+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
९० बलमा १४५ रन आवश्यक
चितवन राइनोज 2025
25/2 (4.6)
Shares

युवा संघको महाधिवेशनमा तरबुजा बेचिरहेका इन्जिनियर

आफैं फलाएको तरबुजा चखाउँदै भन्छन्– नेतासँग होइन, उत्पादनमा जोडिनु

पोखरामा चलिरहेको युवा संघको महाधिवेशनमा शीर्ष नेताको साथ पाएर नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ । त्यहीँ केही युवा इन्जिनियर भने नेताको पक्ष–विपक्षमा नलागी आफ्नै खेतमा फलाएको तरबुजा बेच्दै आत्मनिर्भरको सन्देश दिइरहेका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ जेठ १२ गते ७:५८

१२ जेठ, पोखरा । पोखरा सभागृहमा जारी नेकपा एमाले निकट युवा संघको महाधिवेशनमा नेताको गुटबन्दी, नाराबाजी र कित्ताकाटले माहोल तातिएको छ । उम्मेदवारहरू कुन नेतासँग जोडिएका छन् भन्ने चासो र चर्चा छ । संगठनमा गरेको योगदानभन्दा पनि नेताहरुसँगको सम्पर्क, सम्बन्धले पद हाँसिल गर्न लागि पर्नेहरुको ओहोर–दोहोर पनि सभागृहमा हेर्नलायक छ ।

नेताका कित्ता-कित्ताता बाँडिएर नाराबाजी, प्रदर्शन, प्रचार शुक्रबारदेखि नै चलिरहेको छ । बालुवाटार वा बुढानीलकण्ठ कताको उम्मेदवार हो भनेर छलफल र चर्चा महाधिवेशनस्थलमा चलिरहेकै छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहेका क्षितिज थेबेको समूहलाई ‘बालुवाटार’ र बुढानीलकण्ठ बस्दै आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएका सुमन पुरीको समूहलाई ‘बुढानीलकण्ठ’ भनेर गरिएका खासखुस सभागृहमा गुञ्जिरहेकै छन् ।

तर, यही भीडबीच पोखराका केही इन्जिनियरसहित पौरखी युवाहरू भने भिन्न तरिकाले उपस्थित भएका छन् । उनीहरू कसैको पक्ष–विपक्षमा होइन, आफ्नै खेतमा उत्पादन गरिएको चिसो तरबुजा बेच्दै आत्मनिर्भरको सन्देश बाँडिरहेका छन् । आफैंले फलाएको तरबुजा चिरा पारेर बेचिरहेका पोखराका यी युवाहरुले राजनीतिप्रतिको दृष्टिकोण र प्रवृत्ति पनि चिर्ने प्रयास गरिरहेका छन् ।

उनीहरुले आफैंले फलाएको तरबुजाको स्वाद चखाउँदै सन्देश दिइरहेका छन्, ‘राजनीतिका नाममा नेताको पिछलग्गु नबन, राजनीतिमा नेतासँग जोडिएर निर्भर बन्नुभन्दा उत्पादनमा जोडिएर आत्मनिर्भर बन ।’

चार महिनाकै अवधिमा ३४ हजार किलो तरबुजा फलाएर बिक्री गरिरहेको बताउनेहरु हुन्, इन्जिनियर विक्रम बराल र उनका साथीहरु । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरमा जिओम्याटिक्स इजिनियरिङमा मास्टर्स गरिरहेका विक्रम नेकपा एमाले वडा नम्बर १३ कमिटीका सचिवसमेत हुन् ।

‘म पेशाले इन्जिनियर भए पनि पार्टटाइमका रुपमा तरबुजा फलाउन काम गर्दा पनि कमाउन सकिने रहेछ भन्ने महसुससमेत गरें,’ विक्रम भन्छन्, ‘प्रयास नै नगर्ने, यहाँ केही हुँदैन भन्दै कन्सल्टेन्सी धाउने प्रवृत्तिलाई चिर्ने कामसमेत गर्नुपर्छ भनेर लागिरहेका हौं । महाधिवेशनमा धेरैले चासो राख्नुभयो ।’

उनीसहित पोखरा इन्जिनियरिङ कलेजमा ब्याचलर्स गरिरहेका रवि बराल र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बीबीए गरिरहेका अर्जुन बरालले करिब १५ रोपनीभन्दा धेरै खेतमा फलाएको तरबुजा अहिले युवासंघको महाधिवेशनस्थल पोखरा सभागृहमा बेचिरहेका छन्, प्लेटको ५०–५० रुपैयाँमा । उनीहरुलाई मनिष बराललगायत अन्य केही साथीहरुले साथ–सहयोगसमेत गरिरहेका छन् ।

रवि पोखरा इन्जिनियरिङ कलेजमा अनेरास्ववियुको अध्यक्षसमेत हुन् भने अर्जुन युवा संघ पोखरा–१३ का सचिव । यी तीन युवाले करिब साढे ३ लाख लगानी गरेर अहिले पोखरा–१३ को आर्बामा तरबुजा उत्पादन गरेका छन् । उनीहरु मिलेर रुद्रगंगा बहुउद्देश्यीय कृषि फार्म नै खोलेका छन् ।

पहिलो वर्षमै कम्तिमा १४/१५ लाख रुपैयाँ नाफा हुने अनुमान उनीहरुले गरेका छन् । इन्जिनियर विक्रमको जग्गामा भएको तरबुजा खेतीको उत्पादनले उत्साहित उनीहरुले अब क्षेत्रफल र लगानी दुबै बढाउने योजना बनाइरहेको सुनाए ।

अघिल्लो साल पोखरा–१३ मा छिमेकी श्रीधर बरालको खेतबारीमा परीक्षणका रुपमा तरबुजा लगाइएको थियो । त्यो सफल भएपछि हौसिएका युवाले तरबुजा खेती थालेनन् मात्रै राम्रै उत्पादन गरेर व्यावसायिक हिसाबले नै निरन्तर उत्पादनमा जोडिने योजना नै बुनेका छन् ।

उनीहरुले लगाएको तरबुजा पोखरा महानगरपालिकाको १३ नम्बर वडाले गरेको तरबुजा मेलामासमेत बिक्री गरिएको थियो । वडाध्यक्ष किरण बरालले अहिले पोखरा–१३ मा तरबुजा खेती बिस्तारको योजना नै अगाडि बढाइरहेका छन् भने यस्ता किसानलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमसमेत गरिरहेका छन् । पोखरा–१३ मा अहिले बिक्रमजस्ता थुप्रै किसानहरु तरबुजामा आकर्षित भइरहेको वडाध्यक्ष किरण बराल बताउँछन् ।

अहिले भने युवा संघको महाधिवेशनस्थलमा स्टल मिलाएर यी युवाहरु आफैंले फलाएको तरबुजा प्रतिनिधिलाई खुवाइरहेका छन् । उनीहरुले अन्य युवाहरुलाईसमेत उत्पादनमा जोडियो, व्यावसायिक हिसाबले नौलो काम थालियो भने तुरुन्तै मुनाफा पनि लिन सकिन्छ भन्दै अनुभवसमेत साटिरहेका छन् ।

‘म पेशाले इन्जिनियर भए पनि पार्टटाइमका रुपमा तरबुजा फलाउन काम गर्दा पनि कमाउन सकिने रहेछ भन्ने महसुससमेत गरें,’ विक्रम भन्छन्, ‘प्रयास नै नगर्ने, यहाँ केही हुँदैन भन्दै कन्सल्टेन्सी धाउने प्रवृत्तिलाई चिर्ने कामसमेत गर्नुपर्छ भनेर लागिरहेका हौं । महाधिवेशनमा धेरैले चासो राख्नुभयो ।’

दिगो राजनीति गर्नका लागि कुनै व्यक्ति वा शक्तिको पछाडि लागेर होइन कि विचार र सिद्धान्तमा अडिग रहेर निरन्तरको लगाव चाहिने उनीहरुको भनाइ छ । पपुलिस्ट राजनीति गर्नुभन्दा माटोसँग जोडिने, भूगोलसँग जोडिने र गाउँठाउँमै केही गर्‍यो भने राजगारी पनि मिल्ने, आत्मनिर्भर पनि भइने रहेछ भन्ने सन्देश विक्रमले बाँडिरहेका छन् ।

‘४ महिना गरेको कामले पछिल्लो १५ दिन त २० जना मान्छेलाई कामै दियो,’ उनले भने, ‘यहीँ उत्पादनसँग जोडिएर गरेको राजनीतिले अझै फलिफाप हुन्छ भन्ने महसुस हामीलाई गराएको छ ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?