News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सात खेलाडीहरूलाई आफ्नो \'हल अफ फेम\'मा समावेश गरेको छ।
- समावेश हुने खेलाडीहरूमा भारतका एमएस धोनी, अस्ट्रेलियाका म्याथ्यु हेडनसहित पाँच पुरुष र दुई महिला क्रिकेटरहरू छन्।
- यी खेलाडीहरूलाई लन्डनको एबी रोड स्टुडियोमा आयोजित समारोहमार्फत सम्मान गरिएको थियो।
२७ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सात खेलाडीहरूलाई आफ्नो ‘हल अफ फेम’मा समावेश गरेको छ । समावेश हुने खेलाडीहरूमा भारतमा एमएस धोनी र अस्ट्रेलियाका म्याथ्यु हेडनसँगै सात खेलाडीहरू छन् ।
लन्डनको ऐतिहासिक एबी रोड स्टुडियोमा आयोजित एक भव्य समारोहमार्फत उनीहरूलाई आईसीसीले महान खेलाडीहरूको सम्मान सूची ‘हल अफ फेम’मा समावेश गरेको घोषणा गरेको हो ।
यस वर्ष समावेश गरिएका खेलाडीहरूमा पाँच जना पुरुष क्रिकेटरहरू तथा दुई महिला क्रिकेटरहरू छन् । जसमा दक्षिण अफ्रिकाका हाशिम अमला, भारतका महेन्द्रसिंह धोनी, अस्ट्रेलियका म्याथ्यू हेडन, दक्षिण अफ्रिकाका ग्रायम स्मिथ र न्युजिल्यान्डका ड्यानियल भेटोरी छन्।
साथै, दुई महिला खेलाडीहरूमा पाकिस्तानकी सना मीर र इंग्ल्याण्डकी सारा टेलर छन् ।
यी सात जना खेलाडीहरूलाई ‘ए डे विथ द लिजेन्ड्स’ कार्यक्रममा औपचारिक रुपमा सम्मान गरिएको थियो, जुन कार्यक्रम आईसीसीका विश्वभरका प्रशारण साझेदारहरूमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
हाशिम अमला दक्षिण अफ्रिकाको तर्फबाट टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी र पहिलो पटक तेहरो सेनचुरी बनाउने खेलाडी हुन् । त्यस्तै धोनी एक मात्र त्यस्ता कप्तान हुन् जसले तीनवटै आईसीसी ट्रफी जितेका छन्- टी२० विश्वकप (२००७), एकदिवसीय विश्वकप (२०११) र च्याम्पियन्स ट्रफी (२०१३)।
त्यसैगरी म्याथ्यू हेडन विस्फोटक अष्ट्रेलियन ओपनर हुन् जसले टेस्टमा ३८० रनको कीर्तिमान बनाएका थिए र २००७ को विश्वकप जित्ने टोलीका मुख्य सदस्य समेत थिए ।
दक्षिण अफ्रिकाका पूर्वकप्तान ग्रायम स्मिथले १०० भन्दा बढी टेस्टमा कप्तानी गरे र अष्ट्रेलियामा गएर टेस्ट शृंखला जितेका पहिलो कप्तान हुन्।
न्युजिल्यान्डका स्पिन बलिङ अलराउण्डर तथा पूर्वकप्तान डानियल भेटोरीले टेस्टमा ४००० रन र ३०० विकेट लिने दुर्लभ उपलब्धि हासिल गरेका छन्।
पाकिस्तान महिला क्रिकेटको अगुवा रहेकी सना मीरले दुईवटा एसियाली खेलकुदमा स्वर्ण जिताइन् भने आफ्नो देशको सर्वाधिक विकेट लिने महिला खेलाडी बनिन्।
इंग्ल्याण्डकी सारा टेलर उत्कृष्ट विकेटकीपर ब्याटर हुन् जसले २००९ र २०१७ को विश्वकप जित्न महत्वपूर्ण योगदान दिएकी थिइन्।
यी समावेशसँगै आईसीसीको हल अफ फेममा अब कुल १२२ जना महान खेलाडीहरूको नाम रहेको छ।
हल अफ फेम सन् २००९ मा सुरु गरिएको हो, जसमा खेलाडीहरूले अन्तिमपटक अन्तर्राष्ट्रिय खेल खेलेको पाँच वर्षपछि मात्र समावेश हुन सक्ने प्रावधान छ।
यो कार्यक्रम क्रिकेटको गौरवशाली इतिहासलाई सम्मान गर्ने एक महत्वपूर्ण पहल हो।
प्रतिक्रिया 4