+
+
Shares

बजेटले जनताको निरासालाई सम्बोधन गर्न सकेन : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १८:०१

१५ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटले जनतामा देखिएको निरासालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । बिहीबार संघीय संसदमा प्रस्तुत भएको बजेटमा प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री शर्माले बजेटले उत्पादनमुखी अर्थतन्त्रलाई सम्बोधन नगरेको बताए ।

‘उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ, त्यहाँमा जोड दिइएको छैन, निरन्तरताको कुरा भएको हुनाले उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएर, भन्सारमा आधारित भएर होइन, रेमिट्यान्समा आधारित भएर होइन, हामी आफ्नो उत्पादनमा निर्भर भएर देश चल्ने अवस्था सृजना नगर्दासम्म हाम्रो आर्थिक विकास गुणात्मकरुपले हुन सक्दैन’, उनले भने ।

स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा अहिलेसम्मका सरकारले जोड नदिएको भन्दै उनले यसपटक पनि ती क्षेत्रमा जनताले गुणात्मक राहत पाउने नदेखिएको दावी गरे ।

पूर्वअर्थमन्त्री शर्माले अन्तर्राष्ट्रिय लगानी जुटाएर भएपनि विमानस्थल बनाउनुपर्ने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक विमानस्थलको निर्माण र विस्तार गर्दा आर्थिक तथा व्यवसायिक सम्भाव्यतालाई मुख्य आधार बनाउने उल्लेख गरेपछि पूर्व अर्थमन्त्री शर्माको यस्तो प्रतिक्रिया आएको हो ।

‘विमानस्थल बनाउनुपर्छ, राज्यले लगानी गरेर सक्दैन त्यो कुरा, अन्तर्राष्ट्रिय आएर बन्छ भनेपछि त्यो देशको लागि त्यसले हानि गर्दैन किनभने नेपाल यहाँ ल्याण्ड हुनका लागि, तेल भर्नका लागि यस्तो उपर्युक्त पोइन्ट छ, त्यसले देशको राजस्व वृद्धि गर्ने, अर्थतन्त्र वृद्धि गर्न मद्दत पुर्याउँछ तर, हाम्रो लगानीले गर्न सक्ने कुरा होइन’, उनले भने ।

बिहीबार संघीय संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उडान चाप कम भएका आन्तरिक विमानस्थललाई वैकल्पिक प्रयोजनमा प्रयोग गर्ने उल्लेख  समेत गरे ।

बजेटमा निजी क्षेत्रसँगको साझेदारीमा आन्तरिक विमानस्थललाई हवाई उड्डयनसम्बन्धी तालिम तथा प्याराग्लाइडिङ, प्यारासुट, अल्ट्रालाइट, स्काइडाइभिङ जस्ता साहसिक पर्यटनमा प्रयोग गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?