
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसदले गीत गाउँदा नेपाली कांग्रेसका सांसदले असन्तुष्टि जनाए।
- सांसद गोम्बू शेर्पाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै भिजिट भिसामा गीत गाए र आरोप लगाए।
- कांग्रेस सांसद प्रदीप सुनुवारले आरोपलाई असंवैधानिक र संसदको मर्यादाविपरीत बताए।
१४ जेठ, विराटनगर । कोशी प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसदले ‘भिजिट भिसामा’ बोलको गीत गाउँदा नेपाली कांग्रेसका सांसदले असन्तुष्टि जनाएका छन् ।
बुधबार बसेको प्रदेश सभा बैठककोे शून्य समयमा माओवादी केन्द्रका सांसद गोम्बू शेर्पाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुअघि ‘भिजिट भिसामा’ बोलेको गीत गाएर सुनाएका थिए ।
‘अहिले हाम्रो नेपाल सरकारको चालामाला हेर्दा एउटा गीतको याद आउँछ,’ यति भनेपछि उनले गीत गाए, ‘भिजिट भिसामा हजुर भिजिट भिसामा, भुईं छोड्ने उड्ने हजुर पश्चिम दिशामा ।’
गीत गाइसकेपछि उनले भिजिट भिसाको नाममा लुट मच्चाउनेलाई संरक्षण दिने व्यक्ति गृहमन्त्री रहेको बताउँदै पदमा बस्न अयोग्य रहेको बताए ।
‘भिजिट भिसा प्रकरणमा मुछिएका भट्टराई र अध्यागमन र गृहमन्त्रीको स्वकीय र निजी सचिवालयमा रहेको कर्मचारीमा निरन्तर रूपमा अस्वभाविक सम्पर्क देखिएको छ, त्यसबाट भिजिट भिसा प्रकरणमा वैदेशिक रोजगारीमा जाने बेरोजगार युवाहरूमाथि लुट धन्दा मच्चाउनेको मुख्य डिजाइनर मुख्य संरक्षक गृहमन्त्री रमेश लेखक नै रहेको कहिँ कतै लुकेको छैन,’ उनले भने,‘…. उहाँले गृहमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत गुमाइसक्नुभएको छ ।’
सांसद शेर्पाले उनले गृहमन्त्रीको राजीनामा माग गर्दा कांग्रेस सांसदले असन्तुष्टि जनाए ।
गोम्बुपछि शून्य समयमा बोलेका कांग्रेस सांसद प्रदीप सुनुवारले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई अनावश्यक लान्छना लगाएको गुनासो गरे । उनले पत्रपत्रिकामा आएका समाचारको आधारमा मन्त्रीमाथि आरोपलगाउन नहुने बताए ।
‘संसद्को आफ्नो खालको मर्यादा हुन्छ त्यसमा हामीहरू संंयुक्त सरकारको रूपमा विभिन्न समयमा सरकार बनाइरहेका छौं,’ उनले भने,‘यसलाई अतिरञ्जीत गरेर संघीय संसद्कै अपमान गरेर यो कुराहरू उठाइरहेका छौं ।’
सत्तामा हुँदा ठिक र बाहिर हुँदा बेठिक भन्ने प्रवृति देखिएको भन्दै उनले अनावश्यक विवाद झिकेर व्यवस्थामाथि नै वितृष्ण फैलाउने काम भएको जिकिर गरे ।
प्रतिक्रिया 4