मौका त्यसै खेर जान दिनुहुँदैन ।’

अर्का आकांक्षी प्रकाश गौतमले पनि आफू चुनावी मैदानमै रहेको र पछाडि नहट्ने दाबी गरे । तर, ओली र भण्डारीले भने क्षितिजलाई नै दोहोर्‍याएर पूर्वी नेपाललाई समेट्नुपर्ने दबाब दिइरहेका हुन् ।

प्रेस चौतारी नेपालमा अध्यक्षका आकांक्षी राजेश राईलाई नबनाएर गणेश पाण्डेलाई बनाउँदा पूर्वमा असन्तुष्टि बढेको ओली, विद्याको विश्लेषण रहेको नेताहरूले बताए । ‘प्रेस चौतारीमा राजेशलाई नबनाउँदा ठूलो असन्तुष्टि रह्यो । जातीय तथा भेगीय सन्तुलन नमिलाइएको गुनासो थियो । अब युवा संघमा पनि क्षितिजलाई नबनाउँदा पूवीनेपाललाई समेट्न सकिँदैन भन्ने मतमा ओली र पूर्वराष्ट्रपति एक ठाउँमा हुनुहुन्छ,’ युवा संघका एक पूवअध्यक्षले भने, ‘आकांक्षी पनि बढी भएकाले क्षितिजकै नाममा सर्वसम्मत गर्न पनि सजिलो हुन्छ भन्ने हो ।’

आफूले राजेको पात्रलाई नेतृत्वमा ल्याएर मतदानमा गएर नेतृत्व छान्ने पाउने प्रतिनिधिको अधिकार हनन गर्न नेतृत्व लागिरहेका छन् । ओलीले शुक्रबार युवा संघको महाधिवेशन उद्घाटनमै सर्वसम्मत गर्न निर्देशन दिँदै अरु पार्टीका संगठनमा जस्तो नगर्न चेतावनी दिएका थिए ।

‘हाम्रा संगठनमा चुनावै हुन पाएन भन्छन् । नपाएको होइन, सर्वसम्मति कायम गरेको हो । एकता कायम गरेको हो,’ ओलीले भने, ‘अरुले गरेजस्ता, लडाइँझगडा युवा संघभित्र नहुन् । कुनै हालतमा सैह्य छैन भन्ने कुरामा पनि अवगत गराउँछु ।’

महेश बस्नेतले पनि संघमा सर्वसम्मत नै हुने रटान लगाएका थिए भने युवा संघको इन्चार्जसमेत रहेका पूर्वअध्यक्ष राजीव पहारीले त सर्वसम्मत गराइछाड्ने प्रतिबद्धता नै गरेका थिए । जति संख्यामा मनोनयन दर्ता हुनुपर्ने हो, त्यतिमात्रै पर्ने पहारीको भनाइ थियो ।

५/५ जना आकांक्षी देखिएकाले मतदान नै गराएर स्वच्छ प्रतिस्पर्धा हुन नदिनेल रणनीतिमा नेताहरु लागेका हुन् । धेरै आकांक्षी भएकाले अरुको नाममा सहमति हुन नसकेको भन्दै क्षितिजलाई अध्यक्षमा सर्वसम्मत गराउने रणनीति अपनाइएको हो । अध्यक्ष थेबेले भने आफू अब नेतृत्वमा नआउने बताइरहेको भए पनि सर्वसम्मत गराउनका लागि नेताहरुले प्रस्ताव गरे हुँदैन भन्न नसक्ने बताइरहेका छन् । चुनाव हुने स्थिति हुँदा भने क्षितिज पछाडि हट्ने नेताहरुको भनाइ छ ।

प्रतिनिधि व्यवस्थान प्रमुख राज गुरुङका अनुसार आज मनोनयन भएर भोलि मतदान हुने छ । महाधिवेशनमा आकांक्षी धेरै हुँदा र सर्वसम्मत गराउने प्रयास हुँदा स्थिति खलबलिन नदिन सचेत रहेको नेताहरुको भनाइ छ । अधिकांश प्रतिनिधिहरु निर्वाचनकै पक्षमा देखिएका छन् । महाधिवेशन स्थलमा ठूलै मात्रा प्रहरी परिचालनसमेत गरिएको छ । युवा संघको शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनमा १ हजार ७ सय प्रतिनिधि छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?