+
+
Shares

गणतन्त्रको विकल्प छैन, कार्यशैली सुधारौं : मुख्यमन्त्री कँडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते ११:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको विकल्प नभएको बताएका छन्।
  • उहाँले व्यवस्थालाई बलियो बनाउन सुधार आवश्यक रहेको र पुरानो व्यवस्थामा फर्कने कदम असंवैधानिक भएको बताए।
  • गणतन्त्र दिवसले राष्ट्रिय एकता र सामाजिक न्यायलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे।

१५ जेठ, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको विकल्प नभएको बताएका छन् । १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिंदै मुख्यमन्त्री कँडेलले यो व्यवस्थालाई बलियो बनाउनका लागि हाम्रा कार्यशैली, व्यवहार र आचरणहरूमा सुधार गर्नुपर्ने बताएका हुन् ।

जुनसुकै शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने भन्दै उनले गणतन्त्रको विकल्प नभएको बताएका छन । ‘शासन प्रणाली विकासका क्रममा कमजोरीहरू देखा पर्न पनि सक्छन । नागरिकका आशातीत अपेक्षा पुरा नहुँदा कहीँ कतै वितृष्णा र टिका— टिप्पणीका स्वरहरू सुनिन पनि सक्छन,’ शुभकामना सन्देश दिँदै उनले भनेका छन, ‘त्यसलाई हामीले स्वाभाविक ठानेर हाम्रा कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्न सक्नुपर्छ ।’

तर, टीकाटिप्पणी र कमीकमजोरीहरूलाई व्यवस्थाको असफलतासँग जोड्दै कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने कुरा ठिक नभएको उनको भनाइ छ । ‘पुरानो व्यवस्थातिर फर्काउने खोज्ने असंवैधानिक कदमहरू कदापि स्वीकृत हुदैनन र इतिहासको गतिलाई अव कसैले पनि पछाडि फर्काउन सक्दैन,’ उनले शुभकामना सन्देशमा भनेका छन ।

लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीन वटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको बुझाइ छ । ‘व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता हो,’ उनले भनेका छन, ‘यस युगान्तकारी परिवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्छ ।’

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइएको छ । गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सव पनि भएको मुख्यमन्त्री कँडेलले बताएका छन । ‘जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन पनि हो । यस उत्सवमा म पुनः सबैमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री कँडेलले गणतन्त्र दिवसले राष्ट्रिय सार्वभौमिकता‚ स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?