
News Summary
Generated by OK AI. Editorially reviewed.- इम्युनोथेरापी औषधिले टाउको र घाँटीको क्यान्सरको उपचारमा नयाँ आशा जगाएको छ।
- ब्रिटेनको ट्रायलले औषधिले क्यान्सरमुक्त रहने समय २.५ बाट ५ वर्षसम्म बढाएको देखाएको हो।
- अध्ययनमा २४ देशका १९२ अस्पताल सहभागी थिए र यसले क्यान्सरको पुनः फर्किने जोखिम १० प्रतिशतले घटाएको पुष्टि गरेको हो।
काठमाडौं। इम्युनोथेरापी औषधिले टाउको र घाँटीको क्यान्सरसँग जुधिरहेका बिरामीहरूको बाँच्ने अवधि बढाउने र क्यान्सर पुनः फर्किने आशंका पनि कम गराउने तथ्य पुष्टि भएको छ। हालै बेलायतमा गरिएको एउटा अन्तर्राष्ट्रिय क्लिनिकल ट्रायलको नतिजाले यस्तो देखाएको हो।
वैज्ञानिकहरूका अनुसार पछिल्ला दुई दशकमा यस क्यान्सरको उपचारमा खासै प्रगति भएको थिएन। तर यो नयाँ औषधिले पहिलोपटक आशा जगाएको छ।
ब्रिटेनको डर्बीशायरकी ४५ वर्षीया लाउरा मास्र्टनलाई सन् २०१९ मा जिब्रोमा अल्सर देखिएको थियो। पछि त्यो गम्भीर क्यान्सर भएको पुष्टि भयो। चिकित्सकहरूले उनको बाँच्ने सम्भावना मात्र ३० प्रतिशत रहेको बताए। बँचाउनका लागि उनको जिब्रो र घाँटीका लिम्फ नोड्स शल्यक्रिया गरेर हटाउनु पर्यो।
सर्जरी अघि र पछि लाउरालाई पेम्ब्रोलिजुमाब नामक इम्युनोथेरापी औषधि दिइयो। अहिले उनी पूर्णरूपमा काम गर्न सक्ने अवस्थामा फर्किएकी छन्। उनी भन्छिन्, “यो औषधिले मलाई पुनर्जिवन दियो । मैले संसार देख्न पाउँछु भन्ने लागेको थिएन ।
इम्युनोथेरापीले कसरी काम गर्छ ?
यो औषधिले शरीरको रोग प्रतिरोधी प्रणालीलाई क्यान्सर पहिचान गर्न र त्यसविरुद्ध लड्न सिकाउँछ। चिकित्सा ट्रायलमा बिरामीहरूलाई शल्यक्रियाभन्दा अघि र पछि एक वर्षसम्म औषधि दिइयो। यो औषधिको प्रयोगपछि बिरामीको सरीरमा पुनः क्यान्सर देखियो भनेपनि त्यसलाई समाप्त गर्न सहयोग गर्दछ।
ट्रायलको मुख्य नतिजा
इम्युनोथेरापी लिएका बिरामीहरू क्यान्सरमुक्त रहने औसत अवधि २.५ वर्षबाट बढेर ५ वर्ष पुगेको पाइयो। तीन वर्षपछि क्यान्सर शरीरको अन्य भागमा फैलिन सक्ने जोखिम १० प्रतिशतले घटेको भेटियो।
यो अध्ययनमा २४ देशका १ सय ९२ वटा अस्पताल सहभागी थिए र अमेरिकाको वाशिंगटन युनिवर्सिटी मेडिकल स्कूलले यसको नेतृत्व गरेको थियो। यसमा बेलायतको क्यान्सर रिसर्च इन्स्टिच्युट पनि सहभागी थियो। औषधि निर्माण र ट्रायलको खर्च एमएसडी कम्पनीले बेहोरेको हो।
वास्तवमा टाउको र घाँटीको क्यान्सरको उपचार अत्यन्तै कठिन मानिन्छ। विगत दुई दशकमा यस रोगको उपचार सम्भावना र बिरामीहरूको जीवनस्तरमा खासै सुधार आएको छैन। टाउको र घाँटीको एडभान्स्ड (अत्यधिक विकसित) क्यान्सर भएका आधाभन्दा बढी बिरामीहरू पाँच वर्षभित्रै मृत्यु हुने गरेको छ ।
विशेषज्ञको भन्छन्, नयाँ युगको सुरूवात
बेलायतमा उक्त चिकित्सा ट्रायलको नेतृत्व गरेका प्राध्यापक केभिन हैरिङ्टन भन्छन्, “हामी बिरामीको शरीरलाई क्यान्सर पहिचान गर्ने मौका दिन्छौं। पछि क्यान्सर फर्कियो भने पनि शरीरले त्यसविरुद्ध तुरुन्त प्रतिक्रिया दिन सक्छ।”
उनका अनुसार यो उपचार विधिले केही बिरामीको जीवन नै बदल्न सक्छ। अब यो औषधि विश्वका सरकारी स्वास्थ्य प्रणाली बाटै उपलब्ध गराउनुपर्ने उनी बताउँछन् ।
वास्तवमा टाउको र घाँटीको क्यान्सरजस्ता गम्भीर रोगको उपचारमा इम्युनोथेरापीले नयाँ आशाको किरण देखाएको छ। यो विधि विश्वभरका लाखौँ क्यान्सर बिरामीको जीवनमा परिवर्तन ल्याउन सक्नेछ। बीबीसीको सहयोगमा
प्रतिक्रिया 4