
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा १७ वर्षअघि निर्माण भएको खानेपानी ट्यांकीको उद्घाटन आज भएको छ।
- ट्यांकी प्रयोगमा नआएको र संरचना कमजोर भएको स्थानीयले बताए।
२८ जेठ, विराटनगर । विराटनगरमा १७ वर्षअघि निर्माण भएको खानेपानी ट्यांकीको बल्ल आज उद्घाटन भएको छ । तर अझै पनि प्रयोगमा भने आएको छैन ।
विराटनगर महानगरपालिका-१४ जतुवामा २०६५ सालमा निर्माण भएको खानेपानी ट्यांकी आज खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन् ।
जतुवामा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा २०६५ सालमा करिब साढे ४ करोड लागतमा निर्माण भएको ट्यांकी प्रयोगमा भने आएको थिएन ।
विराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजना, नेपाल खानेपानी संस्थान, विराटनगर शाखालाई हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्ने लक्ष्य रहेको बताए ।
स्वच्छ,सुरक्षित र प्रयाप्त पानी जनतालाई उपलब्ध गराउन एक घर, एक धारा पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ ।
१७ वर्षअघि निर्माण भएर पनि प्रयोगमा नआएको ट्यांकीको संरचना कमजोर भइसकेको स्थानीय बताउँछन् ।
विराटनगर महानगरपालिका–८, १०, १३ र १४ मा खानेपानी पुर्याउने लक्ष्यसहित यो ट्यांकी निर्माण भएको थियो ।
पाइपलाइन करिब २७ किलोमिटर बिच्छ्याइएको थियो । तर खानेपानी वितरण भएन । सडक विस्तार र मर्मतका क्रममा पाइपलाइनमा क्षति पुगेको छ ।
संस्थानले पाइपलाइन मर्मत गरी आयोजना सञ्चालन गर्ने खानेपानी कार्यालय विराटनगरका प्रमुख सन्तोष रौनियारले जानकारी दिए ।
दैनिक १७ लाख लिटर पानी उत्पादन गरी छ हजार नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजना संस्थानको छ ।
प्रतिक्रिया 4