+
+
Shares

वातावरण संरक्षण गर्न संकल्प गर्ने दिन अर्थात् जून ५

यो वर्षको वातावरण दिवसको विषयवस्तुले हाम्रो ग्रहबाट प्लास्टिकको फोहोर घटाउने र उन्मूलन गर्ने तत्काल आवश्यकतालाई प्रकाश पार्छ। यो पानी, वन्यजन्तु र मानव स्वास्थ्यमा प्लास्टिक प्रदूषणको व्यापक प्रभावमा केन्द्रित छ। विश्व वातावरण दिवस २०२५ ले व्यक्ति, उद्योग र सरकारहरूलाई दिगो विकल्पहरू अँगाल्न र एकपटक मात्र प्रयोग गरिने प्लास्टिक कम गर्न प्रोत्साहित गर्दछ।

डा. मित्र पाठक डा. मित्र पाठक
२०८२ जेठ २२ गते ६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा वातावरण दिवस जून ५ मा मनाइन्छ र प्लास्टिक प्रदूषण अन्त्यमा केन्द्रित छ।
  • जलवायु परिवर्तन र हिमताल विस्फोटको जोखिमले नेपालमा सचेतना र निगरानी आवश्यक छ।
  • सरकार, विद्यालय र समुदायले वृक्षारोपण, सरसफाइ र सचेतनाका कार्यक्रमहरू आयोजना गर्दछन्।

नेपाल जैविक विविधता, प्राकृतिक स्रोत-साधन र हिमाल–पहाड–तराईमा फरक–फरक पारिस्थितिक प्रणालीले भरिएको देश हो। त्यसैले नेपालमा वातावरण दिवसको महत्व निकै ठूलो छ। वातावरण दिवस जून ५ तारिखमा संसारभर मनाइन्छ, र नेपालले पनि यो दिवसलाई विशेष कार्यक्रमका साथ मनाउँदै आएको छ। यो वर्ष पनि संसारभर ‘इन्डिङ ग्लोबल प्लास्टिक पलुसन’ अर्थात् संसारभर प्लास्टिक प्रदूषणको अन्त्य भन्ने नाराका साथ मनाइँदैछ।

यो वर्षको वातावरण दिवसको विषयवस्तुले हाम्रो ग्रहबाट प्लास्टिकको फोहोर घटाउने र उन्मूलन गर्ने तत्काल आवश्यकतालाई प्रकाश पार्छ। यो पानी, वन्यजन्तु र मानव स्वास्थ्यमा प्लास्टिक प्रदूषणको व्यापक प्रभावमा केन्द्रित छ। विश्व वातावरण दिवस २०२५ ले व्यक्ति, उद्योग र सरकारहरूलाई दिगो विकल्पहरू अँगाल्न र एकपटक मात्र प्रयोग गरिने प्लास्टिक कम गर्न प्रोत्साहित गर्दछ।

जलवायु परिवर्तन र वातावरण दिवस बीचको सम्बन्ध पनि घनिष्ठ र महत्वपूर्ण छ। वातावरण दिवसले जलवायु परिवर्तन जस्ता गम्भीर वातावरणीय समस्याहरूको बारेमा जनचेतना फैलाउने, छलफल गर्ने र समाधान खोज्ने एउटा बलियो माध्यमको काम गर्छ। जलवायु परिवर्तन भन्नाले पृथ्वीको औसत तापक्रममा समयक्रममा हुने दीर्घकालीन परिवर्तनलाई जनाइन्छ। मुख्य कारणहरूमा हरितगृह ग्यासको अत्यधिक उत्सर्जन, जंगल फडानी, औद्योगिकीकरण र जीवाश्म इन्धनको प्रयोग पर्दछ।

नेपालमा जलवायु परिवर्तनका कारण हिमतालहरूको संख्या र आकार दुवै बढ्दै गइरहेका छन्, जसले ‘हिमताल विस्फोट बाढी’ (GLOF) को जोखिम बढाएको छ। तसर्थ, यी हिमतालहरूको नियमित निगरानी, पूर्वसूचना प्रणालीको स्थापना र जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्नु अत्यावश्यक छ। अन्तर्राष्ट्रिय केन्द्र हिमाली विकासका लागि इसिमोड र संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपीको संयुक्त अध्ययन अनुसार, नेपाल, चीनको तिब्बत स्वायत्त क्षेत्र र भारतमा जम्मा ४७ वटा हिमतालहरूलाई ‘सम्भावित खतरनाक’ सूचीमा राखिएको छ। तीमध्ये २१ वटा हिमताल नेपालमै छन्।

केही दिनअघि मात्र स्विट्जरल्याण्डको हिमताल विस्फोटले चर्चा पाएको थियो। इन्टरनेटमा आधारित सार्वजनिक सूचना संग्रह प्लाटफर्म गिटहबका अनुसार हालसम्म नेपालमा ५६ वटा हिमताल विस्फोटका घटना ‘रेकर्ड’ भएका छन्। यस्तो सन्दर्भमा नेपालमा वातावरण दिवसको सान्दर्भिकता अझै बढी देखिन्छ भन्न सकिन्छ। मूलतः यसलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ:

जनचेतना अभिवृद्धि

सङ्गठित रिसाइकल प्रणालीको अभाव, जनचेतनाको कमी, व्यवस्थापनको कमजोरी  तथा सरकारको अस्पष्ट नीति चुनौती बनेका छन्।

वातावरण दिवसको मुख्य उद्देश्य जनतालाई वातावरणीय मुद्दाबारे सचेत गराउनु हो। नेपालमा जलवायु परिवर्तन, जंगल विनाश, प्रदूषण, नदीजन्य स्रोतको दोहन जस्ता समस्या बढ्दो छन्। यस्तो अवस्थामा जनसाधारणलाई सचेत गराएर संरक्षणको आवश्यकता बुझाउनु अत्यावश्यक छ।

नीतिगत पहल र दबाब

यो दिवसका अवसरमा सरकार तथा सरोकारवालाहरू वातावरण सम्बन्धी नीति तथा कार्यक्रमहरूको समीक्षा गर्छन्। साथै वातावरण दिवसले नयाँ वातावरण संरक्षणका रणनीति बनाउने अवसर पनि प्रदान गर्छ।

शिक्षा र बालबालिकामा चेतना विकास

विद्यालय, कलेज र शैक्षिक संस्थाहरूले वातावरण दिवसमा विशेष कार्यक्रम (जस्तै चित्रकला, भाषण प्रतियोगिता, वृक्षरोपण)हरू आयोजना गर्छन्। यसले बालबालिकालाई बाल्यकालदेखि नै वातावरणप्रति संवेदनशील बनाउँछ। यो अवसरमा संघीय तथा प्रदेश मन्त्रालयका वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा निकायहरूले आ–आफ्नो तरिकाले दिवस मनाइरहेका छन्। वनस्पति विभाग र सो अन्तर्गतका अनुसन्धान केन्द्रहरूले पनि विद्यालय तथा कलेज विद्यार्थीलाई जैविक विविधता र जलवायु परिवर्तनको महत्व र असर एवं जडीबुटीको माध्यमबाट आयआर्जनको विषयमा सचेतनाको कार्यक्रम गर्दै आइरहेका छन्।

समुदायस्तरमा वृक्षरोपण र सरसफाइ

नेपालका विभिन्न समुदायले वातावरण दिवसमा वृक्षरोपण, नदी तथा सार्वजनिक स्थलहरूको सरसफाइ गर्ने कार्यक्रमहरू आयोजना गर्छन्। यसले प्रत्यक्ष रूपमा वातावरण सुधारमा योगदान पुर्‍याउँछ। सरसफाइका कार्यक्रम ठिकठिकै भए पनि कर्मकाण्डी बिरुवा रोपण वास्तवमै सज्जालमा देखाउनका लागि देखावटी मात्रै भएको छ। रोपेपछि बिरुवाको रेखदेख र बचाउने काम भगवानकै भर हुने गरेको छ। यो विषय गम्भीर छलफलको विषय बनिनुपर्दछ।

सहयोग र साझेदारीको अवसर

वातावरण दिवस विभिन्न संघसंस्था, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय र सरकारले आपसी सहकार्य गरेर वातावरणीय मुद्दामा काम गर्ने अवसर दिन्छ। कार्वन ब्यापार लगायतका विषयले अन्तर्राष्ट्रिय चासो पाउनु नेपाल जस्ता विकासशील देशका लागि राम्रो विषय हो।

युवाहरूको सक्रियता

वातावरण दिवसको अवसरमा हुने कार्यक्रमहरू (र्‍याली, गोष्ठी, वृक्षरोपण, सफाइ अभियान आदि) मा युवाहरूको सहभागिताले भविष्यको नेतृत्व जलवायु परिवर्तन प्रतिरोधमा सक्षम बनाउने आधार तयार गर्छ। तर यी मुद्दाहरूमा युवाको आकर्षण कम छ। स्नातक र स्नातकोत्तरका सम्बन्धित विषयका विद्यार्थीलाई विषयगत प्रोजेक्ट रिपोर्ट तथा अनुसन्धान शोधपत्र गर्न वन, वातावरणसँग सम्बन्धित संघ–संस्थाहरूले बजेट व्यवस्थापन सहित कोटा बढाउनुपर्दछ।

प्लास्टिक पुनः प्रयोग

प्लास्टिक पुनः प्रयोग र पुनः चक्र वातावरण जोगाउने मात्र होइन, आर्थिक दृष्टिले पनि लाभदायक अभ्यास हो। व्यक्तिगत, सामुदायिक र सरकारीस्तरमा सहकार्य गरिएमा नेपालमा पनि प्लास्टिक प्रदूषण नियन्त्रण गर्न सकिन्छ। प्लास्टिकलाई त्यही स्वरूपमा बारम्बार प्रयोग गर्नु नै पुनः प्रयोग हो। यसले प्लास्टिक फोहोर कम गर्न मद्दत गर्छ।

प्लास्टिकका बोतललाई पानी राख्न प्रयोग गर्नु, पुराना प्लास्टिक झोलालाई किनमेल गर्दा फेरि प्रयोग गर्नु, प्लास्टिक कन्टेनरहरूलाई भान्सामा खाद्य भण्डारणको रूपमा प्रयोग गर्नु यसका केही उदाहरण मान्न सकिन्छ। यसो गर्न सकेमा फोहोर कम हुन्छ, उत्पादन लागत घट्छ र संसाधन बचत हुन्छ।

प्लास्टिकलाई संकलन गरी प्रशोधन गरेर नयाँ सामग्री वा उत्पादन बनाउनु नै पुन: चक्रण हो। यसमा प्लास्टिक सङ्कलन गर्ने, छुट्याउने (प्रकार अनुसार), सफा गर्ने, टुक्र्याउने र नयाँ वस्तु (पाइप, झोला, कुर्सी आदि) उत्पादन गर्ने पर्दछन्। केही उद्योगहरूले प्लास्टिक रिसाइकल गरेर झोला, पाइप र निर्माण सामग्री बनाउँदै आएका छन्। काठमाडौं, पोखरा, विराटनगर लगायत शहरहरूमा निजी संस्थाहरू प्लास्टिक सङ्कलन र रिसाइकलमा सक्रिय छन्। यो सकारात्मक पक्ष पनि हो। तर, सङ्गठित रिसाइकल प्रणालीको अभाव, जनचेतनाको कमी, व्यवस्थापनको कमजोरी  तथा सरकारको अस्पष्ट नीति चुनौती बनेका छन्।

निष्कर्ष

नेपाल जस्तो प्राकृतिक स्रोतले भरिएको मुलुकका लागि वातावरण संरक्षण केवल आवश्यकता होइन, दिगो विकासको आधार हो। त्यसैले वातावरण दिवस नेपालमा केवल एक औपचारिकता नभई, वातावरण जोगाउने आन्दोलनको एउटा महत्वपूर्ण मोड बनेको छ र यसलाई आगामी दिनमा सम्बन्धित निकायहरूको समझदारी र समन्वयबाट अझै प्रभावकारी र नतिजामुखी बनाउनु अत्यावश्यक देखिन्छ। कर्मकाण्डी नै सही हामीले बिर्सनुहुँदैन कि यो दिवस विश्वभरका मानिसहरूसँग एकताबद्ध हुने, वर्तमान र भावी पुस्ताका लागि वातावरण संरक्षण गर्न संकल्प गर्ने दिन पनि हो। अनुसन्धानमा गरिएको लगानी विना वातावरणीय असर कम गर्न असम्भवप्राय: छ तसर्थ ज्ञानलाई विज्ञानमा र विज्ञानलाई प्रविधिमा बदल्न तीनै तहका सरकारले सचेतनासँगै यी विषयका खोज तथा अनुसन्धानमा लगानी बढाउनुको विकल्प छैन।

(डा. पाठक वन तथा वातावरण मन्त्रालय, वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानमा कार्यरत छन्।)

लेखक
डा. मित्र पाठक

डा. पाठक वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?