
१९ जेठ २०८० मा बसेको एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गर्ने निर्णय गर्यो । ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’ सचिवालयको निर्णयलाई केन्द्रीय कमिटीले पनि अनुमोदन गर्यो ।
गत जेठ २५ गते कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उमेर हदको विषय फेल खाइसकेको बताए । जबकी अनेरास्ववियुमा एमालेले यसै पालिदेखि ३२ वर्षीय उमेर हद लगाएको छ ।
तर, अध्यक्ष ओली भने आफू ७४ वर्ष पुग्दा पनि एमालेको अध्यक्ष रहेको बताउँदै उमेर हदको विषय नै फेल खाइसकेको तर्क गर्छन् ।
यसैबीच सोमबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको फरक धारणा सार्वजनिक भयो । उनले विशेष सन्दर्भमा उमेरहदको विषय स्थगन गरेको र पार्टी महाधिवेशनको निर्णय महाधिवेशनले नै परिवर्तन गर्न सक्ने तर्क गरे ।
योसँगै आउँदो भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनमा एमालेभित्र उमेरहदको बहस सशक्त हुने देखिएको छ । अनलाइनखबरले वरिष्ठ उपाध्यक्ष पोखरेललाई अहिले अध्यक्षको अभिव्यक्ति विपरीत उमेर हदको पक्षमा खुल्नुको कारण सोधेको छ ।
तपाईंले सार्वजनिक रूपमै आफू पार्टीमा ७० वर्षे उमेरहदको पक्षमा छु भनेपछि नयाँ बहस सुरु भयो । पार्टी अध्यक्षले उमेरहदको सान्दर्भिकता हराइसक्यो भनिरहेका बेला तपाईंले पक्षमा अभिव्यक्ति दिनुको अर्थ के हो ?
नेकपा एमालेको नवौं महाधिवेशनका बेला हामीले संगठनमा लामो छलफल गरेर ७० वर्षीय उमेर हदको निर्णय गरेका हौं । पार्टी जीवनको लोकतान्त्रिकरणको सुरुवातकर्ता, लोकतन्त्रिकरणको कन्सेप्ट ल्याउनु हुने हाम्रो अध्यक्षकै पालामा यसको सुरुवात भएको हो । सातौँ महाधिवेशनमा व्यापक छलफल गरेर हामी आठौंमा बहुपदीय पद्दतिमा गयौं । नवौं महाधिवेशनबाट ७० वर्षीय उमेर हदको निर्णय भएको हो ।
त्यही महाधिवेशनमा कार्यकाल पनि तोक्नुपर्छ भन्ने कुरा भएपछि लगातार दुई कार्यकाल र ७० वर्षको उमेर हद तोक्ने भनेर हामीले महाधिवेशनबाटै पास गर्यौँ ।
पछि नेकपा एकीकृत समाजवादीदेखि अरु पार्टीहरूबाट पनि संकटमा परेको बेलामा एकताको प्रक्रियामा धेरै साथीहरू आउनुभयो । हाम्रै साथिहरू आउनुभएको थियो । संकट के आयो भने ७० वर्षीय उमेर हद लगाउँदा उहाँहरू छिर्नै नसक्ने हुनुहुभयो । त्यसैले हाम्रो केन्द्रीय कमिटीले तत्काललाई त्यो स्थगन गरे जाने निर्णय गर्यो । ‘स्थगन’ त्यो शब्दै हामीले विवेकसंगत तरिकाले नै स्थगन गरेका हौं ।
त्यसबेला स्थगन गर्नुको अर्थ के थियो ?
मुख्य कुरा त अरू पार्टीबाट आउन चाहने साथीहरूलाई स्थान दिनु नै थियो । स्थगन गर्नुको अर्को अर्थ के हो भने आउने राष्ट्रिय महाधिवेशनमा त्यो प्रस्ताव जान्छ, प्रस्ताव पास भयो भने ७० वर्षे हट्छ । पास भएन भने ७० वर्षे कायम हुन्छ । तर एउटा नेसनल फोरमबाट पारित भएको कुरा परिवर्तन गर्नुपर्यो भने अर्को नेशनल फोरम नै चाहियो नि । त्यसैले आउँदो महाधिवेशनसम्मका लागि त त्यो विषय स्थगन नै छ नि । अब जे निर्णय गर्नुपरे पनि विधान महाधिवेशनले नै गर्छ नि ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले त चीनका राष्ट्रपति सि चिन फिङको पनि उदाहरण दिनुभएको छ, उमेर हदको विषय असान्दर्भिक भइसकेको बताउनुभएको छ नि त !
आउने विधान महाधिवेशनमा यो विषय फेरि छलफलको विषय बन्छ । यदि उमेर हदको विषयलाई नै निरन्तरता दिनुपर्छ भन्ने मत धेरै आयो भने निरन्तरता पाउँछ । महाधिवेशनले स्थगन गरेको कुरालाई भ्यालिड (आधिकारिक) मान्यो भने उमेर लाग्दैन । तर महाधिवेशनको निर्णय केन्द्रीय कमिटीले परिवर्तन गर्न त सक्दैन नि । अर्को महाधिवेन नै चाहिन्छ भन्ने मेरो भनाइ हो ।
७० वर्षे उमेर हद कायम गर्ने कि नगर्ने भन्नेमा तपाईंको व्यक्तिगत धारणा के हो ?
यसमा मलाई व्यक्तिगत रुपमा भन्नुहुन्छ भने कार्यकालमा चाहिँ पोलिटिकल सेन्स लाग्छ, उमेर हदको विषयमा भने पोलिटिकल सेन्स लाग्दैन । तर, राष्ट्रिय महाधिवेशनले गरेको निर्णयको जवाफदेही महाधिवेशन नै हुन्छ भन्ने मेरो भनाइ हो । हामीले अब हट्यो–हट्यो, हटेन–हटेन भन्दिएको कुराको त खास अर्थ हुँदैन, जसले भने पनि ।
७० वर्ष भयो भने त तपाईंसहित नेताहरू कार्यकारी भूमिकाबाट बाहिर हुनुहुन्छ न त….
आफूलाई धुरी बनाएर प्रस्तुत गर्ने कुरा उचित हुँदैन । मैले हामीले के गरेको छौँ भन्ने कुराको सम्झना मात्रै गरेको हुँ । दसौँ महाधिवेशनमा निर्णय गर्दा पनि त म कुनबेला ७० पुग्छु भन्ने त हामी सबैलाई थाहा थियो नि ।
पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टीमा सक्रिय हुने भनेर खबर आइरहेका बेला उहाँको राजनीतिलाई ध्यानमा राख्दै तपाईंको भनाइ सार्वजनिक भएको हो भन्ने टिप्पणीहरू पनि आइरहेका छन् नि…
त्यसमा मेरो कुनै इन्टेन्सन मनसाय) छैन । मैले त त्यसबेला हाम्रो निर्णय के भएको थियो भन्ने प्रसंगमात्रै उठाएको थिए । मैले बुझेको कुरा यतिमात्रै हो कि, हामीले संस्थागत कुरा बोल्नुपर्छ ।
उसो भए तपाईंले उमेर हदको पक्षमा छु भन्नुको अर्थ एमालेबाट बिदाइ हुने पक्षमा छु भन्न खोज्नु भएको हो ?
अहिले म विपक्षमा छु कि पक्षमा छु भनेर किन भनिरहनु ? अर्को महाधिवेशनले नसच्याउँदासम्म त महाधिवेशनले गरेको निर्णयको पक्षमा छु । अर्को महाधिवेशनले जे गर्ला म त्यो पक्षमा हुँला । त्यो महाधिवेनमा मेरो के धारणा होला अलग कुरा हो । तर मैले बोल्दा त बितेको महाधिवेशनले जे निर्णय गर्यो, त्यही बोल्नुपर्छ नि । हैन ?
प्रतिक्रिया 4