
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य बीमा बोर्डको सर्भरमा प्राविधिक त्रुटिका कारण हजारौं डकुमेन्ट हराएका छन्।
- बोर्डले सबै सेवा प्रदायक संस्थालाई पुनः अपलोड गर्न १५ दिने म्यादसहित अनुरोध गरेको छ।
- डेटा हराएको कारण अर्बौंको भुक्तानी प्रक्रिया रोकिएको बोर्डले जनाएको छ।
२२ जेठ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको सर्भरमा आएको गम्भीर प्राविधिक त्रुटिका कारण देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाले भुक्तानीका लागि अपलोड गरेका हजारौं डकुमेन्ट हराएका छन् ।
मुख्य सर्भर क्र्यास भएपछि बीमा बोर्डले २०८१ सालको बैशाखदेखि असोज मसान्तसम्म अपलोड गरिएका सबै दाबीसम्बन्धी कागजातहरू पुनः अपलोड गर्न १५ दिने म्यादसहित अनुरोध गरेको हो ।
बोर्डका सूचना प्रविधि प्रमुख सुरेश सिंह तिंकरीले हस्ताक्षर गरि सबै सेवा प्रदायक स्वास्थ्य संस्थामा पठाएको पत्रमा २०८१ बैशाख १ देखि २०८१ असार मसान्तसम्मका रुजु हुन बाँकी दावीहरुका कागजात पुनः अपलोड गर्न अनुरोध गरिएको छ ।
‘१ साउन देखि असोज मसान्त २०८१ सम्म अपलोड गरिएका कागजातहरु पनि स्टोरेजमा समस्या भएर हेर्न नसकिएको छैन । आर्थिक वर्षको अन्तिम सयममा आईपुगेको र भुक्तानी गर्न खोजिए पनि डकुमेन्ट नहुँदा नसकिएकोले पुन अपलोड अनुरोध गरिन्छ,’ बोर्डले पठाएको पत्रमा भनिएको छ ।
सरकारले आगामी आर्थिक वर्षभित्र पुराना सबै बक्यौता भुक्तानी गर्ने घोषणा गरिसकेको छ । तर, डकुमेन्ट हराएपछि भुक्तानी प्रक्रिया नै रोकिएको बोर्डले बताएको छ । यसै सन्दर्भमा बोर्डले १८० जना जनशक्ति तीन महिनाको करारमा नियुक्त गर्न दरखास्तसमेत आह्वान गरिसकेको छ ।
स्वास्थ्य बीमा बोर्डका सुचना अधिकारी विकेश मल्लले सर्भरमा समस्या आएको आएको पुष्टि गरे । ‘स्टोरेजमा समस्या भएको हो । समाधानका लागि प्राविधिक टोलीले काम गरिराख्नुभएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘सेवाप्रदायकसंस्थासँग बोर्डले २०८१ सालको बैशाखदेखि असोज मसान्तसम्म अपलोड गरिएका सबै डकुमेन्टहरू पुनः अपलोड गर्न अनुरोध गरेको छ ।’
बीमा बोर्डले १८ अर्बभन्दा बढी सेवा प्रदायक संस्थालाई भुक्तानी गर्न बाँकी छ । स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था छन् ।
प्रतिक्रिया 4