News Summary
Generated by OK AI. Editorially reviewed.- आईपीएल क्रिकेटको फाइनल खेल मंगलबार अहमदाबादमा हुँदैछ, जसमा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने छन्।
- सन् २०१६ देखि नयाँ टोलीले उपाधि जित्न सफल भएको छैन, यसपटक नयाँ च्याम्पियन बन्ने सम्भावना छ।
- बेंगलुरुले तीन पटक उपाधि जित्न नसकेको भएपनि यस पटक जीतको प्रयासमा छ, भने पञ्जाब पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ।
१९ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल मंगलबार हुँदैछ । उपाधिका लागि टोली पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुँदै छन् ।
आईपीएलमा सन् २०२२ मा नवप्रवेशी टोली गुजरात टाइटान्सले उपाधि जित्नुअघि सन् २०१६ मा सनराइजर्स हैदराबादले नयाँ टोलीका रूपमा उपाधि जितेको थियो । यसपटक आईपीएलले फेरि अर्को नयाँ च्याम्पियन पाउन लागेको छ ।
लिग चरणमा समान खेलबाट समान नतिजा र अंक बटुलेका यी दुई टोलीबीच नेट रनरेटको मात्र फरक रहँदा पञ्जाब शीर्षमा फिनिस गरेको थियो भने बेंगलुरु दोस्रोमा रह्यो । पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर सिधै फाइनलमा पुगेको बेंगलुरुले फाइनलमा फेरि सोही प्रतिद्वन्द्वी पाएको हो ।
शीर्ष २ मा फिनिस गर्ने टोली पहिलो क्वालिफायरमा पराजित भएपनि अर्को मौका पाउने प्रावधानका बीच दोस्रो क्वालिफायरमा पाँचपटकको विजेता मुम्बई इन्डियन्सलाई हराएर फेरि पञ्जाब नै उपाधि भिडन्तका लागि फाइनल प्रवेश गरेको हो ।
पहिलो क्वालिफायरमा पञ्जाबविरुद्ध एकपक्षीय नतिजा निकालेको बेंगलुरुले उस्तै प्रकारको नतिजा दोहोर्याउन चाहनेछ भने यता पञ्जाब पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिने दाउमा हुनेछ ।
यी सबै राइभलरीका बीचमा विभिन्न भिन्नता रहेपनि दुवै टोलीको लक्ष्य भने एकै रहनेछ- पहिलोपटक आईपीएलको उपाधि जित्ने । यसकारण आईपीएलले २०२५ को संस्करणमा आठौं टोली विजेताका रूपमा पाउनेछ ।
दुवै टोलीले सुरुवाती संस्करणदेखि नै आईपीएलमा सहभागिता जनाउँदै आएपनि उपाधि भने जित्न सकेका छैनन् । १८औं संस्करणसम्म आइपुग्दा नाम, लोगो, जर्सी, खेलाडी, कप्तान सबैकुरा फेरिएपनि दुवै टोलीका लागि भाग्य भने फेरिन नसक्दा उपाधिबाट वञ्चित हुँदै आएका छन् ।
आईपीएलको पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा अर्को एउटा तीतो सत्य के छ भने दुईमध्ये एक टोली फाइनल यात्रा तय गरेर फेरि एकपटक उपाधिविहीन नै हुनेछन् ।
को बन्ला भाग्यमानी ?
बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन । सन् २००९ को दक्षिण अफ्रिकामा भएको संस्करणको फाइनलमा डेक्कन चार्जससँग फाइनलमा ६ रनले पराजित हुँदै बेंगलुरु उपाधिबाट वञ्चित भएको थियो ।
त्यस्तै सन् २०११ को आईपीएलमा चेन्नई सुपर किङ्ससँग ५८ रनले पराजित हुँदै बेंगलुरु उपाधि जित्न सकेन । सन् २०१६ मा सनराइजर्स हैदराबादसँग ८ रनले पराजित भएको बेंगलुरु तेस्रोपटक उपाधि जित्नबाट वञ्चित भएको थियो ।
चौथोपटकमा बेंगलुरुको भाग्य फेरिएला त ? सबैको उत्सुकताको विषय बनिरहेको छ यो प्रश्न जसको जवाफ मंगलबार मध्यरातसम्म थाहा हुनेछ ।
विशेषगरी सुरुवाती सिजनदेखि बेंगलुरुबाटै खेलिरहेका पूर्वकप्तान विराट कोहलीका लागि यो फाइनल खेल अर्थपूर्ण हुनेछ र समर्थकहरूले पनि यसपटक कोहलीको लागि भएपनि बेंगलुरुले आईपीएल जित्ने आशा राखेका छन् ।
अर्कोतर्फ दोस्रोपटक फाइनल खेलिरहेको पञ्जाबको नजर पनि पहिलो उपाधिमै रहनेछ । सन् २०१४ मा शानदार प्रदर्शन गर्दै फाइनल पुगेको पञ्जाब फाइनलमा कोलकाता नाइट राइडर्ससँग अन्तिम ओभरमा ३ विकेटले पराजित भएको थियो ।
साविक विजेता कोलकातालाई उपाधि दिलाउँदा कप्तान रहेका श्रेयस हाल पञ्जाबको कप्तान छन् र उनको कप्तानीसँगै अस्ट्रेलियन रिकी पोन्टिङको प्रशिक्षणमा पञ्जाब पनि उपाधि दाबेदारको रूपमा रहेको छ ।
यसपटक बेंगलुरु र पञ्जाब दुवै टोली आ-आफ्नो भाग्य फेर्ने लक्ष्यमा हुनेछन् ।
फाइनलसम्मको यात्रा
दुवै टोलीका लागि यो सिजन निकै राम्रो रह्यो । लगातार दुई जितका साथ सुरुवात गरेका यी दुवै टोलीले बीचमा केही खेल गुमाएपनि प्लेअफमा पुग्ने दाबेदार टोलीकै रूपमा हेरिएको थियो ।
पञ्जाबले गुजरातलाई हराउँदै आईपीएलको सुरुवात जितबाट गरेको थियो भने त्यसपछि लखनउलाई हराउँदा तेस्रो खेलमा राजस्थानसँग पराजित भयो । चौथो खेलमा चेन्नईलाई हराउँदा पाँचौं खेलमा हैदराबादसँग पराजित भयो ।
त्यस्तै कोलकाता र बेंगलुरुलाई हराएपछि बेंगलुरुसँगको रिभर्स फिक्सचरम पराजित भएको पञ्जाबले कोलकातासँग वर्षाका कारण नतिजाविहीन खेलमा १ अंक बाँडेको थियो । त्यसपछि भने चेन्नई लखनउ र राजस्थानविरुद्ध लगातार जित निकालेर प्लेअफमा स्थान पक्का भएको थियो ।
त्यसपछि दिल्लीसँगको खेल चल्दै गर्दा बीचमै रोकिएर आईपीएल नै एक साता रोकिएपछि फेरि भएको खेलमा भने पराजित हुँदा मुम्बईलाई अन्तिम लिग खेलमा हराएर शीर्ष २ मा नै स्थान बनायो ।
पहिलो क्वालिफायरमा बेंगलुरुसँग पराजित भएपनि दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै पञ्जाब फेरि फाइनलमा पुग्यो ।
अर्कोतर्फ बेंगलुरुले पनि सुरुवाती २ खेलमा कोलकाता र चेन्नईलाई हराएर तेस्रो खेलमा गुजरातसँग पराजित भएको थियो । त्यसपछि मुम्बईलाई हराउँदा दिल्लीसँग पराजित भएको बेंगलुरुले राजस्थानलाई हराउँदा पञ्जाबसँग पराजित भयो ।
लगत्तै भएको खेलमा पञ्जाबलाई हराएको बेंगलुरुले त्यसपछि राजस्थान, दिल्ली र चेन्नईलाई हरायो भने कोलकातासँगको खेल नतिजाविहीन भएर अंक बाँड्यो ।
त्यसपछि हैदराबादसँग पराजित भएपनि अन्तिम लिग खेलमा लखनउलाई हराउँदै बेंगलुरु पनि शीर्ष २ मा फिनिस गर्न सफल रह्यो ।
पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर सिधै फाइनलमा स्थान बनायो ।
हेड टु हेड
आईपीएलमा हालसम्म यी दुई टोलीबीच ३६ खेल भएको छ जसमा दुवै टोलीले १८-१८ खेल जितेका छन् । पछिल्ला ६ खेलमा भने बेंगलुरुसँग ५-१ को अग्रता छ ।
यस सिजन यी दुई टोली लिग चरणमा २ पटक र प्लेअफमा एकपटक खेलिसकेका छन् । जसमा बेंगलुरुले २ खेल जित्दा पञ्जाबले १ खेल जितेको छ ।
लिग चरणमा बेंगलुरुमा भएको खेलमा वर्षाले १४ ओभरमा झारिएको खेलमा पञ्जाबले ५ विकेटको जित निकालेको थियो । त्यस्तै पञ्जाबको मैदानमा भएको खेल चाहिँ बेंगलुरुले जितेको थियो ।
प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा भने बेंगलुरुले पञ्जाबमाथि एकपक्षीय नतिजा निकालेर फाइनलमा स्थान पक्का गरेको थियो ।
प्रभाव पार्न सक्ने खेलाडीहरू
पञ्जाबका लागि ब्याटिङमा कप्तान श्रेयस अय्यरको भूमिका महत्वपूर्ण हुनेछ । उनले १६ खेलमा ६०३ रन बनाएका छन् ।
विशेषगरी फाइनल खेल हुने अहमदाबादमा हालसम्म श्रेयसले राम्रो ब्याटिङ गर्दै आइरहेका छन् । पहिलो खेलमा गुजरातविरुद्ध अविजित ९७ रन बनाएका उनले आइतबार मुम्बईसँगको खेलमा अविजित ८७ रन बनाएर खेल जिताए ।
त्यस्तै दुई ओपनरहरू प्रभसिमरन सिंह र प्रियान्श आर्यामध्ये एकले राम्रो सुरुवात दिलाउँदा जोश इङ्लिसको प्रदर्शन पनि म्याटर गर्नेछ । प्रभसिमरनले १६ खेलमा ५२३ तथा प्रियान्शले ४५१ रन बनाएका छन्। इङ्लिसले १० खेलमा २३९ रन बनाएका छन् ।
बलिङमा बाँयाहाते पेसर अर्शदीप सिंह, बाँयाहाते स्पिनर हरप्रीत ब्रार र लेगस्पिनर युजभेन्द्र चहलको भूमिका महत्वपूर्ण हुनेछ । अर्शदीप १८ विकेटका साथ पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर हुन् ।
बेंगलुरुका लागि ब्याटिङमा दुई ओपनरहरू विराट कोहली र फिलिप साल्टमा मुख्य नजर रहनेछ । यी दुईले सुरुवातमा गर्ने ब्याटिङ प्रदर्शनले इनिङकै आकार देखाउनेछ । कोहलीले १४ खेलमा ६१४ रन बनाएका छन् भने साल्टले १२ खेलमा ३८७ रन बनाएका छन् ।
त्यस्तै मिडल अर्डरमा कप्तान रजत पाटिदार र जितेश शर्माको ब्याटिङले इनिङ उकास्ने काम गर्नेछ । बलिङमा जोश हेजलवूड मुख्य हतियार हुँदा यश दयालले उनलाई राम्रो साथ दिने छन् । हेजलवूडको ११ खेलमा २१ विकेट छ ।
खेल : रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध पञ्जाब किङ्स (फाइनल)
मिति, समय र स्थान : जुन ३, बेलुका ७:४५ बजे, नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबाद
मौसम : दिउँसो हल्का वर्षाको सम्भावना देखिएपनि खेलको समयमा वर्षाको सम्भावना देखिएको छैन
सम्भावित टोली (इमप्याक्ट सहित १२ जना)
बेंगलुरु : विराट कोहली, फिलिप साल्ट, मयंक अग्रवाल, रजत पाटिदार, लियाम लिभिङस्टोन, जितेश शर्मा, रोमारियो शेपहर्ड, क्रुणाल पान्ड्या, जोश हेजलवूड, यश दयाल, भुवनेश्वर कुमार, सुयाश शर्मा
पञ्जाब : प्रभसिमरन सिंह, प्रियान्श आर्या, जोश इङ्लिस, श्रेयस अय्यर, नेहाल वधेरा, शशांक सिंह, मार्कस स्टोइनिस, अजमतुल्लाह ओमरजाइ, आरोन हार्डी/काइल जेमिसन, अर्शदीप सिंह, हरप्रीत ब्रार, युजभेन्द्र चहल
प्रतिक्रिया 4