+
+
Shares

चुपचाप अस्पतालको शय्या कुरिरहेका मोहन वैद्य 

लामो समयदेखि दमले थलिएका कम्युनिष्ट नेता मोहन वैद्य किरण सिकिस्त भएको  खबर उनको पार्टीले १० दिनसम्म सार्वजनिक गरेन।

बिनु सुवेदी बिनु सुवेदी
२०८२ जेठ २६ गते २१:५०

२६ जेठ, काठमाडौं। हिन्दीमा एउटा कहावत छ: वक्त वक्तकी बात। यो उक्ति मोहन वैद्य किरणका हकमा अझ राम्रोसँग लागू हुन्छ। यी जोदाहा कम्युनिष्ट योद्धा कुनै बेला आफ्नो ज्यान हत्केलामा राखेर रणमैदानमा उत्रिएका थिए। अचेल ज्यान आईसीयूमा राखेर जीवन पर्खिरहेका छन्।

राज्यसत्ता नै पल्टाउँछु भनेर पाँच दशकदेखि अनवरत निष्ठा र सिद्धान्तको राजनीतिमा डुबुल्की मारिरहेका नेता वैद्य ११ दिनदेखि अस्पतालको शय्यामा पल्टिरहेका छन्। उनैलाई आदर्श मानेर राजनीतिमा बामे सरेकाहरूलाई अत्तोपत्तो छैन ।

घरपरिवारका सदस्य र पार्टीका एकाध नेताहरू बाहेक उतिविघ्न मान्छे भेट्न पनि जाँदैनन्।  निकै समयदेखि दमको विमारले थलिएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण सिकिस्त बिरामी भएको कुरा उनको पार्टीले १० दिनसम्म सार्वजनिक गरेन।

शनिवारसम्म पनि उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि पार्टीले नै विज्ञप्ति निकालेर वैद्य जेठ १५ गतेदेखि अस्पतालमा उपचाररत रहेको जानकारी दियो। वैद्य समकालीन चल्तीको राजनीतिमा हुन्थे भने उनी बिरामी भएको कुरा लुकाउन चाहेर पनि लुक्दैनथ्यो।

तर अझै क्रान्ति सफल भइसकेको छैन र निमुखाको हातमा शासन सत्ता नआई क्रान्ति सफल हुँदैन भन्ने विचारधाराका कारण नै किनारामा परेका वैद्य अस्पतालमा छट्पटाउँदा समेत उनकै आधार र बलमा राजनीति गरिरहेकाहरू बेखबर जस्तै बने।

‘बिरामी भइरहने भएकाले हामीले नै शुरूमा कसैलाई भनेका थिएनौं, त्यसैले अस्पताल सुनसान पनि थियो’ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य इन्द्रमोहन सिग्देलले भने, ‘तर १० दिनसम्म पनि निको नभएपछि जानकारी गराउनुपर्छ भन्ने लागेरै विज्ञप्ति निकालेका हौं।’

बिरामी भए पनि पार्टीको नेतृत्व र राजनीतिबाट भने विमुख हुन नचाहने वैद्य २०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिवमा निर्वाचित भएका हुन्।

वैद्यकै शब्दमा आफूले जारी राखेको क्रान्तिको कार्यभार पूरा नहुँदै उनी शिथिल बनेका छन्। त्रिवि शिक्षण अस्पतालको आईसीयूमा बसेर स्वस्थ जीवन पर्खिरहेका छन्

नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र नेकपा मशालको एकता महाधिवेशनले उनलाई महासचिव बनाएको थियो।

महासचिव बनेलगत्तै बिमारले च्यापेपछि उनी गत पुसदेखि नै पार्टी राजनीतिमा सक्रिय छैनन्।

पार्टीका दैनन्दिन काम गर्न नसक्ने भएपछि उनले आफ्ना पुराना सहयात्री सीपी गजुरेललाई पार्टीको कार्यवाहक महासचिवको जिम्मा दिए। वैद्य स्वयंको जिन्दगी भने आधाजसो अस्पताल र आधाजसो घरमा आराम गरेर बितिरहेको छ।

उनी बिरामी भएपछि उनले हाँकिरहेको पार्टी पनि बिरामी जस्तै छ। पार्टी नेताहरूमध्ये केही अस्पताल र केही ललितपुरको कुपण्डोलस्थित पार्टी कार्यालयमा बाँडिएका छन्।

७८ वर्षीय वैद्य गम्भीर बिरामी भएपछि उनले नेपालको कम्युनिष्ट आन्दोलनमा बिताएको समय र कोरेको गोरेटो बारे उनका हितैषीहरू समीक्षा गरिरहेका छन्।

२०३१ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनबाट कम्युनिष्ट राजनीतिमा जोडिएपछि उनी कहिल्यै पछि फर्किएनन्। तर कम्युनिष्टहरूको फुटमा संलग्न हुने ‘नेताहरू’ को लाइनमा वैद्य पनि अग्रपंक्तिमा आउँछन्। कुरो यत्ति हो, जुन नाम या आकारका भए पनि कम्युनिष्ट भने उनी कम्युनिष्ट नै रहे।

वैद्य कम्युनिष्ट राजनीतिमा समाहित भएको १० वर्ष नपुग्दै टुटफुटको राजनीतिमा संलग्न भइसकेका थिए। २०४० सालमा नेकपा चौमबाट फुटेर उनी मोहनविक्रम सिंहहरूसँगै नेकपा मशालमा गए। उक्त पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल सहितका नेताहरू थिए। तर यो पार्टी पनि लामो समय एउटै भने रहेन।

२०४२ सालमा नेकपा मशाल पनि फुट्यो। मोहनविक्रम सिंहहरू पातलो मसाल र मोहन वैद्य किरणहरू मोटो मशालमा आबद्ध भए। २०४२ सालदेखि नै यो पार्टीले युद्धको खाका भने कोरिरहेको थियो। २०४६ सालमा बहुदल आयो। त्योभन्दा केही अघि नेकपा मशालका महासचिव मोहन वैद्यले प्रचण्डलाई नेतृत्व सुम्पिए।

प्रचण्ड त्यसयता पार्टी  नेतृत्वमा अविच्छिन्न छन्। भलै पार्टीका नामहरू भने बदलिइरहेका छन्। २०४६ को जनआन्दोलन पनि असफल भएको भन्दै सबै भूमिगत कम्युनिष्ट पार्टीहरूले २०४८ सालमा चितवनको माडीमा एकताको महाधिवेशन गरे र पार्टीको नाम एकता केन्द्र राखे। त्यही महाधिवेशनबाट युद्धको लाइन पारित भएको थियो। १० वर्षीय युद्धभरि प्रचण्ड नेकपा माओवादीको सुप्रिमो भइरहे। तर पार्टीलाई वैचारिक दिशा दिनेमा भने वैद्य सधैं अग्रपंक्तिमै हुन्थे।

त्यसबेला पार्टीको विचार राजनीतिमा लाइन दिने वैद्य, सैन्य  र संगठनमा लाइन दिने रामबहादुर थापा बादल र टाकनटुकन मिलाउने प्रचण्ड थिए। बाबुराम भट्टराई भने माओवादीका देखाउने अनुहार थिए।

शान्ति प्रक्रियामा आइसकेपछि भने प्रचण्ड र बाबुराम भट्टराई एकातिर मोहन वैद्य किरण अर्कातिर हुने परिस्थिति बन्यो। खासमा वैद्य प्रचण्डहरूसँग २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएदेखि नै खुसी थिएनन्।

उनी सत्ता कब्जा नगरेसम्म क्रान्ति सफल हुन्न भन्ने लाइनमा आजसम्म छन्। उतिखेरै पनि वैद्यको विचार यही नै थियो। त्यस्तोमा माओवादी संसद् छिरेकोमा वैद्यलाई निको लागेको थिएन। त्यसैले ५१ वर्ष सक्रिय राजनीतिमा रहँदा पनि उनी कहिल्यै निर्वाचनमा सहभागी भने भएनन्। बरू २०६४ सालको संविधानसभामा माओवादीले समानुपातिक सांसद बनाउँदा पनि उनी संसद् छिर्न चाहेनन्, राजीनामा नै दिए।

‘क्रान्तिकारी कम्युनिष्टहरूको बुझाइ क्रान्तिकारीहरूले आफ्नै सत्ता निर्माण नगरी आफ्नै कार्यक्रम लागू गर्न सक्दैनन्, यहाँ अलमलिनु गलत हो’ वैद्यले बारम्बार भन्दै आएका थिए, ‘अहिले संसद्मा छिर्दा क्रान्तिका लागि फाइदा हुन्छ कि हुँदैन हेरौं भन्दै आएको थिएँ। त्यो  व्यवहारमा पुष्टि पनि भयो। त्यता गएकाहरू कता पुग्नुभयो त देखियो पनि।’

उनी २०६४ को संविधानसभामा नगए पनि माओवादी पहिलो दल बनेर संसद् भवन छिर्‍यो। तर १० वर्षे सशस्त्र संघर्षपछि आएको एक्कासी ठूलो दल भएर संसद् छिर्दा माओवादीले आफ्नो शक्तिलाई सम्हाल्न सकेन। २०६५ मा बनेको प्रचण्ड नेतृत्वको शक्तिशाली सरकार वर्ष दिन पनि टिकेन। यसले विद्रोहको कार्यभार अझै पूरा भएको छैन भन्ने वैद्य र उनका समर्थकहरूलाई खुशी नै बनायो।

प्रचण्डको सरकार ढल्नु अघि नै २०६५ मंसिरमा भक्तपुरको खरिपाटीमा भएको भेलाले अचम्मको राजनीतिक कार्यदिशा पारित गर्‍यो। शान्ति प्रक्रिया सफल बनाउने र विद्रोह गर्ने लाइन एउटै भेलाबाट पारित हुँदा पार्टी नफुटे पनि कार्यकर्ताहरू विभाजित भए।

यही लाइनको सन्दर्भमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भनेका छन्- ‘पार्टी यहींबाट गलत बाटोमा गयो। कार्यकर्ताहरू कन्फ्युज भए। शान्ति मन पराउनेहरू शान्तितिर लागे। विद्रोह रूचाउनेहरू विद्रोहतिर लागे।’

विरोधाभाषको बीचमा माओवादीमा वैद्यहरूले आफ्नो उपस्थिति जनाइरहेका थिए। तर सुकुटे बैठकबाट भने प्रचण्डकसँग वैद्यको नाता टुट्यो। २०६७ को अन्तिममा सुकुटेमा भएको स्थायी कमिटी बैठकले क्रान्ति सम्पन्न भएको भन्दै अब शान्ति प्रक्रिया नै पूरा गर्ने र त्यसका लागि संविधान निर्माणमा ध्यान केन्द्रित गर्ने दस्तावेज पारित गर्‍यो। त्यसले वैद्यहरूलाई औपचारिक रूपमा माओवादीसँग छुट्ने बाटो तय भयो।

अब पार्टी क्रान्तिकारी रहेन र क्रान्तिको अपेक्षा पूरा हुन सक्दैन भन्ने निष्कर्ष निकालेर २०६९ मा माओवादीबाट वैद्य सहितको एउटा ठूलो समूह फुट्यो। बौद्धमा भेला गरेर उनीहरूले आफ्नो पार्टीलाई नेकपा ड्यास (-) माओवादी नामकरण गरे। त्यसबेला माओवादीको ठूलो हिस्सा वैद्यतिर लागेका थिए। तर यो पार्टीले गरिखाएन। शुरूमा विप्लवहरू फुटे। त्यसपछि बादलहरू आफ्नै मूल पार्टीमा फर्किए। अहिले त बादल एमाले भइसके।

वैद्यले भने यही फुटेको पार्टीलाई घिसिपिटी चलाइरहे। यही पार्टीले फेरि केही साना कम्युनिष्ट पार्टीहरू जोडेर गत मंसिरमा एकता महाधिवेशन गर्‍यो र मोहन वैद्य फेरि महासचिव भए। तर त्यसलगत्तै बिरामी भएपछि उनको समय पार्टी कार्यालय भन्दा धेरै अस्पतालमा बित्न थालेको छ।

वैद्यकै शब्दमा आफूले जारी राखेको क्रान्तिको कार्यभार पूरा नहुँदै उनी शिथिल बनेका छन्। त्रिवि शिक्षण अस्पतालको आईसीयूमा बसेर स्वस्थ जीवन पर्खिरहेका छन् ।

लेखक
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?