
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले सिवाकोटी समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने निर्णय गर्यो।
- प्रतिवेदन अनुसार नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना र नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने कार्य अघि बढ्नेछ।
- नेप्से पुनर्संरचना र आवेदक तीन नयाँ स्टक एक्स्चेन्जको मूल्यांकन प्रक्रिया अघि बढाइने भएको छ।
२३ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिवाकोटी समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजाने भएको छ ।
बोर्डको सञ्चालक समिति बैठकले सो प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
राष्ट्र बैंक सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित पूँजी बजार सुधार सुझाव समितिको प्रतिवेदनलाई कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयले भनेसँगै बोर्डले सो निर्णय गरेको हो ।
प्रतिवेदनअनुसार नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने कार्य र नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने कार्य सँगसँगै अघि बढाउनुपर्नेछ ।
सोहीअनुसार स्टक एक्स्चेन्जलाई बोर्डले पुनर्संरचनाका लागि पत्र पठाइसकेको छ । ‘केही दिनमै समितिको प्रतिवेदन बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ, यसलाई लुकाउनुपर्ने कुनै कारण छैन’ बोर्डका ती सदस्यले भने ।
नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका सम्बन्धमा कार्ययोजना तयार भएको छ । स्रोतका अनुसार यसअघि आवेदन परेका तीन स्टक एक्स्चेन्जको अब मूल्यांकन कार्य पनि अघि बढ्नेछ । हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले लाइसेन्सका लागि आवेदन दिएका छन् ।
त्यस्तै नेप्से पुनर्संरचनाका लागि पनि प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ । ‘नेप्सेले गर्नुपर्ने काम अघि बढाउ भनेर नेप्सेलाई पत्र पठाएका छौं, सरकारले गर्नुपर्ने काम पनि सुझाव दिएका छौं, बोर्डले गर्नुपर्ने काम पनि अघि बढाइरहेको छ’ स्रोतले भन्यो ।
प्रतिक्रिया 4