+
+
Shares

१० महिनापछि निर्माण भयो रोशी बाढीले बगाएको आधारभूत अस्पतालको संरचना

कपिल कोइराला कपिल कोइराला
२०८२ जेठ १५ गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीले बगाएको रोशी आधारभूत अस्पतालको संरचना विश्व स्वास्थ्य संगठनको सहयोगमा हस्तान्तरण भयो।
  • अस्पतालको लागि आवश्यक सामग्री र औषधि पनि संगठनले प्रदान गरेको छ।
  • स्थायी अस्पताल भवन बनाउन आवश्यक ठाउँ पहिचान भएमा बजेट व्यवस्थापन हुने र स्वास्थ्य सेवामा सुधार आउने अपेक्षा गरिएको छ।

१५ जेठ, काभ्रेपलाञ्चोक । गत असोजमा आएको बाढीले बगाएको रोशी गाउँपालिका-१ फलामेसाँघुको आधारभूत अस्पतालको अस्थायी संरचना निर्माण भएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको १० शैय्याको रोशी आधारभूत अस्पताल भवन बाढीले बगाएपछि टेन्टबाटै स्वास्थ्य सेवा प्रदान हुँदै आएको थियो ।

बुधबार एक कार्यक्रमका बीच विश्व स्वास्थ संगठनको आर्थिक सहयोगमा निर्माण भएको अस्पताल संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तथा मन्त्रालयले रोशी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी रावपाण्डबले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. प्रकाश बुढाथोकीलाई तथा बुढाथोकीले रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई अस्थायी रुपमा निर्माण भएको ५ शैय्याको अस्पताल भवन हस्तान्तरण गरिएको हो ।

अस्पताल भवनसँगै अस्पतालको लागि आवश्यक सबै सामग्री पनि विश्व स्वास्थ्य संगठनले हस्तान्तरण गरेको छ ।

अस्पतालको संरचना निर्माणमा ६६ लाख ४१ हजार लागतमा बनेको हो । साथै अस्पतालमा चाहिने सम्पूर्ण सामानसहित तीन महिनाको लागि १० हजार जना सेवाग्राहीलाई पुग्ने औषधि पनि संगठनले हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. प्रकाश बुढाथोकीले आधारभूत अस्पताल बनाउन संघीय सरकारको दायित्व भएकोले बेजट व्यवस्थापन गर्न संघीय सरकार तयार रहेको बताए ।

स्थायी अस्पताल भवन निर्माण गर्नको लागि आवश्यक ठाउँ पहिचान गरेमा बजेट व्यवस्थापन हुने उनको भनाइ छ ।

विपद्‍मा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग र सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको अस्पताल भवनसहित रोशीमा धेरै जनधनको क्षति पुर्‍याएको बताए ।

निर्माणको ९० प्रतिशत सम्पन्न भएको भवन बाढीले बगाएपछि स्वास्थ्य सेवा दिनको लागि समस्या भएकोबेला अर्धपक्की भवन प्राप्त गरेपछि खुसी लागेको लामाले बताए ।

अर्धपक्की भवनसहित स्वास्थ्य सामग्री प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनलाई गाउँपालिका अध्यक्ष लामाले आभार प्रकट गरे ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी रावपाण्डबले स्वास्थ्य क्षेत्रमा सहयोय गर्न पाउँदा खुसी लागेको बताए ।

अर्धपक्की भवन पाएपछि रोशी आधारभूत अस्पतालबाट रोशी गाउँपालिकाको वडा नं १,२,३ र ४ का नागरिकले सुविधा पाउनेछन् ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाका नागरिकलाई मात्र नभई नमोबुद्ध नगरपालिकाका ८ नं  र बेथानचोक गाउँपालिकाको ६ नं वडाका नागकिरले पनि स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।

रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवाले अस्पताल निर्माणले त्यस भेगका स्थानीयले स्वास्थ्य सेवा नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतीले अस्पतालमा नागरिकले पनि चासो दिएर आफ्‌नो स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

अस्पताल बनाएर स्वास्थ्य सेवा लिन अन्यत्र जाँदा सरकारको लगानी सदुपयोग नहुने भन्दै नजिकको अस्पतालमा सेवा लिन नागरिक जागरुक हुनुपर्ने बताइन् ।

कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तना, वडा नं १ को  कार्यवहाक वडाध्यक्ष मनकुमारी लामा, वडा नं २ का वडाध्यक्ष हस्तमान लामा, वडा नं. ३ का धनजीत लामा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य लगायतले स्वास्थ्यबारे चर्चा गरेका थिए ।

गाउँपालिकाले सहयोग गर्ने विश्व स्वास्थ्य संगठन र निर्माण कम्पनी एसएसआरलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरेका थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?