
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण र लगानी अभिवृद्धिका लागि छलफल भएको छ ।
- चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानी अवसर, जलवायु परिवर्तन विरुद्धको कदम लगायत विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।
२० जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ ।
काठमाडौं जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानी अवसर, जलवायु परिवर्तन विरुद्धको कदम लगायत विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।
राजदूत न्होकोमोसँग चेम्बर अध्यक्ष अग्रवालले भने, ‘नेपाल र जिम्बावेबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ४ दशक पुग्दैछ, असंलग्न नीति, जलवायु परवर्तन जस्ता महत्त्वपूर्ण विषयमा अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले सहकार्य गर्दै आएका छौं । अब आर्थिक क्षेत्रमा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’
अध्यक्ष अग्रवालले नेपालमै आवासीय दूतावास खोल्नका लागि पहल गर्नसमेत राजदूत न्होकोमोेसँग प्रस्ताव गरे । दुवै देशमा आवासीय दूतावास खोलेर व्यापार सहजीकरण, जलवायु परिवर्तन विरुद्ध सहकार्य, लगानी अभिवृद्धि तथा पर्यटन क्षेत्रमा सहकार्य गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
दुवै देशलाई फाइदा पुग्ने गरी दुई पक्षीय सहमति गरेर आर्थिक लाभ लिनुपर्ने उनको भनाइ छ । नेपाल र जिम्बावेका निजी क्षेत्रबीच बीटुबी भेटवार्ता गर्नुपर्ने अध्यक्ष अग्रवालले बताए ।
नेपालमा लगानीको वातावरण सहज रहेको र प्रतिफल सुनिश्चित रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । ‘नेपालले अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाबाट मुलुकको सार्वभौम क्रेडिट रेटिङ गराउँदा दक्षिण एसियामा नै भारतपछि दोस्रो स्थानमा रेटिङ बीबी माइनस प्राप्त गर्नु हामी निजी क्षेत्रका लागि सुखद कुरा हो,’ उनले भने ।
उनले जलविद्युत्, पर्यटन लगायत क्षेत्रमा लगानीका लागि पहल गर्न राजदूत न्होकोमोलाई प्रस्ताव गरे । आगामी वर्षको बजेटमा सहज व्यवस्था गरिएकाले वैदेशिक लगानीलाई धेरै नै सहजता प्राप्त भएको अध्यक्ष अग्रवालले बताए ।
चेम्बर पदाधिकारीसँगको भेटवार्तामा राजदूत न्होकोमोले नेपालमा आवासीय दूतावास खोल्नुपर्ने विषयमा आफु गम्भीर रहेको र यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले नेपालको जलविद्युत् क्षेत्रमा लगानीको सम्भावना रहेको र त्यसका लागि जिम्बावेको निजी क्षेत्रसँग पहल गर्ने समेत बताए । नेपालको सगरमाथाले आफूलाई लोभ्याएको भन्दै उनले पर्यटन क्षेत्रमा लगानीको अथाह सम्भावना रहेकोमा जोड दिए । दुई देशबीच आर्थिक सहकार्य र साझेदारीका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4