
News Summary
Generated by OK AI. Editorially reviewed.- सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताको विरुद्धमा रहेको बताए।
- उनले जलवायु परिवर्तनको असरलाई नमान्ने ट्रम्पको व्यवहारप्रति आपत्ति जनाए।
- देउवाले नेपालले जलवायु परिवर्तनको मुद्दामा सबैभन्दा बढी आवाज उठाउनुपर्ने बताए।
२६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको भन्दै देउवाले त्यसप्रति आपत्ति जनाए ।
‘अमेरिकाको राष्ट्रपतिले त मान्दै मान्दैनन्, यो क्लाइमेट चेन्जको विषय । पेरिस सम्झौताको खिलाप (विरुद्ध) मा हुनुहुन्छ अहिले पनि ट्रम्प जी,’ देउवाले भने ।
अहिलेको अवस्थामा नेपालले नै जलवायु परिवर्तनको मुद्दामा सबैभन्दा बढी आवाज उठाउनुपर्ने देउवाको भनाइ थियो ।
‘अहिले ग्लोबल वार्मिङले गर्दा ग्लेसियरहरू पग्लँदैछ । भोलिका दिनमा यसले ठूलो असर गर्नसक्छ । नेपाल सबैभन्दा बढ्ता भिक्टिम हुने सम्भावना छ । नेपालमा समस्या भइसक्यो,’ पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘नेपालमा हामीले हिमाल बचाउन सकेका छैनौं । अहिलेको बेलामा हामीले चाहेर मात्रै ग्लोबल वार्मिङबारे आवाज उठाउनुपर्छ ।’
फरक प्रसंगमा उनले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताए । सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको बताउँदै उनले पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने जिकिर गरे ।
‘बीपी कोइरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो । तर अब अहिले गाउँ नै रित्तिसक्यो । गाउँ छैन । कोही गाउँमा बस्न तयार छैन । सबै तराईमा आइसकेका छन्,’ देउवाले भने, ‘पहाडमा बस्न कोही तयार छैनन् । पहाडमा सुविधा दिन सकेको खण्डमा पहाड सुन्दर र सफा छ । हावापानी राम्रो छ । सुविधाहरु पनि त्यस्तै हुनुपर्दछ ।’
प्रतिक्रिया 4