
२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा प्रचण्डले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ,’ उनले भने ।
‘अख्तियारले कुनै पनि प्रधानमन्त्री र मन्त्रिपरिषद्ले गर्ने निर्णय नीतिगत विषय आफ्नो अधिकारको क्षेत्र नभएको भनेको छ । ललिता निवास प्रकरण सम्बन्धमा बाबुराम भट्टराई र माधव नेपालको विषयमा जे प्रश्न उठेको थियो यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन त्यो क्याबिनेटले नै गरोस् भनेर अख्तियारले लेखेको चिठी म आफैंले हेरेको छु । तर अहिले त्यही अख्तियार माधवजीले गरेको नीतिगत निर्णयको विषयमा प्रवेश गरेको छ । यसले प्रश्न उठेको छ,’ प्रचण्डले भने ।
‘माधवजीको विषयमा स्वयं उहाँ नै आश्चर्यमा पर्नुभएको छ । उहाँले अदालतले न्याय दिन्छ म छिट्टै सफाइ पाएर फर्कन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । मैले पनि अदालतले पक्कै पनि न्याय गर्छ भन्ने लागेको छ,’ उनले भने ।
२०६४ सालदेखिका सबै प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन होस् भन्ने आफूहरूले चाहेको उनको भनाइ छ । यसरी छानबिन प्रक्रिया अगाडि बढाउँदा जो कोही पनि छानबिनको दायरामा आउने उनको भनाइ छ । तर नीतिगत र सैद्धान्तिक रूपले यो विषय ठिक होकि होइन भनेर बहस चाहिँ गर्नु जरुरी रहेको उनले बताए ।
प्रतिक्रिया 4