+
+
Shares

यौन दुर्व्यवहारको आरोप लगाउँदै मिस इङल्याण्डले छाडिन् मिस वर्ल्ड

दाबीहरू पूर्णतया झूटा छन् : मिस वर्ल्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस इङल्याण्ड मिला म्यागीले हैदराबादमा आयोजना भइरहेको मिस वर्ल्डबाट बाहिरिएर आरोप लगाए।
  • उनीहरूले प्रतियोगितामा यौन दुर्व्यवहार र दबाबको आरोप लगाए, जसलाई मिस वर्ल्डले अस्वीकार गर्‍यो।
  • म्यागीले आफ्नो आमाको स्वास्थ्य कारणले शो छोडेको बताइन्, तर मिस वर्ल्डले झूटा समाचारको खण्डन गर्‍यो।

तेलंगाना (भारत) । मिस इङल्याण्ड मिला म्यागीले हैदराबादमा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिताबाट बाहिरिएको घोषणा गरेकी छन् । इङ्गल्याण्डको पत्रिका द सनलाई दिएको अन्तर्वार्तामा उनले मिस वर्ल्डका आयोजकमाथि गम्भीर आरोप पनि लगाएकी छन् ।

आफूलाई मिस वर्ल्डका लगानीकर्तासँग सम्बन्ध स्थापित गर्न दबाब दिइएको उनको आरोप छ । उनले आफूलाई प्रतियोगितामा यौनकर्मीजस्तो महसुस गराइएको र यौन दुर्व्यवहार गरिएको दाबी गरेकी छन् ।

यद्यपि, मिस वर्ल्डकी सीईओ जुलिया मोर्लीले म्यागीको आरोपलाई अस्वीकार गर्दै आधिकारिक विज्ञप्ति जारी गरेकी छिन् । मिस वर्ल्ड अहिले हैदराबादमा जारी छ, फाइनल मे ३१ मा हुनेछ ।

२४ वर्षीया म्यागी मे ७ मा हैदराबाद पुगिन् । मे १६ मा प्रतियोगिता बीचैमा छोडेर बेलायत फर्किइन् । मिस वर्ल्डको ७४ वर्षे इतिहासमा इङ्गल्याण्डको प्रतिनिधित्व गर्ने प्रतियोगी अचानक परिवर्तन गरिएको यो पहिलोपटक हो । म्यागीको ठाउँमा मिस इङ्ल्याण्डकी रनरअपबाट रिप्लेस गरिएको छ ।

द सनसँगको कुराकानीमा म्यागीले भनिन्, ‘उनलाई प्रतियोगितामा वृद्ध पुरुषहरूसँग समय बिताउन र सामाजिकीकरण गर्न भनिएको थियो किनभने उनीहरूले कार्यक्रममा आर्थिक योगदान गरिरहेका थिए । सबै प्रतियोगीहरूलाई दिनभरि मेकअप गर्न र ब्रेकफास्ट गर्दा पनि गह्रौं बल गाउन लगाउन दबाब दिइएको थियो ।’

‘प्रत्येक टेबलमा ६ जना पाहुना र २ जना केटीहरू बसेका छन् । केटीहरूलाई पाहुनालाई खुसी राख्न भनिएको छ । यो सबै देख्दा मलाई धेरै गलत लाग्छ, म यहाँ कसैलाई हाँस्न र मनोरञ्जन दिन आएको होइन । मलाई यौनकर्मीजस्तो महसुस गराइएको छ । हामी यहाँ सामाजिक मुद्दाहरूको बारेमा कुरा गर्न आएका थियौं, तर त्यहाँका मानिस यसको बारेमा सुन्न पनि तयार छैनन्’ उनले भनेकी छन् ।

‘त्यहाँ केही चीजहरू छन् जसले तपाईंलाई असहज महसुस गराउँछ । प्रतियोगितामा सहभागी १०९ जना केटीलाई दिक्दार भएको भन्दै गाली गरिएको थियो । सबैलाई बाँदर जस्तै व्यवहार गरिँदैछ । जुन म सहन सकिन’ उनले भनेकी छन् ।

मिस वर्ल्डले आधिकारिक विज्ञप्तिमा म्यागीले आफ्नी आमाको स्वास्थ्यमा समस्या आएपछि शो छाडेको बताएको छ ।

मिस वर्ल्डकी सीईओ तथा अध्यक्ष जुलिया मोर्लीले मे २४ मा एक आधिकारिक विज्ञप्ति जारी गरिन् । आफ्नी आमाको बिग्रँदो स्वास्थ्यका कारण मिस इङ्गल्याण्डले अचानक मिस वर्ल्ड छोड्ने निर्णय गरेको उनको भनाइ छ । उनकी आमाको स्वास्थ्य अवस्था बुझेपछि संस्थाले फिर्ता हुने व्यवस्था गरेको उनको भनाइ छ ।

विज्ञप्तिमा मिलाको आरोप पनि स्पष्ट पारिएको छ । यसमा भनिएको छ, ‘दुर्भाग्यवश हामीले थाहा पाएका छौं कि बेलायतका केही मिडिया आउटलेटले झूटा र मानहानिपूर्ण समाचार प्रकाशित गरेका छन् । यी दाबीहरू पूर्णतया झूटा छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?