
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्र बैंकका गभर्नर पौडेलले डा. गुणाकर भट्ट, डा. रामशण खरेल र विश्रुत थापाको जिम्मेवारी हेरफेर गरेका छन्।
११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले ३ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन् ।
गभर्नर पौडेलले डा. गुणाकर भट्ट, डा. रामशण खरेल र विश्रुत थापाको जिम्मेवारी परिवर्तन गरेका हुन् ।
गभर्नर दौडमा नेपाली कांग्रेसको कोटाबाट अघि सारिएका भट्टले राष्ट्र बैंक अनुसन्धान विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए । गभर्नर हुने पक्का भएपछि उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए ।
तर, उनको राजिनामा कामु गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि सोही बहानामा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर बनाउन नमिल्ने भनेका कारण कांग्रेसका अर्का उम्मेदवार बनेका पौडेल गभर्नर नियुक्त भएका थिए ।
भट्टको राजीनामा पछि केन्द्रीय बैंकको अनुसन्धान विभाग नेतृत्वविहीन भएको थियो । नवनियुक्त गभर्नर पौडेलले राजीनामा दिएर विदेश गएका भट्टलाई गभर्नरको कार्यालयमा तानेका छन् । अनुसन्धान विभागको प्रमुखमा कार्यकारी निर्देशकमा डा. रामशरण खरेललाई ल्याइएको छ ।
त्यसैगरी बैंकिङ कार्यालयमा रहेका थापालाई जनशक्ति व्यवस्थापन शाखामा पठाइएको राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार भट्टको राजीनामा स्वीकृत/अस्वीकृत केही नभनी जिम्मेवारी हेरफेर गरिएको छ । भट्टको राष्ट्र बैंकको सेवा अवधि आगामी असोज १७ सम्म छ ।
प्रतिक्रिया 4