News Summary
Generated by OK AI. Editorially reviewed.- दुई नयाँ खेलाडी कुशल देउवा र सृजनराज गौतमले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान पाएका छन्।
- कुशलले यू-२० टिमको कप्तान र साफ च्याम्पियनसहित विभिन्न प्रतियोगितामा भाग लिएका छन्।
- सृजनले घरेलु क्लबबाट प्रदर्शन गर्दै पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन्।
१९ जेठ, काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलका लागि दुई नयाँ खेलाडीले राष्ट्रिय फुटबल टिममा स्थान बनाएका छन् ।
मिडफिल्डरद्वय कुशल देउवा र सृजनराज गौतमले सिनियर राष्ट्रिय टोलीमा इन्ट्री मारेका हुन् । मुख्य प्रशिक्षक म्याट रोसले सोमबार दुई खेलका लागि घोषणा गरेको अन्तिम टोलीमा युवा खेलाडी कुशल देउवा र सृजन राज गौतम नयाँ अनुहारको रुपमा समावेश भएका छन् ।
दुवै खेलाडीले यसअघि पनि बन्द प्रशिक्षणमा मौका बनाएपनि राष्ट्रिय टिममा पर्न सकेका थिएनन् । यस पटक भने दुवैले सिनियर टिममा स्थान बनाए ।
प्रशिक्षक रोसले दुवै खेलाडीप्रति भावना रहेकोले टिममा समावेश गरेको बताएका छन् । कुशल देउबा र सृजनराज गौतमले सिनियर टिमसँग पहिलो पटक विदेश टुर गर्नेछन् ।
कुशल देउवा
कुशलले यसअघि नेपालको यू-२० टिमको कप्तानी समेत गरिसकेका छन् । गत वर्ष नेपालमा भएको साफ यू-२० च्याम्पियनसिपमा कुशलले नेपाली टिमको कप्तानी गर्दै टिमलाई फाइनलसम्म पुर्याएका थिए । तर फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदा उपाधि जित्न सकेन ।
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा ललितपुर सिटी एफसीबाट खेल्दै उपाधि जितेको थिए ।
यसपटक शहीद स्मारक बी डिभिजन खेलेका कुशलले एनएसएल खेलेनन् । उनले च्यासल युथ क्लबबाट सहीद स्मारक बी डिभिजन लिग खेलेका थिए ।
सुदूरपश्चिमका कुशलले सन् २०२१ मा भएको प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ खेलेका थिए । त्यसमा उनी सम्मिलित टिम महेन्द्रनगर युनाइटेड च्याम्पियन बन्दा उनले बेस्ट इमर्जिङ खेलाडीको अवार्ड समेत जितेका थिए ।
यस्तै कुशलले २०८० साल असोजमा काठमाडौंमै भएको साफ यु-१९ च्याम्पियन पनि खेलेका थिए । त्यतिबेला उनको नाम खासै चर्चामा थिएन । यु-१९ राष्ट्रिय टिमका लागि खुल्ला छनोट गर्दा उनी केन्द्रीय छनोटसम्म पुग्दै उमेर समूहको राष्ट्रिय टिममा परेका थिए ।
साफ यू-१९ मा नेपालले सेमिफाइनलसहित तीन खेल खेल्दा कुशलले नियमित समयमा गोल गर्न नसके पनि सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा गोल गरेका थिए ।
तर नेपाल नेपाल सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो । त्यसपछि गत वर्ष नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपमा उनले कप्तानी नै गरे ।
सृजन राज गौतम
युवा फरवार्ड सृजन राज गौतम पहिलो पटक सिनियर फुटबल टिममा पर्न सफल भएका हुन् ।
यसअघि म्याट रोसले सृजनलाई सिंगापुर र मलेसिया विरुद्धको खेलअघि पनि बन्द प्रशिक्षणमा बोलाएका थिए । तर त्यसबेला उनले अन्तिम टोलीमा स्थान बनाउन भने सकेनन् ।
यस पटक भने उनी रोसले घोषणा गरेको ३० सदस्यीय प्रारम्भिक टोलीमा पर्दै अन्तिम टोलीमा पर्न सफल भएका हुन् । पछिल्लो समय संकटा क्लबबाट घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै बएका सृजन नेपाल सुपर लिगको तेस्रो संस्करणमा एफसी चितवन टिममा थिए । तर उनले एक खेलमा मात्र अवसर पाए ।
बारा निजगढका सृजनले गत वर्ष भएको शहीद स्मारक सी डिभिजन लिगमा बागमती युथ क्लबबाट खेलेका थिए ।
प्रतिक्रिया 4