+

२ अर्ब डलर मूल्यांकनसहित आरसीबीको स्वामित्व बिक्रीको तयारी

२०८२ जेठ  २७ गते १३:४४ २०८२ जेठ २७ गते १३:४४
२ अर्ब डलर मूल्यांकनसहित आरसीबीको स्वामित्व बिक्रीको तयारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आरसिबीको स्वामित्व बिक्रीको तयारी भएको खबर बाहिरिएको छ।
  • डियाजियोले टोलीको मूल्य २ अर्ब अमेरिकी डलरसम्म राख्न सक्ने सम्भावना रहेकोछ।
  • प्रारम्भिक छलफल थालेको ब्लूमबर्गले उल्लेख गरेको छ।

२७ जेठ, काठमाडौं । आईपीएल विजेता टोली रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी)ले स्वामित्व बिक्रीको तयारी गरेको खबर बाहिरिएसँगै टोलीले चाँडै नै नयाँ मालिक पाउन सक्ने सम्भावना देखिएको छ ।

ब्रिटिस कम्पनी डियाजियो, जसले युनाइटेड स्पिरिट लिमिटेडमार्फत आरसिबीको स्वामित्व लिएको छ, अहिले आंशिक वा पूर्ण रूपमा फ्रेन्चाइज बेच्ने योजना बनाइरहेको ब्लूमबर्गले उल्लेख गरेको छ ।

रिपोर्टका अनुसार डियाजियोले केही सल्लाहकारहरूसँग प्रारम्भिक छलफल थालेको छ। कम्पनीले टोलीको मूल्य २ अर्ब अमेरिकी डलरसम्म राख्न सक्ने सम्भावना रहेको बताइएको छ।

हालसम्म कुनै अन्तिम निर्णय नभए पनि यो छलफल कम्पनीको वैश्विक व्यापार सरल बनाउने रणनीति अन्तर्गत भइरहेको मानिएको छ। समाचार सार्वजनिक भएपछि युनाइटेड स्पिरिट्सको सेयरमा ३.३ प्रतिशतले वृद्धि भएको छ।

आरसिबीले १८ वर्षपछि पहिलोपटक आईपीएलको ट्रफी जित्दा समर्थकहरूमा ठूलो उत्साह देखिएको थियो। भारतीय स्टार खेलाडी विराट कोहलीको कारण टोली विश्वभर चर्चित छ।

उपाधि जितेपछि बेंगलुरुमा आयोजित सार्वजनिक समारोहमा भीड बढेर भागदौड हुँदा ११ जनाको मृत्यु भयो भने दर्जनौं घाइते पनि भएका थिए ।

यो घटनाले सार्वजनिक छवि र सुरक्षा व्यवस्थाप्रति चासो बढाएको पनि बताइएको छ, जसले गर्दा पनि डियाजियोमा थप दबाब सिर्जना गरेको हुन सक्ने बुझिएको छ ।

डियाजियोले आफ्नो मुख्य व्यवसाय (मदिरा उत्पादन) मा ध्यान केन्द्रित गर्न आरसिबी बेच्ने विचार गरिरहेको हो। अमेरिकामा मदिरा बिक्री घट्दै गएकाले कम्पनी आर्थिक स्रोत व्यवस्थापनमा परिवर्तन गर्दैछ।

भारतमा सरकारले खेलकुदमा अप्रत्यक्ष मदिरा विज्ञापनमा प्रतिबन्ध लगाउने सम्भावना बढाएको छ। यसले डियाजियो जस्ता कम्पनीको ब्रान्ड दृश्यता (भिजिबिलिटी) घटाउन सक्छ।

आरसिबी पहिलोपटक २००८ मा आईपीएल सुरु हुँदा बनेको आठ टोलीमध्ये एक हो। यो टोली सुरुवातमा विजय माल्याले किनेका थिए। पछि माल्याको व्यापार संकटपछि डियाजियोले युनाइटेड स्पिरिट्समार्फत आरसिबीको स्वामित्व लिएको थियो ।

विराट कोहली, एबी डिभिलियर्स, क्रिस गेल, फाफ डु प्लेसिसजस्ता चर्चित खेलाडीहरूको कारण आरसिबीको विश्वभर करोडौं समर्थकहरू छन् ।

लामो समयसम्म ट्रफी नजित्दा आलोचना पनि भोग्नुपरेको थियो तर यस वर्षको जीतले टोलीलाई नयाँ उचाइमा पुर्‍याएको छ।

रोयल च्यालेन्जर्स बेंगलुरु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय