+
+
Shares

अराजक बन्दकर्ताअघि निरीह गोरखा प्रशासन, प्रहरीमाथि नै हातपातको प्रयास !

गाडी तोडफोड र व्यक्तिमाथि कुटपिटका घटना दोहोरिँदै

राइड सेयरिङको बिरोधमा सार्वजनिक यातायात नचलाउने निर्णय गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले मोटरसाइकल समेतलाई अवरोध पुर्‍याइरहेका छन् ।

विकास मरहट्टा विकास मरहट्टा
२०८२ जेठ २० गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात बन्द गराउँदै हिँडेका उच्छृङ्खल भीडले प्रहरीकै सामु गोरखा बजारको बीच सडकमा यात्रुमाथि दुव्र्यवहार गरेका छन्।
  • मोटरसाइकलमा सवार यात्रुलाई लछारपछार गरेको कतिपय दृश्य सामाजिक सञ्जालमै छरपष्ट देखियो।
  • तर गोरखा प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले त्यस बिषयमा कुनै ‘एक्सन’ लिन सकेनन्।

२० जेठ, गोरखा । सात बर्षअघि खारेज भएको सिन्डिकेट ब्युँताउने दुस्प्रयाससहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका अघि गोरखाको प्रशासनले निरिहता प्रदर्शन गरेको छ ।

यातायात बन्द गराउँदै हिँडेका उच्छृङ्खल भीडले प्रहरीकै सामु गोरखा बजारको बीच सडकमा यात्रुमाथि दुव्र्यवहार गरेका छन् । प्रहरीकै सामू गाडी तोडफोडदेखि व्यक्तिमाथि हातपात समेत गरे । यात्रुसँगको अभद्र व्यवहारका अनगिन्ति घटनामा प्रशासन भने मुकदर्शक मात्र बनिरह्यो ।

बाह्र किलोचोकमा आन्दोलनरत व्यवसायीहरुले ड्यूटीमा खटिएका प्रहरीमाथि नै हातपातको प्रयास गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बन्यो । तर गोरखा प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले त्यस बिषयमा कुनै ‘एक्सन’ लिन सकेनन् ।

उच्छृङ्खलतालाई प्रोत्साहन मिल्ने अभिव्यक्ति दिँदै उनले सामान्य धकेलाधकेलमात्र भएको भन्दै घटनालाई थामथुम पार्न खोजे । भने, ‘हातपात नै त होइन तर सामान्य धकेलाधकेलचाहिँ भएको रहेछ । ती मान्छेहरुलाइ हामी अनुसन्धानको दायरामा ल्याउँछौँ ।’

ग्यारेजमा गाडी बनाएर घर फर्कदै गरेका पालुङटार नगरपालिका–१० मिरकोटका कृष्णहरि देवकोटामाथि शनिवार बाह्र किलोचोकमा आक्रमण भयो । नेत्रबहादुर कुमालले आफूलाई आक्रमण गरेको भन्दै देवकोटाले रातामाटे प्रहरी चौकीमा जाहेरी दर्ता समेत गराए । तर प्रहरीले कुमाललाई पक्राउ गर्नुको सट्टा उल्टो देवकोटालाई दुई हजार जरिवाना तिराएर पठायो ।

यस बिषयमा पनि प्रहरी प्रमुख बिक हल्का रुपमा प्रस्तुत भए । उनले भने, ‘मौखिक रुपमा जानकारी गराउनुभएको रहेछ, जाहेरी आएमा दर्ता गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय ठाटीपोखरीलाई निर्देशन दिइसकेको छु ।’

त्यस्तै आइतवार राती करिव १२ बजे छेवेटारमा गोरखा नगरपालिका–१० टक्सारका अञ्जन घर्ती, प्रशान्त आलेमाथि पनि बन्दकर्ताहरुले कुटपिट गरे । कुटपिटमा संलग्नलाई प्रशासनले कारवाहीको दायरामा ल्याउन सकेन । बन्दको नाममा अराजक बन्दै गएका बन्दकर्ताले विवाह र स्कुलका गाडीमा समेत अवरोध पुर्‍याए । मोटरसाइकलमा सवार यात्रुलाई लछारपछार गरेको कतिपय दृश्य सामाजिक सञ्जालमै छरपष्ट देखियो । अनुगमनमा हिडेका सरकारी कार्यालयको गाडी समेत रोके ।

बन्दको नाममा अराजक बन्दै कुटपिटमा संलग्नलाई प्रशासनले न कारवाहीको दायरामा ल्याउन सकेको छ न यात्रुलाई सुरक्षा प्रदान गर्दै गन्तव्य स्थलमा पुर्‍याउन सकेको छ । बन्दकर्ताले गर्दै आएको अराजक गतिविधिलाई टुलुटुल हेर्नु बाहेकका काम गर्ने ल्याकत प्रशासनले देखाउन सकेको छैन ।

राइड सेयरिङको बिरोधमा सार्वजनिक यातायात नचलाउने निर्णय गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले मोटरसाइकल समेतलाई अवरोध पुर्‍याइरहेका छन् । उनीहरुमाथि दुव्र्यवहार र अपमान गरेको भिडियो सार्वजनिक भइरहेका छन् । व्यवसायीको यस्ता गतिविधि बिरुद्ध प्रशासनले कुनै ‘एक्सन’ लिन सकेको देखिदैन । बन्दका कारण यात्रुको बिचल्ली बनेको छ ।

यता प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले भने सार्वजनिक यातायात वाहेक अन्य सवारीलाई रोकतोक गर्ने र यात्रुमाथि दुव्र्यवहार गर्नेलाई कारबाही हुने बताए । ‘बन्दकर्ताले त्यस्तो अभद्र व्यवहार गरेमा नजिकैको प्रहरीलाई खवर गर्नुस्, नभए प्रहरी प्रमुख वा मलाई नै फोन गर्दा हुन्छ, त्यस्ता व्यक्तिलाई हामी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाउँछौँ ।’

सुरक्षा माग गरेमा स्कटिङ सहित जुनसुकै सवारीहरुलाई गन्तव्य स्थलसम्म पुर्‍याउन तयार रहेको उनले जिकिर गरे ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?