+
+
Shares

युवराज ज्ञवाली भन्छन् : ७० वर्षे उमेर हद झनै आवश्यक छ, पार्टी र सरकारमा नयाँ नेतृत्व दिऔं

‘म ७१ वर्ष भएँ, लगातार दुईपटक उपाध्यक्ष भए । विधानको व्यवस्था अनुसार दुवै सर्तका कारण मैले एमालेको कार्यकारी कमिटी छोड्नुपर्छ’ उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘पार्टी निर्माणकै निम्ति जीवन दिएको मान्छे हुँ, अब स्वतः विदा हुनुपर्ने परिस्थिति म स्वीकार्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते २१:५०

२७ जेठ, काठमाडौं । विधान महाधिवेशन नजिकिएसँगै नेकपा एमालेमा नयाँ नेतृत्वको बहस सघन बनेको छ । उमेरले ७४ वर्षका प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक पटक अध्यक्ष बन्नेगरी सार्वजकि अभिव्यक्ति दिइरहेका छन् । तर ओलीको तयारी पुरा हुन नदिनेगरी अरु नेताहरुले पार्टी विधानको व्यवस्था सम्झाउन थालेका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिदै अधिकतम उमेर सीमा र कुनैपनि कार्यकारी पदमा दुईपटक मात्र बस्न पाइने व्यवस्थाको पक्षमा आफू रहेको बताएका छन् । पोखरेलको यस्तो अभिव्यक्तिले एमालेभित्र ठूलो तरंग ल्याएको छ ।

स्रोतका अनुसार पार्टी विधान–२०४९, को धारा ६४ मा रहेको ७० वर्षे उमेर हद र एउटा कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाइने प्रावधान कायमै राख्नुपर्ने पक्षमा पार्टी सचिवालयभित्रै बहुमत छ ।

ती स्रोतको दावी बमोजिम बहुमत पक्षमै उभिएका उपाध्यक्ष युवराज ज्ञवाली उमेर हद र कुनैपनि कार्यकारी पदमा लगातार दुईपटक भन्दा बढी बस्न नपाइने व्यवस्था जोगाएरै जानुपर्ने बताउँछन् ।

अनलाइनखबरसँग ज्ञवालीले अहिलेको परिस्थितिमा यो व्यवस्था झनै आवश्यक परेको तर्क गरेका छन् । ‘पार्टीभित्र पुरानाहरुले मात्र ठाउँ ओगटिरहेका छन् भन्ने बुझाइ छ । आजको आम सामाजिक मनोविज्ञान पुरानाले ठाउ छोडुन् भन्ने देखिन्छ’, ज्ञवाली भन्छन्, ‘त्यसैले ७० वर्षे उमेर हद र कुनैपनि कार्यकारी पदमा लगातार दुईपटक मात्र बस्न पाइने व्यवस्थालाई निरन्तरतलाई दिएर जानुपर्छ ।’

युवा पुस्तामा पार्टीको आकर्षण ल्याउन पनि पार्टी र सरकारको नेतृत्वमा नयाँपन आवश्यक रहेको उनी बताउँछन् । विधान महाधिवेशनबाट उमेर हद र कार्यकारी पदमा दुईपटकको व्यवस्था नसच्चिए ज्ञवालीले विदा लिनुपर्नेछ ।

‘म ७१ वर्ष भएँ, लगातार दुईपटक उपाध्यक्ष भए । विधानको व्यवस्था अनुसार दुवै सर्तका कारण मैले एमालेको कार्यकारी कमिटी छोड्नुपर्छ’ उपाध्यक्ष ज्ञवाली भन्छन्, ‘पार्टी निर्माणकै निम्ति जीवन दिएको मान्छे हुँ, अब स्वतः विदा हुनुपर्ने परिस्थिति म स्वीकार्छु ।’

तर बाचुञ्जेल एमाले र देशको राजनीतिमा सक्रिय रहने योजना ज्ञवालीले बनाएका छन् । ‘पदीय भूमिकाबाट अलग हुने हो । तर कुनै न कुनै ढंगले देश र पार्टीको काम गर्नुपर्छ, म गर्छु’ उनी भन्छन् । उमेर हदका कारण पार्टीको कार्यकारी कमिटीबाट बाहिरिने ओली सहितका नेताहरुले पनि देश र पार्टीका काममा अरु माध्यमबाट योगदान गर्न सक्ने उनको तर्क छ ।

‘पार्टी निर्माणकै निम्ति जीवन दिएको मान्छे हुँ, अब स्वतः विदा हुनुपर्ने परिस्थिति म स्वीकार्छु ।’

ओली र उनी निकटका नेताहरुले भने ७० वर्षे उमेर हदको निर्णय निलम्बन भइसकेकाले विधान महाधिवेशनबाट यसबारेको व्यवस्था खारेज गर्नुपर्ने तर्क गर्न थालेका छन् । अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनमा ओलीले उमेर हदको व्यवस्था फेल खाइसकेको तर्क गरेका थिए ।

यदि ओलीले अध्यक्ष तेहोरिन चाहेमा उमेर हदको व्यवस्था मात्र नभएर कार्यकारी पदमा लगातार दुईपटक भन्दा बढी बस्न नपाउने व्यवस्था पनि खारेज गर्नुपर्छ । किनकि ओली लगातार दुईपटक अध्यक्ष भइसकेको छ ।

लगातार दुईपटक महासचिव भएका ईश्वर पोखरेल यसअघि विधानको यही व्यवस्थाका कारण बरिष्ठ उपाध्यक्ष बनेका थिए । पोखरेलकै निम्ति नयाँ पद सिर्जना गरिएको थियो ।
उपाध्यक्ष ज्ञवाली अब फेरि अहिलेकै नेताहरु रहनेगरी विधानलाई तोडमोड गर्नेतिर लाग्न नहुने तर्क गर्छन् ।

‘म रहनुपर्छ भनेर विधानको व्यवस्था नचलाऔं । त्यसले नकारात्मक सन्देश जान्छ’ ज्ञवाली भन्छन्, ‘हामीले बाहिरिदा पनि एमालेको नेतृत्व ६० वर्ष पुगिसकेकाहरुको काँधमा जान्छ । सामाजिक मनोविज्ञान ६० वर्ष भन्दा पनि कम उमेरका नेतृत्व आयोस् भन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?