
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रेम चोपडा पाकिस्तानको लाहौरदेखि भारतको मुम्बई पुगेका थिए र बाल्यकाल शिमलामा बिताएका थिए।
- उनी पहिलो फिल्म 'चौधरी कर्णेल सिंह' बाट परिचित भए र महबूब खानले 'तिमीले खलनायकको राम्रो भूमिका गर्यौ' भनी बताएका थिए।
- उनले खलनायकको भूमिका निभाउँदै हिन्दी सिनेमामा शक्तिशाली खलनायकको रुपमा स्थापित भए र 'प्रेम नाम है मेरा' जस्ता संवादले परिचित भए।
भारतीय चलचित्र क्षेत्रको एक चर्चित नाम हो, प्रेम चोपडा । त्यहाँ यो नामलाई ‘खलनायक’को पर्यायवाची जस्तै मानिन्छ । तर कमैलाई थाहा छ कि उनी ‘हिरो’ बन्ने सपना बोकेर पाकिस्तानको लाहौरदेखि भारतको मुम्बई पुगेका थिए ।
राजनीतिक परिस्थितिका कारण यी दुई देश विभाजन हुनुअघि नै उनका परिवार भारत पसिसकेको थियो । त्यसले गर्दा भारतमा उनको बाल्यकाल सुखमै बित्यो। त्यसबेला उनीहरू हिमाञ्चल प्रदेशको राजधानी शिमलामा बस्ने गर्थे ।
उनी पढ्नमा माहिर थिए । सोही कारण उनका बुबाले उनलाई डाक्टर वा आईएएस बनाउने सोचेका थिए । तर उनी आफ्ना बुबाले भनेको बाटोतर्फ गएनन् । स्टेज ड्रामा र अभिनयप्रतिको मोहले उनी रङ्गमञ्चतर्फ तानिए ।
उनको यस्तो रुचि कलेजमा पढ्दाकै विकसित भइसकेको थियो । अनि स्टेजमा काम गरेर पुरस्कार समेत पाइसकेका थिए । त्यसैको भरमा आफूलाई एक पटक अवसर दिन उनले बुबालाई अनुरोध गरे। उनको कुरालाई बुबाले पनि नकारेनन्। ‘तेरो जीवन हो, गर्’ भनेर हौसला दिए ।
फिल्मी परिवारको सुरुवात
चोपडा परिवारमा फिल्मी क्षेत्रमा लाग्ने उनी पहिलो थिएनन् । त्यसअघि उनका दाइले निर्माताको रूपमा यस क्षेत्रमा पाइला राखेका थिए । भलै उनले सफलताको स्वाद भने चाख्न पाएनन् ।
यसरी यस क्षेत्रमा आएको चोपडाको पहिलो फिल्म ‘चौधरी कर्णेल सिंह’ बन्न पुग्यो । त्यो एक पञ्जाबी फिल्म थियो। त्यसको कथा भारत-पाकिस्तान विभाजन आसपासको थियो । करिब तीन वर्ष लगाएर बनाइएको सो फिल्म उनको मात्र सुरुआत बनेन, राष्ट्रिय पुरस्कार प्राप्त गरेर उनलाई प्रमाणित गर्ने माध्यम पनि बन्यो ।
यस फिल्मसँग उनको रोचक कहानी समेत छ । उनकै भनाइमा सो फिल्मको प्रिमियरको समय थियो । प्रमुख अतिथिका रूपमा ‘मदर इन्डिया’ जस्ता क्लासिक फिल्महरू बनाएका महबूब खान त्यहाँ आएका थिए । उनैले चोपडालाई ‘तिमीले खलनायकको राम्रो भूमिका गर्यौ। फिल्म पनि हिट भयो । अब तिमी जीवनभर खलनायक नै बन्नेछौ ।’ भनेर भनिदिए ।
कालान्तरमा खानको उक्त भविष्यवाणी सत्य साबित भयो ।
खलनायकको यात्रा
किनकि त्यस फिल्मपछि उनलाई खलनायकका भूमिकाहरूमा प्रस्तावहरू आउन थाले । अनि उनले ती भूमिकाहरूलाई यति राम्ररी निभाइदिए कि उनी हिन्दी सिनेमाका एक शक्तिशाली खलनायक बनेरै छाडे ।
उनको पहिलो हिन्दी फिल्म भने ‘हमराही’ (१९६३) हो ।
तर सुरुआती चरणमा यस क्षेत्रमा टिक्न उनले अर्को जागिर समेत गर्नु परेको थियो ।
सन् १९६० को दशकमा उनी ‘टाइम्स अफ इन्डिया’मा आबद्ध थिए । त्यहाँ उनले चार वर्षसम्म सर्कुलेशन विभागमा काम गरे। यता कामसँगै फिल्मको अडिशन अथवा शूटिङका लागि दौडनु उनको अर्को काम हुन्थ्यो ।
यसरी नै उनले ‘शहीद’, ‘वो कौन थी’, ‘मञ्जिल’ र ‘सगाई’ जस्ता फिल्म गरेका थिए ।
करियरको मोड
यही क्रममा काम गरेको मनोज कुमारको फिल्म ‘उपकार’ उनका लागि टर्निङ पोइन्ट बन्यो। यो फिल्मले यति ठूलो सफलता दिलायो कि हुँदा खाँदाको जागिर नै उनले छोडिदिए ।
फिल्ममा उनको भूमिका खलनायकमा नै थियो । तर दर्शकले उनलाई यति मन पराए कि उनी सधैंका लागि ‘भिलेन’को पहिचानमा बाँधिन पुगे। प्रायः उनको हरेक फिल्मका संवादहरू दर्शकहरूलाई कण्ठस्थ हुन्थ्यो ।
करियरमा नै सबैभन्दा चर्चित भएको उनको संवाद हो, ‘प्रेम नाम है मेरा, प्रेम चोपडा’ (प्रेम हो मेरो नाम, प्रेम चोपडा)। खासमा यो संवाद नभएर उनको पहिचान नै बन्यो। यो राज कपूरको फिल्म ‘बबी’मा रहेको छ ।
यसबाहेक ‘सौतन’को ‘मै वो बला हूँ जो शीशे से पत्थर को तोड़ता हूँ’ (म त्यस्तो विपत्ति हुँ, जसले सिसाले ढुङ्गा फुटाउँछ), ‘क्रान्ति’को ‘शम्भू का दिमाग दोधारी तलवार है’ (शम्भुको दिमाग दुईधारे तरवार हो) जस्ता संवादले दर्शकको मनमा थप उनलाई खलनायक बनाउन भूमिका खेलेका थिए ।
समाजको दृष्टिकोण
तर त्यसबेलाको समाज अहिलेको जस्तो शिक्षित थिएन । त्यसमाथि उनका अभिनय यति यथार्थपरक हुन्थे कि दर्शकहरूले उनलाई वास्तविक जीवनमा पनि खलनायक नै ठान्ने गर्थे । यद्यपि त्यसलाई उनले एउटा तारिफको रूपमा लिन्थे ।
उनी सोच्थे कि उनले आफ्नो काम राम्ररी गरिरहेका छन् । त्यसमा आफ्नो नभएर दर्शकहरूको समस्या भएको उनको दृष्टिकोण थियो । तर दर्शकहरूले उनलाई मात्र त्यसरी सोच्दैनथे । खलनायकको भूमिकमा देखिने उनका समकालीन कलाकार प्राण साहबलाई पनि दर्शकहरूले त्यसरी नै हेर्थे । तर वास्तविक जीवनमा उनीहरू दुवै सोझा थिए ।
यस्ता थप रमाइला किस्सादेखि लिएर संघर्ष/सफलताका कुराहरू उनकी छोरी रकिता नन्दाले लेखेको पुस्तक ‘प्रेम नाम है मेरा – प्रेम चोपडा’मा थप उल्लेख छ। जुन उनकै जीवनमा आधारित पुस्तक हो ।
व्यक्तित्व र सफलता
यद्यपि रीलको खलनायक पात्रले मात्र होइन, फिल्मका अन्य सहकलाकारहरूलाई सम्मानजनक व्यवहार गर्ने कामले पनि चोपडा परिचित छन् । उनको यस्तो चरित्रबारे धेरै वरिष्ठ चलचित्रकर्मीहरूले प्रशंसा गरेको पाइन्छ ।
हालसम्म उनले आफ्नो करियरमा ३८० बढी फिल्महरू गरेका छन् । राजेश खन्नासँग मात्रै १९ फिल्ममा काम गरेका छन्। तीमध्ये प्रायः सबैमा उनी खलनायकको भूमिकामा नै देखिएका छन् ।
नाम लिन पर्दा ‘शहीद’, ‘उपकार’, ‘पूरब और पश्चिम’, ‘दो रास्ते’, ‘कटी पतङ्ग’, ‘जादू टोना’, ‘काला सोना’, ‘दोस्ताना’, ‘क्रान्ति’, ‘जानवर’, ‘ऊँचे लोग’, ‘इन्दिरा’, ‘फूल बने अंगारे’, ‘बेवफा से वफा’ उनका हिट फिल्म हुन् ।
प्रतिक्रिया 4