+
+
Shares

मन्दिरको पर्खाल बनाउने नाममा ६ दलित परिवारको बाटो ब्लक

पर्खाल निर्माण गर्दा रामशंकर महरा, शिवु महरा, शिवर महरा, जयनन्द महरा, सञ्जय महरा र बुधराम महराको घरबाट बाहिर निस्किने बाटो बन्द भएको हो ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ जेठ १९ गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको विष्णुपुर गाउँपालिका–४ थलहा कटाहास्थित दुर्गा मन्दिरको पर्खाल निर्माणको क्रममा ६ दलित परिवारको बाटो बन्द गरिएको हो।
  • उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास कार्यालय, लहानबाट ५० लाख ६० हजार ४५५ रुपैयाँमा दुर्गा मन्दिरको पर्खाल निर्माण जारी छ ।

१९ जेठ, जनकपुरधाम । दुर्गा मन्दिरको पर्खाल निर्माणको नाममा ६ जना दलित परिवारको बाटो नै बन्द गरिएको छ । सिरहाको विष्णुपुर गाउँपालिका– ४ थलहा कटाहास्थित दुर्गा मन्दिरको कम्पाउन्ड वाल तथा गेट निर्माणको क्रममा ६ परिवार चमार समुदायको बाटो बन्द गरिएको हो ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास कार्यालय, लहानबाट ५० लाख ६० हजार ४५५ रुपैयाँमा दुर्गा मन्दिरको पर्खाल निर्माण जारी छ । वीरेन्द्र यादव अध्यक्ष रहेको दुर्गा मन्दिरको कम्पाउन्ड वाल तथा गेट निर्माण उपभोक्ता समितिबाट निर्माणको क्रममा दलित समुदायको बाटो बन्द गरिएको हो ।

स्थानीय रामशंकर महरा, शिवु महरा, शिवर महरा, जयनन्द महरा, सञ्जय महरा र बुधराम महराको घरबाट बाहिर निस्किने बाटो बन्द भएको हो । उनीहरूको घर अगाडि मन्दिरतर्फबाट ६ फिट बाटो छाडेर पर्खाल निर्माण गरेपछि बाहिर अर्को सडकमा निस्किने बाटो ब्लक भएको छ ।

दुर्गा मन्दिरको पश्चिम छेउतर्फ चौधरी महरा र रामएकवाल महराको घर छ । उनीहरूको घर अगाडि बाटो भने छुट्याइएको छैन । राम एकवाल महराले आफ्नो घर अगाडि रहेको मन्दिरसम्म आफ्नो निजी जग्गा रहेको दाबी गरे । ‘मन्दिरसम्म हाम्रो जग्गा छ । ६ घरलाई बाटो नै ब्लक गरी पर्खाल निर्माण गर्न लागिएको छ,’ उनले गुनासो गरे ।

स्थानीय सुनिता महराले एउटा गाडी जाने समेत जग्गा नछोडेर पर्खाल निर्माण गरिएको गुनासो गरिन् । ‘हामीले हारगुहार गरे पनि जनप्रतिनिधि र स्थानीयले सडकको लागि जग्गा छाडेनन् । दलित र विपन्न भनेर नै हाम्रो बाटो बन्द गरिएको हो,’ सुनिताले गुनासो गरिन् ।

दलित भएकै कारण आफूहरूमाथि तथाकथित उपल्लो जातले बाटो ब्लक गरेको दुखेसो स्थानीय सजनदेवी महराको छ । ‘दलित र कमजोर नभएको भए सायद आज यस्तो हुने थिएन । बीचमा केही पर्खाल छाडेर आउजाउको लागि छोडिदिन पनि आग्रह गरेका थियौं । तर हामीलाई कसैले सुनेन,’ उनले भनिन् ।

उनका अनुसार केही दिनअघि पर्खाल निर्माणको लागि डोजर लिएर खाल्डो खन्न आउँदा रोक्ने प्रयास महिलाहरूले गरेका थिए । त्यसबेला महिला प्रहरी ल्याएर हामीलाई छेकेर खन्ने काम भएको उनको भनाइ छ ।

स्थानीय ७० वर्षीय भोगेन्द्र साहले भने समाजमै छलफल गरी उनीहरूका लागि बाटो छाडेर पर्खाल निर्माण गरिएको दाबी गरे । तर उनीहरूले जथाभावी फोहोर गरेकोले पर्खाल हालेर संरक्षण गर्न लागेको उनको तर्क छ ।

वडाध्यक्ष रामबाबु यादवले मन्दिरको जग्गा नापनक्सा गरी १२ फिटको बाटो बन्ने गरी ६ फिट मन्दिरको जग्गा छाडेर पर्खाल निर्माण गरिएको दाबी गरे । तर मन्दिरको पश्चिम छेउको बाटोको समस्या समाधान किन गरिएन, बाटो त ब्लक भयो नि भन्ने अनलाइनखबरको जिज्ञासमा भने उनी अल्मलिए ।

उनले त्यहाँ गाउँ ब्लकको जग्गा रहेको र मन्दिर निर्माणको बेला ७ फिट जति छोडेर बनाएको दाबी गरे । ‘त्यहाँ ६/७ फिट जति गाउँ ब्लक जग्गा मन्दिरको छ । त्यहाँ समस्या आयो भने समाधान गरौंला,’ उनले भने ।

गाउँ ब्लकको जग्गा अगाडिको भाग पछाडिको नम्बरी जग्गा हुनेले भोगचलन गर्दा उसैको हुने अवस्था मधेशमा छ । यसअनुसार पनि गाउँ ब्लकको जग्गा स्वामित्वको विवादले ६ घरपरिवार चमार समुदायको बाटो ब्लक हुने देखिन्छ ।

त्यहाँ १० घर चमार समुदायको दशकौंदेखि बसोबास छ । ३ कठ्ठा नम्बरी जग्गामा उनीहरू बसिरहेका छन् । ज्याला–मजदुरी गरी जीविकोपार्जन गरिरहेका उनीहरू मन्दिरको खुला जग्गामा उठबस गर्ने गरेका थिए । पर्खाल हालिदिएपछि उनीहरूलाई घरबाट मूल सडकमा जान समेत समस्या हुने भएको छ ।

मन्दिरको परिसरको उत्तरमा वडा नम्बर ४ को कार्यालय छ । त्यसको दक्षिण सार्वजनिक पोखरी र पश्चिम दक्षिणपट्टी सामुदायिक विद्यालय छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?