
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले भ्रष्टाचार रोक्न सबै कर्मचारी र शिक्षकको तलब बढाउनुपर्ने बताएका छन्।
- उनले महँगो जीवनयापनका कारण तलब वृद्धिको आवश्यकतामा जोड दिए।
- बस्नेतले बजेट कार्यान्वयन र सडक निर्माणमा सुधारको सुझाव पनि दिए।
२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले देशमा भ्रष्टाचार रोक्ने भए सबै राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब बढाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा बस्नेतले ‘डबल वा ट्रिपल’ तलब बढाउनुपर्ने धारणा राखेका हुन् ।
महँगी बढेको अनुपातमा सेना, प्रहरी, शिक्षक र कर्मचारीहरुको तलब कम भएको भन्दै उनले त्यसबाट बाँच्न र खान नपुग्ने बताए । ‘पियनदेखि हाकिमसम्मको तलबस्केल एकपटक हामीले हेरौं, प्रहरी सेनाको तलब स्केल, प्राइभेट सेक्टरको तलबस्केल हेरौं, पब्लिक सेक्टरको तलबस्केल हेरौं, टिचरको तलब स्केल हेरौं, त्यसले खान पुग्छ ?’ उनले प्रश्न गरे, ‘नेपालको तलबको रेन्ज २६–२८ देखि ८० हजार भन्दा माथि छैन । त्यो रेन्जमा बाँचेर खान पुग्छ ?’
कर्मचारीहरुले भ्रष्टाचार गरे, काम गरेनन् भनेर आरोप लगाउनुभन्दा उनीहरुको तलब बढाउन बस्नेतले सरकारलाई सुझाव दिए ।
‘घर भाडा यस्तो महँगो छ, बिजुली धारा तिर्नैपर्यो, ट्रान्सपोर्टेसन यति महँगो छ, एजुकेसन यति महँगो छ, अनि कसरी बाँच्ने हो कर्मचारीले ? अनि तलब नबढाउने ?’ प्रश्न गर्दै उनले भने, ‘भारत, अमेरिका, चाइनाको कर्मचारीलाई हेर्नुस् सबै दिएको छ त कर्मचारीलाई हामी चाहिँ दिन सक्दैनौं ?’
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् कर्मचारीको तलब नबढाएको भन्दै उनले असन्तुष्टि जनाए । बजेट बनाउनेहरुलाई बजार भाउ थाहा नभएको भनेर व्यंग्य गर्दै उनले भने, ‘हामीलाई नुन, तेल, सुन बजार भाउ थाहा छ कि छैन ? यो बजेट बनाउँदा थाहा पाउनुपर्ने न्यूनतम कुरा पनि हो ।’ सरकारले कर्मचारीहरुको तलब नबढाएर महंगी भत्ता तीन हजार थप गरिदिएको थियो ।
भ्रष्टाचार रोक्ने हो भने तलब बढाउनै पर्ने उनको धारणा छ । ‘भ्रष्टाचार दुई किसिमको हुने बताउँदै बस्नेतले भने, ‘एउटा मानसिकताबाट भ्रष्टाचार । त्यो धनी होस्, गरिब होस्, पैसावाला होस् वा नहोस् त्यसले भ्रष्टाचार गर्छ । अर्को चाहिँ भोको पेटले भ्रष्टाचार गर्छ । हामीले अब तलब नबढाउने हो भने यो देशमा भ्रष्टाचार रोकिन्न । काम हुँदैन ।’
उनले अझ जोड दिँदै भने, ‘मलाई लाग्छ भोको पेट यो देशमा काम हुँदैन । त्यसैले सरकारले जुनसुकै तहको कर्मचारी होस् डबल अथवा ट्रिपल तलब दिएर उनीहरुको सेवा सुविधा बढाउनै पर्छ ।’
‘बजेट आउनासाथ ठेक्का जाऔं’
आर्थिक वर्षको अन्त्य तिर बजेट सिध्यान हतार हतार काम गर्ने परिपाटी सुधार्न पनि उनले सुझाव दिए । हतारमा काम गर्दा नियम मिचिने र गुणस्तर कायम नहुने भएकाले त्यसलाई राक्नुपर्ने उनको भनाइ छ ।
त्यसैले बजेट आउनासाथ तुरुन्तै निर्माणको ठेक्का प्रक्रियामा जानुपर्ने बताउँदै उनले भने, ‘स्थानीयलाई हतार, हामीलाई हतार, सरकारलाई हतार, बजेट कसरी सिध्याउने भन्ने मात्र हतार । त्यहाँ हामी चुकेका छौं । बजेट आउनासाथ तुरुन्तै ठेक्कामा जान सक्यौं भने हाम्रो आर्थिक अनियमितता पनि कम हुन्छ ।’
उनले भ्रष्टाचार रोक्न उपभोक्ता समिति खारेज गर्न पनि सुझाए । त्यसमा धेरै विसंगती भएको दाबी गर्दै बस्नेतले भने, ‘अहिले विकृति विसंगति उपभोक्ता समितिहरुमा छ । स्थानीय तहमा जुन उपभोक्ता समितिहरु छन्, ती तुरुन्तै खारेज हुनुपर्छ, भ्रष्टाचारको अन्त्य हुने हो भने ।’
मुग्लिन बजार पारिबाट काठमाडौं जोड्ने नयाँ बाटो बनाउन सुझाव
बस्नेतले काठमाडौं–मुग्लिन–नारायणगढ सडकको विकल्पमा नयाँ बाटो बनाउन पनि सुझाव दिए । त्यसका लागि मुग्लिन बजारको पल्लोपटिट्बाट नयाँ बाटो बनाउन सकिने उनको भनाइ छ ।
अहिलेको काठमाडौं–मुग्लिन–नारायणगढ सडक वर्षा आउनासाथ भत्किने गरेको भन्दै बस्नेतले अब बन्ने नयाँ बाटो कहिल्यै नभत्किने खालको चार लेनको हुनुपर्ने बताए ।
‘काठमाडौं, मुग्लिन नारायणगढलाई लाइफलाइन पनि भनिन्छ । यो दुई लेनको राजमार्ग छ, म बच्चादेखि हेरेकोहेर्यै छु । अरबौं डलर खर्च भइसक्यो कहिल्यै पनि बन्दैन यो राजमार्ग । बाढी पहिरो आयो कि बन्द हुन्छ । यसको विकल्पमा धेरै मार्गहरु खुलेका छन् । ती मार्ग पनि वर्षाको सिजनमा बाढी पहिरो आउनासाथ बन्द हुन्छन् । त्यसैले म सरकारलाई ध्यान आकृष्ट गराउँछु वैकल्पिक बाटो खोल्नुपर्यो ।’
उनले थपे, ‘त्यो अर्को माग पनि चार लेनको बनाउनुपर्यो । चार लेनको बनाउन सकिन्न भने मुग्लिनको पारिबाट भए पनि दुई लेनको बाटो, बलियो बाटो, कहिल्यै नभत्किने बाटो बनाउन सक्नुपर्यो ।’
उनले आर्थिक वर्ष २०८२/८३ को बजेट राम्रो आएको भन्दै त्यसको कार्यान्वयन पक्ष राम्रो भए नतिजा पनि राम्रो आउने धारणा राखे ।
प्रतिक्रिया 4