+
+
Shares

एमालेमा पेचिलो बन्दैछ ७० वर्षे उमेर हदको एजेण्डा

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले ७० वर्षे उमेर हदको विषय फेल खाइसकेको जिकिर गर्दैगर्दा एमालेभित्र भने विधान महाधिवेशनबाट यो प्रावधान कायमै राख्ने तयारी चलिरहेको छ ।

सइन्द्र राई सइन्द्र राई
२०८२ जेठ २६ गते २१:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हदको प्रावधान बहसको विषय बन्ने निश्चित भएको छ।
  • ओली र पोखरेलले यस विषयमा फरक धारणा व्यक्त गरेका छन्।
  • ओलीले ७० वर्षे उमेर हदको व्यवस्था फेल भएको बताएका छन् भने पोखरेलले यसलाई कायम राख्ने पक्षमा छन्।

२६ जेठ, काठमाडौं । नेकपा एमालेको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर सीमाको प्रावधान बहसको विषय बन्ने लगभग पक्का देखिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग सन्दर्भमा दिएको सार्वजनिक वक्तव्यले यो एजेण्डा एमालेभित्र पेचिलो बन्ने प्रष्ट बनेको छ ।

कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै (आइतबार, २५ जेठमा) प्रधानमन्त्री ओलीले उमेर हदको विषय फेल खाइसकेको जिकिर गरेका छन् । आफू ७४ वर्ष पुग्दा पनि एमालेको अध्यक्ष रहेको सन्दर्भसहित ओलीले उमेर हदको विषय फेल खाइसकेको तर्क गरेका छन्, ‘अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ?

अझ अगाडि बढेर चिनियाँ राष्ट्रपति सी जिङफिङले पनि दुई कार्यकाल मात्र कार्यकारी प्रमुख बन्ने व्यवस्था तोडेको उदाहरण दिएका थिए । ‘चीनमा दुईपटक मात्र अध्यक्ष हुन पाउने नियम बनाएको थियो’, ओलीले तर्क गरे, ‘सी जिङफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिष्ट पार्टीले ६५ वर्षे हद लगाएको थियो, तर अहिले ७२ पुगिसक्नुभयो सी जिङपिङ ।’

अनेरास्ववियुको सम्मेलनमा मात्र नभएर ओलीले एमाले अध्यक्ष नछोड्ने दावी सहित बारम्बार सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । केही समय अगि मात्र एक कार्यक्रममार्फत् ओलीले अझै २०/२५ वर्ष कुर्न आग्रह गरेका थिए ।

७४ वर्षका ओलीले अबको २५ वर्ष नछोड्ने भन्नुको अर्थ ९९ वर्ष पुग्दा समेत उनी एमालेको अध्यक्ष बन्न चाहन्छन् । त्यसको प्रतिवादमा एमालेभित्र कसैको पनि सार्वजनिक आवाज सुनिएको थिएन । तर आइतबार हिमालय टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम ‘यक्ष प्रश्न’ मार्फत् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र ७० वर्षे उमेर हदको प्रबन्ध कायमै रहेको तर्क गरेका छन् ।

‘हाम्रो पार्टीको विगतको महाधिवेशनले दुई कुरा नेतृत्वको बारेमा गरेको छ । एउटा कुरा– उमेरको सीमा तय गरेको छ, ७० वर्ष । अर्को– लगातार दुईपटक भन्दा बढी कार्यकारी नहुने, डिस्कन्टिन्यू हुनुपर्छ भन्ने प्रावधान छ’ पोखरेलले भनेका छन् ।

तर एकीकृत समाजवादी सहितका केही पार्टीबाट आउने नेताहरुका लागि भनेर अन्तरिम कालका निम्ति ७० वर्षे सीमा हटाइएको पोखरेलले बताएका छन् । ‘त्यो व्यवस्था (पार्टी सचिवालयबाट ७० वर्षे उमेर सीमा निलम्बन गर्ने निर्णय) फर द टाइम बिइङ अन्तरिम एरेन्जमेन्ट गरेको हो, त्यो चाहिँ आउने महाधिवेशनले अनुमोदन गर्छ कि गर्दैन हेर्नु पर्नेछ’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन् ।

तर आफ्नो अभिमत उमेर हदको व्यवस्था कायमै राख्नेमा हुने पनि पोखरेलले अन्तर्वार्तामा भनेका छन् । ‘दुई कार्यकालपछि डिस्कन्टिनिउ हुनपर्छ भन्ने हामीले लामै छलफल गरेर तय गरेको विषय थियो । त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु म चाहिँ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन् ।

हाम्रो पार्टीको विगतको महाधिवेशनले दुई कुरा नेतृत्वको बारेमा गरेको छ । एउटा कुरा– उमेरको सीमा तय गरेको छ, ७० वर्ष । अर्को– लगातार दुईपटक भन्दा बढी कार्यकारी नहुने, डिस्कन्टिन्यू हुनुपर्छ भन्ने प्रावधान छ- ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष, एमाले

वरिष्ठ उपाध्यक्ष पोखरेलको सार्वजनिक अभिव्यक्ति धेरेका निम्ति अनेपिक्षत छ । किनकि १९ जेठ २०८० मा बसेको एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गर्ने निर्णय गरिसकेको थियो । ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’, त्यो सचिवालय बैठकको निर्णय थियो ।

धेरैले सचिवालयकै निर्णय विधान महाधिवेशनबाट अनुमोदन हुने र ओली नै एमाले अध्यक्षमा तेस्रोपटक चयन हुने अनुमान गरिरहेका थिए । ओलीको पृष्ठभूमिले पनि त्यस्तो बुझाइमा सहयोग पुगेको थियो । किनकि २०७१ असारमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पहिलोपटक एमाले अध्यक्ष निर्वाचित भइरहँदा नै ओलीले पुरा कार्यकाल पनि नचलाई नेतृत्व हस्तान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता गरेका थिए ।

यदि ओलीको प्रतिबद्धता लागू हुन्थ्यो भने वामदेव गौतम, ईश्वर पोखरेल हुँदै ११औं महाधिवेशनमा अरु तेस्रो व्यक्ति एमाले अध्यक्ष बन्ने दौडमा हुने थिए । तर अध्यक्ष निर्वाचित भएपछि ओलीले आफ्नो विकल्प खोज्नेहरुलाई एमाले र देश विरोधीको संज्ञा दिन थाले । २०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा पनि ओलीकै निम्ति पार्टी विधान–२०४९, लाई संशोधन गरेका थिए ।

‘महाधिवेशन हुँदा ७० वर्ष नघाघेको’ भन्ने व्याख्या गरेर ओली अध्यक्ष दोहोरिएका थिए । ११ फागनु २०७८ मा ओली ७० वर्ष पूरा हुने भएकाले मंसिरमै महाधिवेशन गरिएको थियो । तर ७० वर्षे उमेर सीमाकै कारण पार्टीका संस्थापक नेता अमृतकुमार बोहराले कार्यकारी भूमिकाबाट विदा लिएका थिए ।

ओलीको यही पृष्ठभूमिका कारण एमालेमा अब ७० वर्षे उमेर हद नरहने अनुमान चलिरहदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यो एजेण्डामा छलफल हुने बताएका छन् ।

स्रोतका अनुसार पोखरेल मात्र नभएर एमालेभित्र ठूलो संख्याका नेताहरु ७० वर्षे उमेर हदकै पक्षमा छन् । ‘ईश्वर पोखरेलले बोल्नुभयो, अरु नेताहरुको नाम अहिले नभनौं । तर सचिवालयमा बहुमत सदस्य ७० वर्षे उमेर हद राख्नुपर्ने पक्षमा हुनुहुन्छ’, स्रोत भन्छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी २०–२२ भदौमा तोकिएको छ ।

यदि विधान महाधिवेशनबाट उमेर हदको व्यवस्था कायमै राख्ने निर्णय भयो भने ओलीले पार्टी नेतृत्व छोड्नुपर्नेछ । उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापाहरु पनि विदा हुनेछन् । अहिले पोखरेल ७२, ज्ञवाली ७१, शाक्य ७१ र थापा ७० वर्ष पुगे ।

छिटो महाधिवेशनको तयारी

एमालेभित्र ७० वर्षे उमेर हदको एजेण्डा पेचिलो बन्न सक्ने बलियो आधार भने स्वयं अध्यक्ष ओली हुन् । किनकि ओली पार्टी अध्यक्षमा रहिरहन एक वर्ष अगाडि नै ११औं महाधिवेशन गर्ने तयारीमा लागेका छन् ।

एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी पनि आगामी हिउँदमा ११औं महाधिवेशनको सम्भावना रहेको बताउँछन् । ‘विधान महाधिवेशन भएको कति समयपछि महाधिवेशन गर्ने भन्ने प्रष्ट वैधानिक व्यवस्था छैन, तर यो हिउँदमा महाधिवेशन हुने सम्भावना छ’, संगठन विभाग प्रमुख समेत रहेका अधिकारी बताउँछन् ।

‘विधान महाधिवेशन भएको कति समयपछि महाधिवेशन गर्ने भन्ने प्रष्ट वैधानिक व्यवस्था छैन, तर यो हिउँदमा महाधिवेशन हुने सम्भावना छ’

२०८३ सालमा महाधिवेशन गर्दा आमचुनावमा असर पर्ने भएकाले पनि छिट्टै महाधिवेशन गर्ने तयारी भइरहेको उनी तर्क गर्छन् । ‘आमचुनावलाई असर गर्ने भएकाले पनि यसैवर्ष महाधिवेशनको सम्भावना रहेको हो’ उनी भन्छन्, ‘अघिल्लो पटकको अभ्यासले पनि विधान महाधिवेशन लगत्तै महाधिवेशन गर्ने हो ।’

२०७८ असोजमा प्रथम विधान महाधिवेशन गरेको एमालेले त्यसै वर्षको मंसिरमा दशौं राष्ट्रिय महाधिवेशन गरेको थियो । त्यसआधारमा २०८३ मंसिरसम्म एघारौं महाधिवेशन गर्नुपर्नेछ भने यो बीचमा विधान महाधिवेशन हुनुपर्छ । तर प्रधानमन्त्री पदमा रहेकै बेला ओलीले एमालेको महाधिवेशन पनि सम्पन्न गर्न लागेका छन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?