
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले अनेरास्ववियुको नेतृत्व सर्वसम्मतिबाट टुंग्याउन निर्देशन दिएका छन्।
- उमेर हदका कारण १५ जना पदाधिकारी बाहिरिने हुँदा पनि सर्वसम्मतिमा अनेरास्ववियुको नेतृत्व चयन सजिलो देखिँदैन।
- एमालेले उमेर हदको निर्णय गरेकाले यी सचिवहरू सोझै अध्यक्ष पदका दाबेदार भएका छन्।
२३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुको नेतृत्व चयन सर्वसम्मतिबाट टुंग्याउन निर्देशन दिएका छन् ।
सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नेताहरू बोलाएर प्रधानमन्त्री ओलीले सर्वसम्मतिबाट नेतृत्व टुंग्याउन निर्देशन दिएका हुन् । अनेरास्ववियुको नेतृत्व टुंग्याउन एमालेले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको नेतृत्वमा सात सदस्यीय टीम बनाएको छ ।
जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज ढकाल नेतृत्वको यो टीममा अखिलका पूर्वअध्यक्षहरू माधव ढुंगेल, किशोरविक्रम मल्ल, नविना लामा, ऐन महर, सुनिता बराल र अध्यक्ष समिक बडाल छन् ।
यी सात जना र अनेरास्ववियुका पदाधिकारीहरू बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले सर्वसम्मतिको निर्देशन दिएका हुन् । ‘कसरी हुन्छ सर्वसम्मतिले नेतृत्व टुंग्याउनुस् भन्नुभएको छ’, त्यो छलफलमा सहभागी एक नेता भन्छन् । तर कसको नाममा सर्वसम्मति गर्ने चाहिँ ओलीले भनेनन् । ‘सर्वसम्मति गर्नुस् त भन्नुभयो, तर कसलाई बनाउने चाहिँ भन्नुभएको छैन’, ती नेता भन्छन् ।
नेताहरूका अनुसार प्रधानमन्त्री ओलीको निर्देशनले अनेरास्ववियुमा थप अन्योल देखिएको छ । ‘पार्टीकै अध्यक्ष एवं प्रधानमन्त्रीले सर्वसम्मति गर्नुस् भनेपछि महाधिवेशनलाई लोकतान्त्रिक प्रक्रियामा जान नदिइन सक्छ’ अनेरास्ववियुका एक पदाधिकारी भन्छन्, ‘अब आकांक्षीहरूले प्रतिनिधिलाई मनाउनतिर लाग्ने कि नेताहरूलाई खुसी पार्न दौडने ?’
पर्सि (२५–२८ जेठसम्म) कीर्तिपुरमा उद्घाटन हुने अनेरास्ववियुको २४औं महाधिवेशनलाई यसअघि नै एमालेले हस्तक्षेप गरिसकेको छ । गत ११ जेठमा बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गर्यो । त्यो निर्णयले सचिवभन्दा माथिका १५ जना पदाधिकारी नेतृत्व तह पंक्तिबाट बाहिरिनु पर्यो ।
उमेर हद लगाउने निर्णयकै कारण हालका उपाध्यक्षहरू नारायण घर्ती, धर्म गिरी, मर्यादा विष्ट र गोविन्द गिरीले अखिल छोड्नु पर्यो । अध्यक्ष पदको दाबीसहित देश दौडाहा गरिरहेका महासचिव नरेश रोकाया संगठनबाट बाहिरिनु परेको छ । उमेर हदकै कारणले सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी, विनिता काफ्ले लगायतले अखिलको संगठन छोड्नु परेको छ ।
महाधिवेशनकै मुखमा उमेर हद लगाउने पार्टी निर्णय हुँदा अखिलभित्र ठूलै असन्तुष्टि छ । ‘मूल पार्टी एमालेमै ७० वर्षे उमेर हद हाम्रा नेताहरूले मानेरै आउनु भएको छ, हामीले उमेर हदको निर्णय नमान्ने कुरै छैन । तर प्रक्रिया ठीक भएन’ उमेर हदको निर्णयप्रति असन्तुष्ट ती पदाधिकारी भन्छन्, ‘महाधिवेशन आउन १०/१५ दिन बाँकी हुँदा गरिएको निर्णयले धेरैलाई खल्लो बनायो । महाधिवेशन उत्सव जस्तो बन्न सकेन ।’
अनेरास्ववियुको कमिटीबाटै उमेर हदको निर्णय गरिँदा अहिले जस्तो निराशा नआउने अनुमान गर्छन्, उनी । ‘अहिले परिस्थिति कस्तो बन्यो भने अध्यक्ष हुने भनेर दौडिएकाहरू पूर्व नेता हुनुपर्ने भयो, चाहनै नराखेकाहरूले नयाँ आकांक्षा राख्नुपर्ने भयो’ ती पदाधिकारी भन्छन्, ‘यसले संगठनलाई उत्साहित बनाएन । अस्ति गणतन्त्र दिवसकै दिन पनि अनेरास्ववियुको परिचालन राम्रो हुन सकेन ।’
पार्टी निर्णयमा असन्तुष्टि र फरक मत देखिएपछि महासचिव शंकर पोखरेलले विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ललाई पत्र लेखेरै उमेर हदको निर्णय सार्वजनिक गर्नु परेको थियो ।
‘यस सन्दर्भमा ३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्था अनुरूप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने’ पत्रमा भनिएको छ, ‘यस सम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीहरूमा लागू हुने गरी विधानमा आवश्यक व्यवस्था मिलाउने ।’
बिहीबार राति बालुवाटारमा पनि प्रधानमन्त्री ओलीले उमेर हदबारे प्रष्ट हुन निर्देशन दिएका थिए । ‘कसैलाई रोक्नलाई यो निर्णय गरिएको होइन । विगतमा कुरै उठेकै थियोे’ अखिलका नेताहरूलाई ओलीले भने, ‘पार्टी सचिवालय बैठकमा पनि उमेर हदबारे कसैको विमति थिएन । नेताहरू बाहिर आएर राम्रो हुन खोजे ।’ उमेर हदको निर्णयमा अब दायाबायाँ नगर्न ओलीले निर्देशन दिएका छन् ।
शंकासहित दौडधुप
उमेर हदका कारण १५ जना पदाधिकारी बाहिरिने हुँदा पनि सर्वसम्मतिमा अनेरास्ववियुको नेतृत्व चयन सजिलो देखिँदैन । ३२ वर्ष ननाघेका सचिवहरू दीपक धामी, प्रकाश पौडेल, आरती भ्टटराई, अञ्जना सिवाकोटी र सुजन कडरियाले अध्यक्ष पदमा आकांक्षा राखेका छन् ।
यदि उमेर हदको निर्णय हुन्थेन भने यी सचिवहरू उपमहासचिव अथवा महासचिव पदका स्वभाविक उम्मेदवार हुने थिए । एमालेले उमेर हदको निर्णय गरेकाले यी सचिवहरू सोझै अध्यक्ष पदका दाबेदार भएका छन् ।
तर दाबेदारको हैसियत बनाए पनि उनीहरू चर्को अलमलमा देखिएका छन् । ‘महाधिवेशन आइसक्यो, कसरी अगाडि बढ्ने भन्ने प्रष्ट छैन’ अध्यक्ष पदका एक आकांक्षी भन्छन्, ‘पार्टीले लोकतान्त्रिक प्रक्रियाका लागि हस्तक्षेप नगर्ने पक्का हुने हो भने ढुक्कले मैदानमा लाग्नु हुन्थ्यो ।’
यसको अर्थ एमालेका अरू जनसंगठनहरूले खेपिरहेको समस्या अनेरास्ववियुमा पनि परेको छ । अध्यक्ष पदका लागि मात्र नभएर अरू पदका आकांक्षीमा पनि चर्को अलमल छ । महासचिव पदका स्वभाविक दाबेदार रहेका स्थायी कमिटी सदस्यहरू आरके रोमश, सुनिल कँडेल, आकाश घर्ती लगायतले ढुक्कसँग तयारी गर्न पाइरहेका छैनन् । यद्यपि पार्टी नेताहरूलाई भेट्नेदेखि प्रतिनिधिहरूसँग सम्वादको दौडधुपमा विद्यार्थी नेताहरू छन् ।
अखिललाई झस्काउने नजीर
भर्खरै सम्पन्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं महाधिवेशनले पनि अनेरास्ववियुका नेताहरूलाई बढी झस्काएको देखिन्छ । एमाले निकट स्वास्थ्यकर्मीहरूको यो संगठनको नेतृत्व चयन जसरी भयो, त्यसले लोकतान्त्रिक प्रणालीकै मजाक गरेको छ ।
यो महाधिवेशनबाट महासंघका अध्यक्ष घोषित सन्तोष पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर नयाँ नेतृत्व घोषणा हुँदा पौडेलले चाहना नै नराखेको पद प्राप्त भयो ।
अनि अध्यक्ष पदमा उम्मेदवारी दिएका रामहरी ढकाल उपाध्यक्ष बनाइए । अध्यक्ष पदकै अर्का उम्मेदवार भीमराज सिंह महासचिव भए । महासचिव पदमा उम्मेदवारी दिएका अमृता बराललाई महिला उपाध्यक्ष बनाइयो । अर्थात् अध्यक्ष पछिको कार्यकारी महासचिव पदमा उम्मेदवारी दिएकी बराल महिला कोटाको उपाध्यक्षमा धकेलिइन् ।
महासंघको अध्यक्ष पदमा रामहरी ढकाल, भीमराज सिंह सहित निवर्तमान अध्यक्ष झलक गौतम, जगत नेपाली र त्रिलोकचन्द्र गुरुङले उम्मेदवारी दिएका थिए । तर पदाधिकारीमा दाबी गर्नेहरूले सोही पद पाएनन् । उपमहासचिव दाबी गरेका खगराज पोखरेलले मात्र भनेकै पद पाए ।
पदाधिकारी संख्या घटाएर ९ जनामा झारिएकाले आकांक्षा राख्ने धेरै जनाले पद पाउने अवस्था थिएन । तर पार्टी नेतृत्वको हवाला दिएर दाबी नै नगरिएको पदहरूमा नेता चयन गरेर महाधिवेशन सकियो ।
एमालेका अरू जनसंगठनहरूको नेतृत्व चयन प्रक्रियाको हालत पनि स्वास्थ्यकर्मी महासंघकै जस्तो छ ।
प्रतिक्रिया 4