
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयको स्नातक भर्ना रोक्ने निर्णयलाई अन्यायपूर्ण भनेका छन्।
- भर्ना रोकिएले विद्यार्थीको अधिकार बञ्चित भएको आरोप लगाएका छन्।
- उनीहरूले सबै क्याम्पसमा पुनः भर्ना खोल्न र विद्यार्थीको पढ्ने अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
२२ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नाममा २०८१ साल माघ ११ गतेदेखि नै भर्ना रोकेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको बताएका हुन् ।
त्रिविबाट सम्बन्धन लिएका निजी क्याम्पस र केही सामुदायिक क्याम्पसहरूले अहिले पनि स्नातक तह प्रथम वर्षमा भर्ना लिइरहेको उनीहरुको दाबी छ । त्रिविको आंगिक क्याम्पसहरूमा भने गत माघ ११ देखि नै भर्ना रोकिँदा समस्या आइपरेको विद्यार्थी नेताहरूको गुनासो रहेको छ ।
‘विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कारणले २०८१ साल माघ ११ गतेबाट भर्ना रोकियो । हाम्रो चाहना चाहीँ विद्यार्थीले भर्ना हुन पाउनुपर्छ । विद्यार्थी भर्ना खोल्नुपर्छ । चारदेखि पाँच हजार विद्यार्थीले भर्ना हुन पाएका छैनन् । अरु बेला अर्को वर्ष भदौमा परीक्षा हुँदा विद्यार्थी साउनसम्म भर्ना हुन पाउँथे । ब्याचलरमा समेष्टार सिस्टम पनि छैन, जतिबेला पनि भर्ना हुन पाउँछन्,’ शंकरदेव क्याम्पस स्ववियू सचिव मदनराज उपाध्यायले भने ।
त्रिविका भिसी, रेक्टर र रजिष्टारले एकतन्त्रीय शासनजस्तो गरी भर्ना रोकेको विद्यार्थी नेताहरुले बताए । त्रिविको आंगिक क्याम्पस शंकरदेव क्याम्पसमा विगतमा ३ देखि ४ हजार विद्यार्थी स्नातक तहमा भर्ना हुने गरेकोमा अहिले १ हजार ५ सय विद्यार्थीमात्रै भर्ना भएको उनले बताए ।
त्रिविका सबै क्याम्पसहरूमा स्नातक तहमा पुनः भर्ना खोलिनुपर्ने र विद्यार्थीहरूको पढ्न पाउने हकलाई बञ्चित गरिन नहुने उनीहरुको माग छ ।
कार्यक्रममा शंकरदेव क्याम्पसका स्ववियू सभापति सुशान्त बस्नेत, पब्लिक युथ क्याम्पस नेपाल विद्यार्थी संघका सन्तोष श्रेष्ठ, कैलाशकुट क्याम्पसका स्ववियू सभापति सुवर्ण गौतम, भक्तपुर क्याम्पसका स्ववियू सभापति पुकार पराजुली, थली क्याम्पसका अंशु फुँयाललगायतका विद्यार्थी नेताहरु सहभागी थिए ।
त्रिविले पटक–पटक शैक्षिक क्यालेण्डर उल्लङ्घन गरेको उनीहरुको दाबी छ । रजिष्ट्रेसन जेठसम्म खोलिने तर भर्ना गर्न नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनीहरूले बताए ।
प्रतिक्रिया 4