+

यू–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

२०८२ जेठ  २३ गते २०:१० २०८२ जेठ २३ गते २०:१०
यू–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यू–१४ राष्ट्रिय विद्यालय खेलकुद काठमाडौंमा हुनेछ।
  • प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडी सहभागी हुनेछन् र ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
  • प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, बास्केटबल, रग्बी, ब्याडमिन्टन र क्रिकेट खेलिनेछन्।

२३ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यू–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद आयोजना गरिएको हो ।

प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी गराए । जिल्ला/प्रदेश छनोट चरण पार गरी राष्ट्रिय खेलकुदमा ४ सय ७६ खेलाडी सहभागी हुन लागेका हुन् ।

प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र/छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र/छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र/छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र/छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ ।

नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बूढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ । क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ ।

सदस्य–सचिव घिसिङले खेलकुदको जग ग्रासरुट भन्ने धेरै सुनिएपनि व्यहारमा त्यत्ति लागू नभएको हुँदा राखेपले जुनियर प्रतियोगिताको अवधारणालाई अघि सारेको बताए । उनले प्रतियोगितालाई साथ दिने नेपालय, एक्सपर्ट, प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, नेपाल विद्यालय खेलकुद महासंघ, सम्बन्धित खेलका राष्ट्रिय संघलगायत सम्पूर्ण प्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।

एक्सपर्टका खेम संग्रौलाले खेलकुद मानिसलाई अनुशासित र स्वास्थ बनाउने महत्वपूर्ण क्षेत्र भएको बताउदै एक्सपर्ट विगत लामा समयदेखि खेलकुदसँग जोडिएको बताए ।

नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले पब्लिक–प्राइभेट पार्टनरसिपअन्तर्गत जुनियर प्रतियोगिताका लागि राखेपसंग सहकार्य गरेको बताए ।

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले राखेप, प्याब्सन, एनप्याब्सन र शिक्षक महासंघसंग सहकार्य गरी जुनियर प्रतियोगिताको विकासका लागि सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिकी सदस्य एवं प्रतियोगिता संयोजक रञ्जना प्रधान, प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, एन प्याब्सनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

यू–१४ राष्ट्रिय विद्यालय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय