
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिवेदनले नयाँ स्टक एक्स्चेन्ज सञ्चालन र नेप्सेको पुनर्संरचनाको आवश्यकता औंल्याएको छ।
- प्रतिवेदनले पूँजी बजार विस्तार, नयाँ औजार प्रवेश र संस्थागत लगानी प्रोत्साहन गर्न सुझाव दिएको छ।
- विदेशी रणनीतिक साझेदार भित्र्याउने र नेप्सेको क्षमता विकास गर्न प्रतिवेदनले सिफारिस गरेको छ।
२७ जेठ, काठमाडौं । धितोपत्र बजार सञ्चालनको लागि नयाँ स्टक एक्स्चेन्ज सञ्चालन गर्न सकिने र नेप्सेको पुनर्संरचना पनि सँगै अघि बढाउनुपर्ने चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित अध्ययन प्रतिवेदनले सुझाएको छ ।
सो प्रतिवेदनले विभिन्न समयमा भए, गरेका अध्ययन तथा सन्दर्भलाई समेट्दै धितोपत्र बोर्डको स्वीकृतिबाट नयाँ स्टक एक्स्चेन्ज सञ्चालन गर्न सकिने औंल्याएको हो ।
हाल पूँजी बजार विस्तार हुन नसकेको, बजारको आवश्यकता अनुसार नयाँ धितोपत्र दलाल व्यवसायी प्रवेश गराउन नसकेको, धितोपत्र सम्बन्धी नयाँ औजारको प्रवेश हुन नसकेको, संस्थागत लगानीकर्ता प्रोत्साहित हुन नसकेको, धितोपत्र बजारबाट पूँजी परिचालन गर्न संगठित संस्था उत्सुक नभएकोजस्ता विभिन्न अध्ययनका सन्दर्भ प्रतिवेदनमा समेटिएको छ ।
त्यस्तै धितोपत्र बजार सरकारी स्वामित्वमा रहेको, बजारको आवश्यकता अनुसार क्षमता विकास भइनसकेको, धितोपत्र कारोबारको राफसाफमा ढिलाइ हुने गरेको तथा नियमावली व्यवस्थाअनुसार व्यवसायिक तवरले संचालन हुन नसकेका सन्दर्भ सामग्री प्रतिवेदनमा समेटिएको छ ।
साथै नयाँ स्टक एक्स्चेन्जबाट देशव्यापी रुपमा धितोपत्र बजार विस्तार हुने अपेक्षा गरिएको छ । नयाँ स्टक एक्स्चेन्जबाट बजारमा नयाँ धितोपत्र औजार प्रवेश हुने, संगठित क्षेत्रलाई वैकल्पिक वित्तीय स्रोत प्राप्त हुने, म्युचुअल फन्डको प्रवेश प्रोत्साहित हुने, नेपाल सरकारको राजश्व वृद्धि हुने, नयाँ धितोपत्र दलाल व्यवसाय गर्न चाहने कम्पनीहरुले अवसर पाउने लगायतका सन्दर्भलाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेप्सेको संरचनागत सुधार पनि आवश्यक रहेको औंल्याइएको छ । नेप्सेले आफैं अध्ययन गरी पुनर्संरचना सम्बन्धी पेश गरेको प्रतिवेदनमा अर्को स्टक एक्सचेन्जको सम्भावित फाइदा तथा बेफाइदालाई उजागर गरिएका विषयलाई सिवाकोटी प्रतिवेदनमा समेटिएको छ ।
विदेशी रणनीतिक साझेदार भित्र्याउँदा सेवाको स्तरीयता र विश्वसनीयता बढेको छिमेकी देशहरुको अनुभव समेतको आधारमा एउटा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्टक एक्स्चेन्जलाई रणनीतिक साझेदारको रुपमा भित्र्याउने र नेप्सेको स्वामित्व पुनर्संरचना गर्नेगरी अघि बढ्न सकिने प्रतिवेदनको आशय छ ।
नेप्सेको प्राविधिक, भौतिक, व्यवस्थापकीय वित्तीय र मानव स्रोतको क्षमता विकास गर्न सुझाव दिइएको छ । नेप्सेले नै तयार गरेको पुनर्संरचना कार्ययोजनालाई प्रतिवेदनले समेटेको छ ।
त्यस्तै प्रतिवेदनमा सीडीएससीको संरचनागत परिवर्तन गर्न सकिने सन्दर्भलाई पनि समेटिएको छ । सीडीएससीमा नेप्सेको स्वामित्व ५१ प्रतिशतमा राखि ४९ प्रतिशत सेयर विदेशी संस्थागत लगानीकर्ता, गैरबैंकिङ वित्तीय संस्था, निक्षेप सदस्यलाई आवश्यक प्रक्रिया पुर्याई बिक्री गर्ने तथा चुक्ता पूँजी ३० करोडबाट बढाएर ५० करोड बनाउन भनिएका सन्दर्भ समेटिएको छ ।
प्रतिक्रिया 4