
News Summary
Generated by OK AI. Editorially reviewed.- १२ जेठ, पोखरा मा एमालेको राष्ट्रिय युवा संघको चुनावी प्रतिस्पर्धामा ३९९ जना उम्मेदवारले भाग लिएका छन्।
- निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन, दाबी, विरोध र उम्मेदवारी फिर्ताको कार्य सोमबार सम्पन्न हुनेछ र मतदान सोही दिन सुरु हुने अपेक्षा छ।
- नेताहरुले उम्मेदवारहरुको परिचय, रणनीति र आकर्षणका विषयमा बैठक र निर्देशन दिएका छन्।
१२ जेठ, पोखरा । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघमा दुई प्यानलै चुनावी प्रतिस्पर्धामा जाँदा नेतृत्व, पदाधिकारी र सदस्यमासमेत गरेर ३९९ जनाको उम्मेदवारी परेको छ ।
पदाधिकारी ९ जनासति १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा ३९९ जनाको उम्मेदवारी परेको हो ।
शुक्रबारदेखिको सर्वसम्मत गर्ने रस्साकस्सी विफल भएपछि प्रतिनिधिको दबाबबीच आइतबार उम्मेदवारी मनोनयन भएको थियो ।
अध्यक्षमा क्षितिज थेबेलाई नै दोहोर्याउन दबाब र प्रयास गरिएको भए पनि निवर्तमान सुमन पुरी पछाडि नहट्दा प्यानलै मतदानमा जाने गरी मनोनयन भएको हो ।
प्यानलै मनोनयन दर्ता भएर प्रारम्भिक उम्मेदवारहरुको सूची सार्वजनिक गरिएको भए पनि दाबी/विरोध, उम्मेदवारी फिर्ताको समय भने सोमबार बिहानमात्र प्रदान गरिने निर्वाच अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए । ‘मनोनयन गर्ने उम्मेदवारहरुको सूची टुंग्याएर टाँसेका छौं । दाबीविरोध, उम्मेदवारी फिर्ताको काम सकेर भोलिमात्र अन्तिम नामावली प्रकाशन गर्ने भएका छौं’, पोखरेलले भने, ‘सोमबार दिउँसोबाट बल्ल मतदान सुरु हुनेजस्तो देखिएको छ ।’
नेताहरुले केही निर्णय, निर्देशन गर्न सक्ने भएकाले पनि आइतबार राति नै दाबी, विरोध र उम्मेदवारी फिर्ताको काम नटुंग्याइएको नेताहरुको भनाइ छ ।
निर्वाचन अधिकृत पोखरेलका अनुसार पदाधिकारीका लागि परेको मनोनयमा अध्यक्ष क्षितिज र सुमनको मात्र परेको छ भने उपाध्यक्षमा भने ३ जनाको उम्मेदवारी परेको छ ।
क्षितिज समूहबाट उपाध्यक्षमा माहाराज गुरुङ, सुमन समूहबाट प्रकाश गौतम र राजान थापाले स्वतन्त्र रुपमा मनोनयन गराएका हुन् ।
महासचिवमा भने क्षितिजको प्यानलबाट महेश चौलागाईं, सुमनको प्यानलबाट कुबेर अधिकारीको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा क्षितिज प्यानलबाट उपेन्द्र शाही र सुमन प्यानलबाट खेम शर्माले उम्मेदवारी दिएका छन् ।
१५१ जनाको केन्द्रीय कमिटी, लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवकोसमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसहित नेताहरुको दबाबले पनि सर्वसम्मत हुन नसकेको हो ।
ओलीले क्षितिजलाई नै अध्यक्षमा दोहोर्याउन निर्देशन दिएको भए पनि अर्का अध्यक्षका आकांक्षी सुमनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिँदा मतदानबाटै नेतृत्व टुंग्याउने गरी प्रक्रिया अगाडि बढाइएको हो ।
मनोनयनपछि उम्मेदवारहरुको नामावली सार्वजनिक गरेर दाबी, विरोध र उम्मेदवारी फिर्ता गर्ने कामलाई थाती राखेर नेताहरुले प्यानलहरुको बेग्ला बेग्लै होटलहरुमा बैठक राखेका छन् ।
दुवै प्यानलले नेताहरुसहित उम्मेदवारहरुको परिचय गराउने, चुनाव जित्नका लागि रणनीति तयार गर्ने, नेताहरुलाई आकर्षितजस्ता कार्य कसरी गर्ने भनेर निर्देशन तथा जानकारी गराएका थिए ।
पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य र शीर्ष तहका नेताहरुलेसमेत आफ्ना उम्मेदवारलाई जिताउन सर्कुलर र सन्देश पठाइरहेका छन् भने अझै पनि केन्द्रबाट कुनै निर्णय वा निर्देशन आउन सक्ने आशंकासमेत प्रतिनिधिहरुले गरेका छन् ।
प्रतिक्रिया 4