
२८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले भिजिट भिसा प्रकरणमा लाखौं नेपालीले दुःख पाएको बताउँदै यो मुद्दामा कुनै निचोडमा नपुगि यतिकै छाड्न नहुने बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सांसद गौतमले धेरै नेपालीले आफूहरूलाई सो प्रकरणमा जोडिएर गुनासो गरेको भन्दै राजनीतिक दलहरूबीच राष्ट्रिय सहमतिको खाँचो रहेको बताइन् ।
‘रास्वपाले सदन अवरुद्ध गरेको होइन । रास्वपाले जनताको मुद्दा समाधान गर्न बाटो खोजौं भनिरहेको हो । सहमति गरौं,’ उनले भनिन्, ‘यो मुद्दाको हकमा राष्ट्रिय सहमति गरौं, समाधानतर्फ जानुपर्छ ।’
यस्तो अवस्थामा सदन सहजै चलाएर भिजिट भिसा प्रकरणलाई छाड्ने हो भने मुद्दाको कुनै अर्थ नहुने उनले बताइन् ।
‘सदन सुचारु रुपले चलाउन यो मुद्दालाई छाड्ने हो भने हामी यहाँ हुनुको केही अर्थ भएन । स्वयं बेचिएका मान्छेलाई हामी बेचिएका छौं,’ उनले भनिन्, ‘तपाईंहरूले यो मुद्दा नछाड्नु है भनिरहनुभएको छ । यो विषयलाई यतिकै छाड्ने कुरा भएन ।’
रास्वपाले संसद् अवरोध गर्यो भनेर गलत सन्देश बाहिर गइरहेको उनको भनाइ थियो ।
‘खासमा मुल मुद्दामा दलहरू एक ठाउँमा आउनुपर्यो भनेका हौं । सदन हामीले चलाउन दियौं भने मुद्दा त छाडियो नि । हाम्रो एउटा मात्रै कुरा के हो भने सदन चलाऔं केही भएन,’ सांसद गौतमले भनिन्, ‘राष्ट्रिय मुद्दा एक ठाउँमा आइएन भने त कसरी सदन चलाउने गर्न सक्छौं ? मुद्दा त छाडिन्छ नि । यो जनताको मुद्दालाई समाधान गर्नका लागि आधार बनाऔं भनेको हो ।’
उनले रास्वपाले नभइ वर्तमान सरकारले नै अहिले सदन अवरोध गरिरहेको बताइन् ।
‘रास्वपाले जनताको मुद्दा समाधान गर्न बाटो खोजौं भनिरहेको हो । यसमा उहाँहरूले नमानेर सदन अवरुद्ध भइरहेको हो । सरकारले सदन अवरोध गरेको हो रास्वपाले होइन,’ उनले भनिन् ।
प्रतिक्रिया 4