News Summary
Generated by OK AI. Editorially reviewed.- ओमानका क्रिकेट खेलाडीहरूले विश्वकप पुरस्कार रकम नपाएको र देश छोड्न बाध्य भएको बताएका छन्।
- आईसीसीले रकम दिएको पुष्टि गरे पनि खेलाडीहरूलाई पैसा अझै प्राप्त भएको छैन।
- खेलाडी संघको अभाव र सदस्य राष्ट्रहरूको कारबाहीको अभावले समस्या समाधान हुन सकेको छैन।
२४ जेठ, काठमाडौं । एक वर्षअघि अमेरिका र क्यारेबियामा भएको पुरुष टी–२० विश्वकपमा सहभागिता जनाएका ओमानका अधिकांश क्रिकेट खेलाडी अहिले टिममा छैनन् । ओमान क्रिकेट बोर्डको बेइमानीका कारण उनीहरू क्रिकेट मात्र होइन देश नै छाड्नुपर्ने अवस्थामा पुगेको खेलाडीहरूले जनाएका छन् ।
विश्वकपमा सहभागी भएबापतको पुरस्कार रकम उनीहरूले पाएका थिएनन् । ओमान क्रिकेट बोर्डले खेलाडीलाई दिइनुपर्ने २ लाख २५ हजार अमेरिकी डलर नदिएपछि त्यसबारे आवाज उठाउँदा खेलाडीहरूको करियर नै समाप्तजस्तै भएको छ ।
ओमानका शीर्षक्रमका ब्याटर कश्यप प्रजापति जो अहिले अमेरिकामा छन्, उनले भने, ‘हामीले विश्वकप खेलेर देशको प्रतिनिधित्व गर्यौं, तर अहिले हाम्रो करियर नै सकिएको छ। सम्झौता तोडियो, देशै छाड्न बाध्य बनाइयो।’
सन् २०२४ को टी–२० विश्वकपमा १३औंदेखि २०औं स्थानमा पर्ने टिमहरूलाई आईसीसीले २ लाख २५ हजार डलर पुरस्कार दिने घोषणा गरेको थियो। नियमअनुसार, प्रतियोगिता सकिएको २१ दिनभित्र उक्त राशी खेलाडीहरूलाई दिइनुपर्ने हो। आईसीसीले ओमान क्रिकेटलाई पैसा दिएको पुष्टि गरिसकेको छ, तर खेलाडीहरूलाई रकम अहिलेसम्म पनि दिइएको छैन।
प्रजापतिका अनुसार २०२१ मा पनि सहयोजकका रूपमा टी-२० विश्वकप खेलेका उनीहरूले त्यसबेला पनि थाहा नपाएकाले कुनै पुरस्कार पाएनन् । यसपटक भने मिडियामार्फत थाहा पाएपछि रकम माग्न थालेका थिए। पहिलोपटक क्यानडामा भएको त्रिकोणात्मक सिरिजमा, दोस्रोपटक ओमानमै भएको टी–२० इमर्जिङ एशिया कपअघि खेलाडीहरूले पैसा मागेका थिए।
त्यसपछि जब खेलाडीहरूले एकजुट भएर खेल्न अस्वीकार गर्ने चेतावनी दिए, ओमान क्रिकेटले उनीहरूलाई प्रतिस्थापन गर्दै नयाँ टोली मैदानमा उतारेको थियो। टिमको नामावली हेर्दा अघिल्लो प्रतियोगिता खेलेका अधिकांश खेलाडी टोलीबाट हटाइएको देखिन्छ।
ओमानजस्तो खाडी मुलुका कामसँगै बसोबासको अनुमति जोडिएको हुन्छ। खेलाडीहरूको सम्झौता र रोजगारी रद्द गरिएपछि उनीहरू देश नै छाड्न बाध्य भएका हुन् ।
टोलीमा लामो समयदेखि खेल्दै आएका पूर्वकप्तान जीशान मकसूद र आकिब इलियाससँगै आयान खान, बिलाल खान, शोएब खान, कश्यप प्रजापति, फैयाज बट कालिमुल्लाहलगायतका खेलाडीहरू टोलीबाट निकालिएका थिए ।
अर्का खेलाडी फैयाज बटले भने, ‘मेरो करियर खत्तम भयो। म अहिले बेरोजगार छु, ओमान छाड्नुपर्यो।’
ओमानमा खेलाडी संघ नभएको कारण उनीहरूले आफ्नो आवाज उठाउन गाह्रो भएको बताए। नेपाली र क्यानडाली खेलाडीहरूको सुझावपछि मात्र उनीहरूले वर्ल्ड क्रिकेटर्स एसोसिएसन (डब्लुसीए)मा सम्पर्क गरेका थिए। आईसीसीले केही पहल गरे पनि सदस्य राष्ट्रहरूलाई कारबाही गर्ने ठोस संयन्त्र नभएकोले समस्या समाधान हुन नसकेको डब्लुसीए बताउँछ।
डब्लुसीएका प्रमुख टम मोफाट भन्छन्, ‘खेलाडीहरूले आफ्नो जायज हक माग्दा दबाब र दण्डको डर हुनुपर्ने होइन। यस्तो व्यवहारले विश्व क्रिकेटको छवि धूमिल बनाउँछ।’
-क्रिकइन्फोले खेलाडीहरूसँग कुराकानी गरेर तयार पारेको समाचार सामाग्रीबाट साभार
प्रतिक्रिया 4