 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटका बैकुण्ठ अधिकारीले पोर्चुगल नागरिकता प्रक्रिया सुरु गर्न आवश्यक कागजात तयार पारिरहेका छन्।
- उनीहरूले कागजात तयार गर्न करिब ३३ हजार नेपाली रुपैयाँ खर्च भइसकेको बताए।
- पोर्चुगलमा नेपालीहरूले सरकारी शुल्क र दौडधुपका कारण ठूलो आर्थिक बोझ व्यहोर्नु परेको छ।
२० जेठ, पोर्चुगल । नुवाकोटका बैकुण्ठ अधिकारी पोर्चुगल प्रवेश गरेको ५ वर्ष भयो । यहाँको कानुनअनुसार अब उनले नागरिकता लिनका लागि प्रक्रिया सुरु गर्न सक्छन् । यही जुन महिनामा नागरिकताका लागि आवेदन पेस गर्न उनी आवश्यक कागजात जुटाइरहेका छन् ।
एक महिनाअघि नेपाल पुगेका उनी आफ्नो वडा कार्यालयबाट जन्मदर्ता, पालिका बनेपछिको नयाँ ठेगानाको प्रमाणित कागज, प्रहरी चारित्रिक प्रमाणपत्र लगायतका कागजात तयार पारेर पोर्चुगल फर्किए ।
‘अहिले कागज तयार गरेको खर्च हिसाब गर्दा अत्यास लागिरहेको छ । सामान्य कमाइ हुनेहरूले त कागज बनाउनै नसक्ने रहेछ,’ अधिकारी भन्छन्, ‘वडा कार्यालयदेखि पोर्चुगलको कन्सुलर सेवा कार्यालयसम्म हुने खर्च जोड्दा त हजारौं रूपैयाँ निस्कियो ।’
अधिकारीले अहिले नागरिकता प्राप्तिका लागि तयार गरिरहेको दुईवटा कागजको मात्रै हिसाब हेर्दा पनि नेपाली रूपैयाँ ३३ हजार ६० रूपैयाँ खर्च भइसकेको छ ।
जन्मदर्ताको वडा कार्यालयमा ५०० रूपैयाँ, गाउँपालिकामा त्यसको प्रमाणीकरणको ५०० रूपैयाँ, नेपालमा परराष्ट्र कन्सुलर विभागमा प्रमाणीकरणको ५०० रूपैयाँ, त्यही जन्मदर्ता लिस्वनस्थित नेपाली दूतावासमा प्रमाणीकरणको ५० यूरो (नेपाली रूपैयाँ ७ हजार ७५०), पोर्चुगिज भाषामा उल्था गर्न १५ यूरो (नेपाली रूपैयाँ २ हजार ३२५) र पोर्चुगल कन्सुलरमा प्रमाणीकरणको लागि १० यूरो (नेपाली रूपैयाँ एक हजार ५५५) खर्च भइसकेको छ ।
यस्तै प्रहरी चारित्रिक प्रमाणपत्रका लागि नेपालको कन्सुलर विभागमा ५०० रूपैयाँ, नेपाली दूतावासमा १०० युरो (नेपाली रूपैयाँ १५ हजार ५५०), पोर्चुगिज भाषामा उल्था गर्न १५ युरो (नेपाली रूपैयाँ २ हजार ३२५) र पोर्चुगल कन्सुलरमा प्रमाणीकरणको लागि १० युरो (नेपाली रूपैयाँ एक हजार ५५५) खर्च भएको छ । यो खर्च सरकारी शुल्क अनुसारको राजस्वको मात्रै हो । त्यसका लागि भएको दौडधुप, हुलाक खर्च लगायतका अन्य रकम जोडिएको छैन ।
लिस्वनमा रहेका निर्मल पौडेल आफ्ना एक सन्तान र श्रीमतीलाई यता ल्याउने धुनमा छन् । कमाइ र बसाइका हिसाबले दुई जनालाई यहाँ ल्याउन सक्ने कागजपत्र तयार पारेका उनी अहिले कागजमा हुने खर्चको हिसाब गरेर तर्सिएका छन् । नेपालमा उनकी श्रीमती कागजपत्र जम्मा गरिरहेकी छिन् ।
अब यता ल्याएर गर्नुपर्ने काम र त्यसको हिसाब गर्दा उनलाई एक महिनाको तलबले पनि नभ्याउने हिसाबले निचोरेको छ । ‘मेरो एक महिनाको तलबले पनि परिवार ल्याउने कागजपत्र तयार नहुने रहेछ,’ पौडेल भन्छन्, ‘किन यस्तरी चर्को शुल्क लगाएका होलान् !’ तलब नै ८७० यूरो भएको देशमा कुन हिसाबले एउटा कागजको सरकारी राजस्व नै एक सय यूरो बनाइयो भन्ने उनको जिज्ञासा छ ।
पोर्चुगलमा रहेका हरेक नेपालीमा सुरुवाती चरणमा कम्तीमा प्रहरी चारित्रिक प्रमाणपत्र तयार गर्नुपर्ने हुन्छ । अस्थायी आवास अनुमतिपत्र (टीआरसी) लिन यहाँका आधिकारिक निकायमा प्रहरी रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने प्रावधान छ । टीआरसी लिएपछि मात्रै पोर्चुगलमा अन्य कागजपत्र बनाउने, व्यापार व्यवसाय गर्ने, सवारी चालक अनुमतिपत्र लिने, परिवारका सदस्यहरूलाई यता ल्याउने जस्ता कार्यको ढोका खुल्छ ।
पोर्चुगल सरकारले न्यूनतम तलब ८७० यूरो तोकेको छ । प्रायःको तलब भने न्यूनतम मात्रै छ । एकजना व्यक्तिले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणित गर्न राजस्व मात्रै झण्डै १४० यूरो खर्च हुन्छ । यो भनेको एक महिनाको कमाइको १६ प्रतिशतभन्दा बढी हो ।
परिवार आफूसँग ल्याउनका लागि कम्तीमा पनि १६ देखि २० वटा कागजात तयार गर्नुपर्ने हुन्छ । त्यसका लागि १५ सय यूरोभन्दा बढी खर्च निस्कन्छ । अझ आफैं कागजातको लागि दौडधुप गर्न नजान्ने वा नभ्याउनेहरूले दलालको सहायता लिँदा यो खर्च झण्डै दोब्बर हुन पुग्छ । जसले गर्दा वर्ष दिनभरिको कमाइ अधिकांश नेपालीहरू आफ्ना सवारी चालक अनुमतिपत्र बनाउने, परिवार बोलाउन कागज बनाउने वा अन्य कुनै बहानाको कागजमा खर्च गरेर सक्छन् ।
‘आवश्यक परेको कागज नबनाई पनि भएन, महँगो भयो भनेर छाड्ने कुरा भएन,’ आकाश आचार्य भन्छन् । उनी पनि पोहोर सालको बचत यसपालि कागज बनाउँदा नै सकिएको हिसाब सुनाउँछन् ।नेपालको सवारी चालक अनुमतिपत्रलाई पोर्चुगलमा रूपान्तरण गर्ने काममा उनले पनि एक सालभरको बचतको आधाआधी खर्च गरिसकेका छन् ।

नेपालबाट स्मार्ट लाइसेन्स र त्यसको लगबुक पोर्चुगलसम्म सहीछाप गरेर झिकाउने, दूतावासमा प्रमाणीकरण गर्ने, यहाँको भाषामा उल्था गर्ने, पोर्चुगलको कन्सुलर विभागबाट प्रमाणीकरण गर्ने र डाक्टर रिपोर्ट निकाल्नेसम्ममै उनी आत्तिसकेका छन् ।
नेपालीलाई प्रदान गरिने सेवाशुल्कको विषयमा महँगो वा सस्तोको विषयमा सरकारी निकाय मौन छ । नेपालमा ५ हजार रूपैयाँमा तयार हुने राहदानीको शुल्क पोर्चुगलमा १८ हजार ६०० रूपैयाँसम्म छ ।
पेरिस, स्पेन जस्ता बढी कमाइ हुने मुलुकका दूतावासमा र पोर्चुगल जस्तो कम कमाइ हुने देशमा रहेको दूतावासको सेवाशुल्क कसरी र किन एउटै रह्यो भन्ने तर्क लिस्वनस्थित नेपाली दूतावाससँग पनि छैन । पोर्चुगलमा रहेको नेपाली दूतावासले विभिन्न सेवाहरूमा ७ वटा शुल्क निर्धारण गरेको छ ।
३४ पेजको राहदानी नवीकरणको १२० यूरो (नेपाली रूपैयाँ १८ हजार ६००), हराएको वा ‘ड्यामेज’ भएको राहदानी ३४ पेजको राहदानीको १८० युरो (नेपाली रूपैयाँ २७ हजार ९००), १० वर्ष मुनिको नाबालकको ३४ पेजको राहदानीको ६० यूरो (नेपाली रूपैयाँ ९ हजार ३००), १० वर्ष मुनिको नाबालकको ३४ पेजको हराएको वा ‘ड्यामेज’ भएको राहदानीको ९० यूरो (नेपाली रूपैयाँ १३ हजार ९५०) शुल्क रहेको पोर्चुगल दूतावासले जनाएको छ ।
त्यसैगरी प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणित गरेको एक सय यूरो (नेपाली रूपैयाँ १५ हजार ५००), पारिवारिक प्रमाणपत्र वा अन्य प्रमाणपत्रहरू प्रमाणित गरेको प्रतिपाना ५० यूरो (नेपाली रूपैयाँ ७ हजार ७५०) र शैक्षिक प्रमाणपत्र प्रमाणित गरेको प्रतिपाना १५ यूरो (नेपाली रूपैयाँ २ हजार ३२५) शुल्क रहेको छ ।
 
                









 
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4