
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले माथिल्लो म्याग्दी-१ जलविद्युत् परियोजनामा लगानी गर्ने सम्झौता गरेको छ।
- फन्डका अध्यक्ष डा. मनिष थापाले यसले नेपालको दिगो पूर्वाधार विकास र ऊर्जा स्वतन्त्रता बढाउने बताए।
२२ जेठ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका व्यवस्थापक ग्लोबल इक्विटी फन्ड लिमिटेडले ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ ।
यो आयोजना ऊर्जा डेभलपर्सले आफ्नो सहायक कम्पनी अपर म्याग्दी हाइड्रोपावर लिमिटेडमार्फत विकास गरिरहेको छ ।
फन्ड र ऊर्जा डेभलपर्सबीच बिहीबार लगानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापछि फन्डका अध्यक्ष डा. मनिष थापाले माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनामा गरिने लगानीले नेपालको दिगो पूर्वाधार विकासलाई बढावा दिने कोषको उद्देश्यसँग मेल खाने बताए ।
‘हामी विश्वास गर्छौं कि बलियो जलविद्युत् आयोजनाहरू नेपालको ऊर्जा स्वतन्त्रता र आर्थिक समृद्धिको लागि आधारभूत छन् । ऊर्जा डेभलपर्ससँग स्पष्ट दृष्टिकोण रहेको र उनीहरूको यो महत्त्वपूर्ण प्रयासमा सहयोग गर्न पाउँदा हामी गर्व गर्दछौं,’ थापाले भने ।
ऊर्जाका प्रबन्ध निर्देशक भानु पोखरेलले ग्लोबल इक्विटी फन्डसँग यसको स्थायी पूँजी संरचना नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डमार्फत् साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए ।
‘यो लगानी माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको सम्भाव्यता र महत्त्वको प्रमाण हो । यसले हामीलाई १ गिगावाटको लक्ष्यको नजिक मात्र पुर्याउने छैन, नेपालको स्वच्छ ऊर्जा लक्ष्य र म्याग्दीको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ,’ पोखरेलले भने ।
यो रणनीतिक लगानीले नेपालको जलविद्युत् सम्भावनालाई उपयोग गरी घरेलु ऊर्जाको माग पूरा गर्न, आयातित जीवाषेश इन्धनमाथिको निर्भरता घटाउन र दिगो ऊर्जा भविष्यतर्फ अघि बढ्न सघाउने विश्वास गरिएको छ ।
माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजना एक रन-अफ-रिभर प्रकारको आयोजना हो, जसले राष्ट्रिय प्रसारण लाइनमा ठोस योगदान पुर्याउँदै देशको हरित ऊर्जा उद्देश्यहरूलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।
माथिल्लो म्याग्दी-१ जस्ता ठूला स्तरका आयोजना विकास यो सम्भावनालाई उजागर गर्न, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, भरपर्दो बिजुलीमार्फत आर्थिक वृद्धि उत्प्रेरित गर्न र सम्भावित रूपमा ऊर्जा निर्यातका लागि मार्ग प्रशस्त गर्न महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाका प्रवर्द्धक ऊर्जा डेभलपर्स, नवीकरणीय ऊर्जा क्षेत्रका लागि एक समग्र समाधान प्रदायक हो, जसले सन् २०३० सम्ममा १ गिगावाट कार्बन-न्युट्रल ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4