
१२ जेठ, काठमाडौं । चीन भ्रमणको तेस्रो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजधानी बेइजिङमा पुग्दा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ उनलाई स्वागत गर्दै थिए ।
१० दिने यात्रामा चीन उडेकी भण्डारीलाई सम्मानित अतिथिका रूपमा उनले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालय भवनमा लगे, जहाँ २ सयभन्दा बढी विदेशी पाहुना सहभागी थिए । स्मरणीय छ, ती सबै पाहुना चीनसँग जोडिएका १४ देशका पार्टी नेताहरू हुन् ।
आईडीसीपीसी अर्थात् कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले डाकेका सबै पाहुना सीपीसीसँग भाइचारा सम्बन्ध भएका दक्षिण एसिया, पूर्वी एसिया, पूर्वी मध्य एसिया, उत्तरपूर्वी एसियाका पार्टीहरू हुन् । ‘बिल्डिङ अ कम्युनिटी विद अ शेयर्ड फ्युचर विथ नेबरिङ कन्ट्रिज पोलिटिकल पार्टीज इन् एक्सन’ शीर्षक कार्यक्रममा भण्डारीसहितका पाहुना डाकिएका हुन ।
ल्युले भण्डारीसहित पाहुनाको स्वागतमा बोल्दै चीनले ती पार्टीहरूसँग राखेको दुई पक्षीय सम्बन्धबारे चर्चा गरे । उनले चीन आफ्ना मित्रहरूसँग सदैव उदार रहेको भन्दै कम्युनिस्ट पार्टीले त्यही नीति अनुशरण गरेको बताए ।
ल्यु पछि इन्डोनेसियाली प्रतिनिधिले बोले । त्यसपछि पालो आयो भण्डारीको ।
२२ मिनेटको मन्तव्यमा भण्डारीले नेपाली-चीन सम्बन्धबारे प्रकाश पारिन् । उनले नेपालको विकास, समृद्धिमा चीनले निरन्तर पुर्याएको सहयोगको सराहना गरिन् । उनले नेपालमा दुई ठूला पार्टीहरूले समृद्ध नेपाल सुखी नेपालीको एजेन्डा सफल पार्न कार्यक्रम अघि सारेको चर्चा गरिन् । उनले नेपालको राजनीतिक रुपान्तरणमा मदन भण्डारीले खेलेको भूमिकालाई विशेष उल्लेख गरिन् ।
‘नेपालको विकासमा चीनको सदा साथ सहयोग छ, जसका लागि म धन्यवाद दिन चाहन्छु,’ भण्डारीले भनिन्, ‘नेपालको राजनीतिक रुपान्तरणमा विगतमा मदन भण्डारीले पुर्याएको वैचारिक योगदान आजपर्यन्त स्मरणीय छ । यति बेला नेपालको सरकारले उनकै विचारको जगमा समृद्ध नेपाल सुखी नेपालीको अवधारणा कार्यान्वयन गरिरहेको छ ।’
भण्डारीले विभिन्न देशका पार्टीका पाहुनाहरूलाई सम्बोधन गर्दै अब एसिया विश्व शान्ति र स्थिरताका केन्द्र बन्नुपर्ने बताइन् ।
उनले छिमेकका देशहरूले शान्ति, स्थिरता र समृद्धिका लागि गरिरहेको योगदानलाई कसरी सघाउन सकिन्छ भनेर चीनले सोच्नुपर्ने मत पनि राखिन् ।

भण्डारीले भनिन्, ‘यति बेला विश्व शान्ति र समृद्धिका लागि एसियाले भूमिका खेल्नुपर्ने र नेतृत्व गर्नुपर्ने बेला आएको छ । यसका लागि म चीनलाई सकारात्मक अग्रसरताका लागि आग्रह गर्छु । नेपाल लगायत छिमेकी देशहरू पनि एसियामा शान्ति र स्थिरता छाएको, अनि बाँकी विश्वलाई नेतृत्व गरेको, अभिप्रेरित गरेको हेर्न चाहन्छन् ।’
मन्तव्यको क्रममा भण्डारीले नेकपा एमाले र सीपीसी बीचको सम्बन्धबारे पनि चर्चा गरिन् ।
उनी पूर्वराष्ट्रपतिका रूपमा भन्दा एमाले प्रतिनिधिमण्डको प्रमुखका रूपमा नै कार्यक्रममा भाग लिएको सहभागीले बताएका छन् ।
चिनियाँ नेताहरुसँग भेटवार्ताका क्रममा भण्डारीले एक चीन नीतिप्रति नेपालले सधै साथ र समर्थन दिने प्रतिबद्दता व्यक्त गरिन् । चिनियाँ नेताहरुले नेपाललाई दिँदै आएको साथ समर्थन कायम रहने आश्वासन दिए ।
उक्त कार्यक्रम सीपीसीको अन्तर्राष्ट्रिय विभागले अरू देशका पार्टीहरूसँग सम्बन्ध विकास र विस्तारका लागि आयोजना गरेको बताएको छ ।
प्रतिक्रिया 4