+

पीएम कप एनभीए लिग : हेल्प नेपाल र गण्डीको लगातार चौथो जित

२०८२ जेठ  ११ गते २२:५४ २०८२ जेठ ११ गते २२:५४
पीएम कप एनभीए लिग : हेल्प नेपाल र गण्डीको लगातार चौथो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले नवौँ पीएम कप एनभीए महिला र पुरुष भलिबल लिगमा लगातार चौथो जित हासिल गरे।
  • हेल्प नेपालले कोशीलाई सोझो सेटमा पराजित गरी शीर्ष स्थानमा रहँदै १२ अंक जोड्यो भने गण्डकीले मणिमुकुन्दलाई हरायो।
  • महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्डले लगातार तीन खेल जित्दै अपराजित यात्रा कायम राखेका छन् ।

११ जेठ, काठमाडौं । साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले नवौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार चौथो जित हात पारेका छन् ।

पोखरा रंगशालाको कभर्डहलमा आइतबार भएको खेलमा हेल्प नेपालले कोशी प्रदेशलाई सोझो सेटमा हरायो । हेल्प नेपालले कोशीलाई २५-२१, २५-२०, २५-२२ ले पराजित गरेको हो ।

लगातार चार खेलमा अपराजित रहँदै १२ अंक जोडेको हेल्प नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ । चार खेलमा खेल मात्र जितेको कोशीको तेस्रो हारपछि ३ अंक मात्र छ ।

यस्तै घरेलु टोली गण्डकी प्रदेशले लगातार चौथो जित निकाल्ने क्रममा मणिमुकुन्द भलिबल क्लबलाई ३-० कै सेटमा हरायो । तीन पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले भारतका तीन खेलाडी समावेश गरेको मणिमुकुन्दलाई २७-२५, २५-२१,२५-१८ ले हरायो ।

गण्डकीले पनि लगातार चार खेल जितेर १२ अंक जोडेको छ । तर सेट अन्तरको कारण अंकतालिकाको दोस्रो स्थानमा छ ।

पुरुषतर्फकै अर्को खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै तेस्रो जित हात पारेको छ । पुलिसले सुदूरपश्चिमलाई २५-१९, २५-१७,२५-१८ ले पराजित गर्‍यो । चार खेलमा तीन जित र एक हारबाट ९ अंक जोडेको पुलिस तेस्रो स्थानमा छ ।

पुरुषतर्फ विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई ३-० को सेटमा हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ । आर्मीले एपीएफलाई २५-१३, २५-२०, २५-२२ ले हरायो ।

दोस्रो जितपछि चार खेलबाट आर्मीले ५ अंक जोडेको छ । तेस्रो हार व्यहोरेको एपीएफको चार खेलबाट ३ अंक छ ।

यसैगरी आइतबार महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस क्लबले लगातार तेस्रो जित हात पारेका छन् । विभागीय डर्बीमा पुलिसले नेपाल एपीएफलाई ३-१ को सेटमा हरायो ।

पुलिसले पहिलो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेट टाईब्रेकमा २६-२४ ले जित्दै एपीएफ खेलमा फर्कियो । तर तेसपछि पुलिसले तेस्रो सेट २५-१८ र चौथो सेट २५-२१  जित्दै खेल जित्यो ।

तीन खेलबाट ९ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको एपीएफ ३ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै अर्को खेलमा न्यु डायमण्डले पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हरायो ।

पहिलो सेट आर्मीले २५-२१ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएपनि कायम राख्न सकेन । न्यु डायमण्डले त्यसपछि तीन सेट लगातार आफ्नो पक्षमा पार्‍यो । डायमण्डले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-२१ र चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

लगातार तीन खेल जितेर पुलिस समान ९ अंक जोडेको न्यु डायमण्ड अंकको आधारमा दोस्रो स्थानमा छ । आर्मी भने लगातार तेस्रो खेलमा पराजित भएको हो ।

पीएम कप एनभीए लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय