१३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरुले अवरोध गरेका छन् ।
बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका हुन् ।
गृहमन्त्री रमेश लेखक र उनको सचिवालय नै यो मामलामा मुछिएको भन्दै छानबिनको मागसहित प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नाराबाजी गरेका हुन् ।
विपक्षी सांसदहरूले अवरोध गरिरहेका बेला सभामुख देवराज घिमिरेले धारणा राख्नका लागि प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई समय दिएका थिए ।
पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताए ।
उनले यो प्रकरणको निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे । राजीनामा नदिएसम्म संसद् बैठक अघि बढ्न नसक्ने उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीमाथि गम्भीर आरोप लागेकाले मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले गृहमन्त्री पदमै रहेका बेला निष्पक्ष छानबिन हुन नसक्ने बताए ।
प्रतिक्रिया 4