
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याउने आरोप लगाए।
- प्रचण्डले राजावादीहरू छाडा भएर आक्रमण गर्न खोजिरहेको भन्दै नेता कार्यकर्तालाई तयारी गर्न आग्रह गरे।
१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘अहिले राजावादीहरू बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु । तपाईंहरूले देखिराख्नुभएको छ,’ प्रचण्डले भनेका छन् ।
उनले राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोशिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई आग्रह गरे ।
‘त्यसकारण, हामी जाइलाग्ने चाहीँ होइन । उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने चाहिँ भन्न मैले खोजेको होइन,’ उनले भने, ‘तर, उनीहरू छाडा भएका छन् । छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन् । यदी उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् । गर्नैपर्छ ।’
एमालेको प्रदर्शन लाजैमर्दो
साथै, प्रचण्डले गणतन्त्र दिवसको दिन एमालेले गरेको प्रदर्शन लाजमर्दो भएको टिप्पणी गरे । उनले वर्तमान सरकारको कुनै हैसियत नै नभएको आरोप पनि लगाएका छन् ।
‘यो सरकारको त केही हैसियत नै छैन । यसको इच्छाशक्ति पनि छैन, हैसियत पनि छैन । गफ हाँक्नेबोहक केही पनि छैन,’ उनले भने ।
साथै, उनले काठमाडौं नै कब्जा गर्ने भनेर एमालेले गफमात्रै गरेको बताए ।
‘उनीहरूले गफ गरे । हामीले गफ नै नगरी एक लाख मान्छे उतारेर देखायौं । यिनीहरूले गफ गरे, काठमाडौं कब्जाको, लाजैमर्दो,’ उनले भने, ‘देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यिनीहरूलाई केही मतलब छैन । हामीले सक्छौं, सक्नैपर्छ ।’
‘राजतन्त्रको खण्डन गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय हैसियत छ’
प्रचण्डले राजतन्त्रको बारेमा भइरहेका तर्कको खण्डन गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा हैसियत, तागत, तथ्य र इतिहास आफूहरूसँग भएको बताएका छन् ।
साथै, उनले राजावादीहरूले भ्रम छर्न थालेको भन्दै त्यसलाई चिर्नेगरी जनताका घर घरमा जान नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।
आइतबार पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘अहिले जसरी प्रतिगामीहरूले राजाको बारेमा, राजतन्त्रको बारेमा तर्क गरेका छन् । त्यो तर्कको खण्डन त हामीसँग जबरजस्त खण्डन गर्ने हैसियत, तागत, तथ्य र इतिहास सबै छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा,’ प्रचण्डले भने, ‘तर, हामीले त्यसको प्रतिवाद गर्ने संस्थागत पहल नगरेको कारणले उनीहरू अलि छाडा हुने हुन् कि भन्ने जस्तो देखिन्छ ।’
‘राजतन्त्रका काण्डबारे जनतालाई भन्नुपर्यो’
प्रचण्डले नेपालमा राजतन्त्रका बेलामा भएका विभिन्न काण्डबारे जनतालाई भन्नुपर्ने बेला भएको पनि जिकिर गरे ।
‘नारायणहिटी दरबार हत्याकाण्ड कसले गरेको हो ? जनताको मन मस्तिष्कमा त छ, त्यो हत्याकाण्ड के हो भन्ने कुरा । तर हामीले राम्रोसँग भन्न छाडेका छौं,’ प्रचण्डले भने, ‘एकथरी युवालाई थाहा छैन, विचरा । शान्ति सम्झौतापछि जन्मिएर उमेर पुगेर भोट हाल्ने भएका युवालाई त राजाले के गर्यो, नमिता सुमिता हत्याकाण्ड बलात्कार गरेर राजाका भाइ र राजाले नै गरेको भन्ने उनीहरूलाई थाहा छैन । त्यो हामीले भनिदिनुपर्ने हुन्छ ।’
उनले थप भनेका छन्, ‘यिनै हुन हत्यारा र बलात्कारी भनेका यी हुन भनिदिनुपर्यो । तस्करका नाइके को हुन ? भनिदिनुपर्यो । मूर्ति चोरेर विदेशमा पुर्याउने को हुन ? जनतालाई भनिदिनुपर्यो । नारायणहिटी हत्याकाण्डका नाइके को हुन ? भन्नुपर्यो जनतालाई ।’
प्रतिक्रिया 4