
सुदूरपश्चिमको पर्यटकीय गन्तव्य दार्चुलाको अपि हिमाल बेसक्याम्पको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘अपि काव्ययात्रा’का लागि जेठ १२ गते हाम्रो टोली सुदूरपश्चिचमको यात्रामा निस्कियो ।
कवि तथा पत्रकार अभय श्रेष्ठको नेतृत्वको टोलीमा प्रभा बराल, कुमारी लामा, लक्ष्मी रुम्बा, सागर उदास, दिपेन्द्रसिंह थापा, घनश्याम खड्का, अनुपम रोषी, बल्कुराम पुन, घनश्याम पौडेल, शान्ति तामाङ अनि स्थानीय कवि, लेखक र पत्रकार थिए ।
गोकुलेश्वर बास बस्न पुग्ने लक्ष्यका साथ हाम्रो समूह काठमाडौंबाट हवाईमार्ग हुँदै कैलालीको धनगढी विमानस्थल र धनगढीबाट जिप चढेर दार्चुलाको गोकुलेश्वर पुग्ने लक्ष्यका साथ गुडिरहेको थियो । डडेल्धुरामा सुदूरपश्चिमकै ठूलो शक्तिपीठ उग्रतारा मन्दिर दर्शन गरेर गोकुलेश्वर पुग्दा राति ११ बजेको थियो ।
१३ गते मंगलबार गोकुलेश्वरमा चिया नास्ता गरेर हाम्रो समूह अपी हिमाल गाउँपालिका ५ मकरीगाड तर्फ लाग्यो । चौलानी नदी पछ्याउँदै, चमेलिया हाइड्रोपावर र यसको ड्याम हेर्दै हामी मकरीगाड पुग्यौँ । हाम्रो जिपको यात्रा यहीँसम्म थियो ।
गाईको घ्यु, पुदिना र भाङको अचारसहित दालभात खाएपछि हाम्रो पदयात्रा सुरु भयो । मकरीगाडबाट उकालो सिंढी (करिब आठ हजार) चढेर मकरीकोट पुग्दा हाम्रा साथीहरु थकित देखिन्थे । जेठको घाममा हिँड्दा जोकोहीलाई पनि गाह्रै हुन्छ ।
मकरीकोट पुगेपछि पारीपट्टी खण्डेश्वरी र नौपाटा होमस्टे देखियो । बास बस्ने स्थान नजिकै देखेपछि चार पाँच घण्टाको उकालो यात्राको थकाइ कम भएको महसुस भयो ।
नौपाटा होमस्टेमा हामीहरूलाई अपी गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरासहितका जनप्रतिनिधि, कर्मचारी र होमस्टे सन्चालकहरुले स्वागत गरेका थिए ।
स्थानीय ढाँको बाजा बजाउँदै, मल्देशी पहिरनमा सजिएकाहरुको आतिथ्य र स्वागतले हामीलाई मोहित बनाएको थियो ।
ढाँको बाजा सुर्मा भवानी मान्ने समुदायको बाजा रहेछ । यस होमस्टेको बसाइँमा हामीले घट्टमा पिँधेको सेतो मकैको रोटी, दही, दूध, मही र स्थानीय आलुको परिकार खाएका थियौं । यस ठाउँको मुख्य उत्पादन गहुँ, चिनो, जौं, मकै, आलु र सिमी रहेछ ।
नौपाटा होमस्टेमा स्वागत गर्दै पालिका अध्यक्ष बोहोराले गत वर्ष करिब पाँच हजार आन्तरिक तथा बाह्य पर्यटकले अपी बेस क्याम्प र यहाँको अन्य पर्यटकीय स्थल भ्रमण गरेको जानकारी गराए ।
सुदूरपश्चिममा पहिले खप्तड, बढीमालिका जाने पर्यटक अहिले अपीसम्म आउने रहेछन् । ती पर्यटकको सत्कारमा गाउँपालिका भित्र हाल पाँचवटा होमस्टे सञ्चालनमा रहेछन् । धौलीओडार र बेस क्याम्पमा होटल बनाएर पालिकाले भाडामा लगाएको पनि रहेछ ।
पर्यटकको चाप बढेकाले होमस्टे थप्ने तयारी पनि भइरहेको गाउँपालिका अध्यक्ष बोहोराले बताए । त्यसका लागि स्थानीय केही युवालाई टुरिष्ट गाइडको र होमस्टे सञ्चालकहरुलाई पाककलाको तालिम दिने तयारी रहेछ । यस ठाउँमा १५ घर होमस्टेमा सामेल भएका रहेछन् ।
हेल्थ टुरिजमको उद्देश्य लिएर स्थानीयको निशुल्क स्वास्थ्य जाँचका लागि चिकित्सकहरुलाई बोलाउने र बेस क्याम्पसम्म सित्तैमा भ्रमण गराउने नीति पनि पालिकाले लिएको रहेछ ।
पर्यटकको खानामा सकेसम्म फापर, कोदो, चिनो, गहुँ, मार्सी, आलु, सिमी, केराउ जस्ता स्थानीय उत्पादन प्रयोग गर्ने, परिकार मिठो बनाउन होमस्टे सञ्चालकलाई कुकको तालिम दिने नीति गाउँपालिकाको रहेछ ।
अध्यक्षले भनेअनुसार यस ठाउँलाई धार्मिक र जडीबुटी पाइने स्थानको रुपमा ब्राण्डिङ गर्ने योजना पनि रहेछ ।
चौलानी नदीको मुहान अपी हिमालको फेदमा चट्टानबाट निस्केको मुहान हो । त्यहाँ शिव मन्दिर छ । यो पबित्र स्थल हो । सुर्मा सरोवर, कपिल ऋषिले तपस्था गरेको कपिल हिमाल, धर्म गुफा, नाग नागिन मन्दिर, मस्टो मन्दिर, काली ढुङ्गा ताल, रिङ्दे पोखरी, लगायतका स्थान धार्मिक तथा आध्यात्मिक केन्द्र बन्ने सम्भावना छ ।
साथै स्थानीय जंगलमा पाइने रातो च्याउ, पाँचऔले, डुकु, गनना, सिलाजित, यार्सा गुम्बा, जटामसी लगायतका जडिबुटीलाई पर्यटन उद्योगसँग जोड्न सकिने सम्भावना छ । साथै भिर मौरीको मह काट्दा पनि पर्यटकलाई निम्ता दिने सोच पालिकाको रहेछ ।
१४ गते बुधबार बिहान नौपाटाबाट ओरालो लाग्दै हामी धनबोहरा पुग्यौँ । त्यहाँ पुगेर डुकु, गनना र सिलाजित राखेर पकाएको चिया पियौँ । धनबोहराबाट चौलानी नदीको किनारै किनार हिँड्दा भिर मौरीका ठूला घारहरु देखिन्थ्यो ।
धनबोहराबाट घुसा जाने उकालो उक्लदा टन्टलापुर घाम लागेको थियो । छेउबाट तल चौलानी नदी हेर्दा आङ नै सिरिङ्ग हुन्थ्यो । टाढा टाढा क्षितिज हेर्दै हामीले नाला (२४३० मिटर) मा पुगेर खाना खायौं । हिँडाइको थकानले पनि होला त्यहाँको दाल, भात तरकारी, अचार, दही र मोही अत्यन्तै मिठो भयो ।
नालाबाट सिती होमस्टे पुग्न हामीलाई तीन घण्टा लागेको थियो । हल्का उकालो, हल्का ओरालो, तेर्सैतेर्सै बाटो रहेछ यो । निगालो, जंगली गुलाफ, पारिपट्टीका डाँडाहरु, निकै तल चौलानी नदी हेर्दै यात्रा गर्दा थकाइ बिर्सदै थियौँ । खुलेको मौसम, जताततै हरियाली, स्वच्छ हावा भएको ठाउँमा पदयात्रा गर्दा आनन्द अनुभव भयो ।
हामी समयमै सिती होमस्टे (२२८४ मिटर) पुग्यौँ । नुवाइधुवाई सकेर आराम गर्यौं । सिती गाउँका प्राय मानिस किरा(यार्सा गुम्बा) खोज्न लेक गएका रहेछन् ।
हामी बसेको घरमा एसईई परीक्षा दिएर बसेकी ममीरा जागरी मात्र थिइन् । उनले सानिमाकी छोरी साथी बोलाएर मिठो खाना पकाएर खुवाइन् । हामी बसेको होमस्टेकी बहिनी ममिराले पर्यटकलाई खाना खुवाउँदा रमाइलो लाग्ने बताइन् ।
चट्याङ् सहित साँझ परेको हल्का वर्षाले जाडो अनुभव भएपछि हामीले भान्सामा आगो तापेर शरीरलाई न्यानो बनायौं । यही बीचमा बेलाबेला कविता र मुक्तक सुनाएर साथीहरुले साँझलाई अविष्मरणीय बनाइरहेका थिए ।
१५ गते बिहीबार बिहान ५ बजे नै हामीहरु सितीबाट ओरालो झर्दै खायाकोट (२०५० मिटर) पुगेर बिहानको नास्ता खायौं र सिमारमा खाना खान पुग्ने लक्ष्यका साथ अघि बढ्यौ । सिमसिमे पानीले यात्रा रोमान्चक बनेको थियो । कहिले उकालो, कहिले ओरालो, चौलानीको किनारै किनार हावाको हल्का लप्का र सिरेटोले जाडो महसुस भैरहेको थियो ।
चराको चिरबिर, चौलानी नदीको सुसाई, घना जंगलबीचको यात्राको आनन्द शब्दमा वर्णन गर्न नसकिने खालको थियो । छिरछिरे (२५०० मिटर)मा स्थानीय चिया र ताजा च्याउको तरकारी खाएर एकछिन बिश्राम गर्यौँ ।
छिरछिरेबाट सिमार (२९०० मिटर) पुगेर हामीले खाना खायौं । स्थानी देवसिंह जागरीको होटलमा लेकाली आलुको तरकारी र स्थानीय गाईको घ्युसँगको खानाको स्वाद निकै स्वादिलो थियो ।
खाना खाएर सिमारबाट केहीबेर हिँडेपछि बौरानी हिमाल देखियो । बाटोमा ठुलाठूला बृक्ष ढलेका, त्यहीँ साना लेकाली गुराँस उम्रिएर फूलेका थिए । दमोल (२९३२ मिटर) मा काठको पुलबाट नदी तर्दा, त्यहाँको घना जंगल र हजारौँ वर्ष पुराना रुखहरू हेर्दै हिँड्दा मलाई बाल्यकालमा हजुरआमाले सुनाएको कथाको याद आयो । उहाँले घना जंगलमा हिंस्रक जनावर र गोठालोको कथा सुनाउँदा म डराउँथे । त्यस्तै डरलाग्दो घना जंगल पार गरेपछि हामी समथर पाटन पुगेका थियौँ ।
भल्लेखोला (३४४२ मिटर) को पाटनमा यार्सा खोज्ने स्थानीयहरुको चहलपहल थियो । भेँडा र खच्चड चरिरहेका थिए । एउटा अनुपम स्थान, स्थिर, शान्त र बिशाल पाटन थियो त्यो । यस्ता दृश्यले यात्राको थकान मेटाउने मात्र हैन शरीरमा उर्जा पनि थपिदिन्थ्यो ।
खुलेको निलो आकाश, क्षितिज हेर्दै धौलीओडार (३४४० मिटर) पुगेपछि हाम्रो बास बस्ने स्थान आइपुगेको थियो । यहाँको ग्रीन हाउस होटलमा झोला राखेर हामीहरुले तातो पानी र स्थानीय चिया पियौँ । नजिकैको भवैया ताल गयौं ।
तालमा नजिकैको हिमालको प्रतिबिम्बको तश्विर कैद गरिरहेका बेला यार्सा संकलन गरेर फर्किएका एक व्यक्तिले मलाई तिमी कताबाट आयौँ भनेर सोधे । मैले काठमाडौँबाट आएको भनेर जवाफ दिएँ । उनीहरुले तिमीलाई हाम्रो ठाउँ कस्तो लाग्यो भनी प्रश्न गरे । मैले धेरै राम्रो भनेँ । उनीहरु हाम्रो ठाउँमा अरु पनि पाहुना पठाउ है भन्दै आफ्नो बस्ने स्थानतिर लम्किए ।
धौलीओडारमा त्यस रात हामीले डेउडा नाच पनि हेर्ने अवसर पायौँ ।
१६ गते शुक्रबार बिहान ५ बजे नै उठेर हामी बस क्याम्प तिर उकालो लाग्यौं । करिब डेड घण्टामा हामी बेस क्याम्प पुग्दा घाम उदाइसकेको थियो । स्थानीयहरु खाजा, नास्ता, खाना बोकेर लेकतिर लम्कदै थिए ।
बेस क्याम्पमा पुगेर हाम्रा साथीहरुको अनुहार अपी हिमाल जस्तै टल्किरहेको थियो । सबैजना विजयको भावमा मुस्कुराइरहेका थिए ।
चिया खाजा पछि अपी गाउँपालिकाले आयोजना गरेको योग ध्यान शिविर, काठमाडौँबाट गएका कवि तथा पत्रकारहरुको कविता, यात्रा अनुभव सुन्यौं । भलाकुसारी गर्यौं । दिनभर बेस क्याम्प वरिपरि चहारेर हामी साँझ धौलीओडार फर्कियौं । त्यस साँझ हामीले यात्राको समीक्षा गर्दै सकेसम्म, मिलेसम्म फेरि अपी आउने बाचा गर्यौं । खाना खाएपछि डेउडासँगै सामूहिक नाचगान गर्यौं । गाउँपालिकाको व्यवस्थापनमा अपी हिमाल बेस क्याम्पमा ‘अपी काव्ययात्रा–२०८२’ सम्पन्न गर्यौं ।
प्रतिक्रिया 4