+
+
Shares

धितोपत्र दोस्रो बजारमा मौलाउँदै ‘सामूहिक कारोबार’, बोर्डको मौन समर्थन

सेयर कारोबारी दीपेन्द्र अग्रवालको भन्दा केही फरक तरिकाबाट समूह बनाइ सेयरको सर्कुलर ट्रेडिङ गर्ने समूह पनि उत्तिकै सक्रिय देखिएका छन् । समूह बनाइ सेयर कारोबार गर्दा ‘लो क्याप’ भएका कम्पनीको सेयर ‘कर्नरिङ’ तथा ‘सर्कुलर टे«डिङ’ गरेर मूल्य बढाउने र बिक्री गर्ने अभ्यास सतहमा आएका हुन् ।

भुवन पौडेल भुवन पौडेल
२०८२ जेठ २८ गते २१:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धितोपत्र बोर्डले सर्कुलर ट्रेडिङ, म्याचिङ, कर्नरिङ र पम्प एन्ड डम्प जस्ता अनियमित अभ्यासको अनुसन्धान गरिरहेको छ।
  • लगानीकर्ताले सामाजिक सञ्जालमार्फत समूह बनाएर सेयर कारोबार गर्दा गैरकानुनी गतिविधि हुने नेप्से अधिकारीहरूले बताए।
  • स्रोत अनुसार, समूहगत कारोबारले सेयर मूल्यमा प्रभाव पार्ने र बजारलाई प्रभावित पार्ने कार्यहरू गरिरहेको पाइएको छ।

२८ जेठ, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा एकपछि अर्को गर्दै बेथिति मौलाउँदै गएको छ । फर्जीदेखि सर्कुलर कारोबारसम्म एकै व्यक्तिले गरेको घटनापछि सेयर बजारको ‘सामूहिक खेती’ को गलत अभ्यास देखिएको हो ।

सेयर कारोबारी दीपेन्द्र अग्रवालले सामाजिक सञ्जाल प्रयोग मार्फत लगानीकर्ताको समूह जम्मा गरेर सेयर खरिद गर्न लगाउने गरेका छन् । त्यसका साथै उनले टिकटकमा लाइभ बसेर लगानीकर्तालाई सेयर खरिद गर्ने कम्पनी सिफारिस गर्दै आएका छन् ।

आफूले सस्तोमा किनेको सेयरलाई फर्जी नामबाट ‘म्याचिङ’ गर्ने र मूल्य बढाएर तिनै आफ्ना समूहका साथीलाई बिक्री गर्ने गर्दै आएका छन् । उक्त विषयको अनुसन्धान धितोपत्र बोर्डको कारबाहीको अन्तिम चरणमा छ ।

त्यसैगरी अग्रवालको भन्दा केही फरक तरिकाबाट समूह बनाइ सेयरको सर्कुलर ट्रेडिङ गर्ने समूह पनि उत्तिकै सक्रिय देखिएका छन् । समूह बनाइ सेयर कारोबार गर्दा ‘लो क्याप’ भएका कम्पनीको सेयर ‘कर्नरिङ’ तथा ‘सर्कुलर ट्रेडिङ’ गरेर मूल्य बढाउने र बिक्री गर्ने अभ्यास सतहमा आएका हुन् ।

यसरी बनाइएका कुनै समूहमा सदस्यता शुल्कसमेत लाग्ने गरेको छ भने केहीमा लाग्दैन । सदस्यता तिर्नुपर्ने समूहले प्रतिव्यक्ति १ हजार रुपैयाँ उठाएर कुन सेयर किन्ने भन्ने सल्लाह र छलफल गरेर कर्नरिङ योजनामा सहभागी बनाउने गरिएको एक लगानीकर्ताले बताए ।

‘प्रवेश शुल्क तिर्नुपर्ने समूह सीमित भए पनि कर्नरिङ र सर्कुलर ट्रेडिङ गर्ने समूह धेरै छन्,’ ती लगानीकर्ताले भने, ‘केही समूह बीउ पूँजी उठाउने र कारोबार गर्ने खालका छन् भने केही फलानो कम्पनीको सेयर किन्ने भनेर खरिद गर्ने समूह छन् ।’

यस्ता समूह ह्वाट्स एप, फेसबुक, म्यासेन्जर, टिकटक, गुगल मिट लगायत समाजिक सञ्जाल मार्फत सक्रिय हुने गरेको ती लगानीकर्ताको भनाइ छ । यस्ता समूह लगानीकर्ताका मात्र नभई धितोपत्र दलाल कम्पनीहरूले पनि बनाउने गरेको उनले बताए ।

सेयर बजारमा पछिल्लो समय सक्रिय समूहका नेतृत्वमा अनिल रुंगटा, श्रवण गोयल, कैलाश अग्रवाल, अजित खनाल लगायत छन् । यी सेयर लगानीकर्ता समूहका नाइकेले समाजिक सञ्जालमा सेयरनगर, एक्टिभ ट्रेडर, हाम्रो सेयर बजार लगायत नाम राखेर वा एकल व्यक्तिको नामबाट समाजिक सञ्जालमा नेटवर्क गर्ने काम गर्दै आएका छन् ।

साथै, ती समूहमा सन्देश पठाउने बित्तिकै स्वतः कम्पनीको नामसहित खरिद गर्ने वा बिक्री के गर्ने जानकारी सन्देश आउँछ ।

पछिल्लो समय दीपेन्द्र अग्रवालको फेसबुक पेजमा सन्देश पठाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर आफूले खरिद गरिसकेको सन्देश आउँछ । साथै, उक्त बैंकको सेयर मूल्य १० हजार पुर्‍याउने समेत उल्लेख गर्दै सन्देशकर्तालाई के किन्ने भन्ने निर्णय आफैं गर्न सन्देशमा भनिन्छ ।

सेयर बजारमा समूह बनाएर कम्पनीको सेयर मूल्यमा उतारचढाव आउने गरी खरिद–बिक्री गरिनु गैरकानुनी हुने स्वयं नेप्सेका अधिकारीहरू बताउँछन् ।

त्यसैगरी समैह बनाएर सेयर कारोबार गर्ने अनिल रुंगटाले पछिल्लो समय सीईडीबी होल्डिङ लिमिटेड सेयरलाई कर्नरिङ गरेका छन् । उनीसहित उनको समूहका सदस्य लगानीकर्ता तथा ब्रोकर कम्पनीले उक्त कम्पनीको अधिकांश सेयर होल्ड गरेको एक धितोपत्र दलालले अनलाइनखबरलाई बताए ।

त्यसैरी गरी अर्को समूहका नेता हुन् श्रवण गोयल । गोयलले पछिल्लो समय माथिल्लो मौलुङ खोला जलविद्युत् लिमिटेड, हिमालयन रिइन्स्योरेन्स कम्पनी, इन्ग्वा हाइड्रो लिमिटेडको सेयरलाई समूह बनाइ, कर्नरिङ, सर्कुलर ट्रेडिङ गर्ने गरेका छन् ।

अर्को सक्रिय समूहको नेता हुन् कौशल अग्रवाल । कौशलले पनि न्यादी हाइड्रोपावर कम्पनी लगायत सेयरमा यस्तो कारोबार गर्ने तथा समूहका सदस्यलाई खरिद–बिक्री गर्न सुझाउने गरेको उनको समूहमा सहभागी एक सदस्य लगानीकर्ताले बताए ।

सेयर बजारमा समूह बनाएर कम्पनीको सेयर मूल्यमा उतारचढाव आउने गरी खरिद–बिक्री गरिनु गैरकानुनी भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का एक अधिकारीले बताए ।

‘त्यो सर्कुलर ट्रेडिङ हो,’ नेप्सेका ती अधिकारीले भने, ‘एकले अर्कालाई र अर्कोले अर्कालाई बिक्री गर्ने र चलाउँदै मूल्य बढाउने र अरूलाई भिडाउनु गैरकानुनी हो ।’

सेयरको गैरकानुनी कारोबार गरेर आम्दानी गर्ने नियतसाथ समूहमा बाँधिएर धितोपत्र खरिद–बिक्री भएको विषयमा धितोपत्र बोर्डसँग सहकार्य गरी सुपरीवेक्षण गर्ने ती अधिकारीको भनाइ छ ।

संगठित रूपमा सेयर मूल्यमा प्रभाव पार्ने, पम्प एन्ड डम्प, च्यानलिङ, कर्नरिङ, म्याचिङ लगायत काम गर्ने समूह सक्रिय भएको विषयमा धितोपत्र बोर्ड पनि जानकार छ ।

बोर्डले समूहगत कारोबार विषयमा उपयुक्त प्रमाण जुटाइ सहभागीलाई कारबाही गर्न अनौपचारिक रूपमा अनुसन्धान गरिरहेको बोर्डका एक अधिकारीले बताए ।

‘आवश्यक प्रमाण जुटाइ नियम विपरीत गतिविधिमा संलग्न भएको स्थापित गर्न गाह्रो पर्ने गरेको छ,’ ती अधिकारीले भने, ‘स्पष्ट प्रमाण जुटाएर कानुन विपरीत कारोबार भएको स्थापित गरेपछि मात्रै कारबाही अगाडि बढाउन सकिन्छ ।’

धितोपत्र ऐन अनुसार त्यस्ता गतिविधिलाई जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने, जालसाजीयुक्त कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पारेको, झुक्याउने विवरण दिने, झुठो कारोबार लगायत कसुर गरेको ठहर्ने छ ।

त्यस्ता समूहमा बोर्डका कर्मचारी प्रवेश गर्न खोजेको भए पनि नपाएको ती अधिकारीले बताए । ‘प्रमाण स्थापित हुने गरी केही लगानीकर्ताले बोर्डमा उजुरी दिन्छन् भने बोर्डले अनुसन्धान गरेर कारबाही गर्छ,’ उनले भने, ‘त्यस्ता ग्रुप पेड र अनपेड छन् । हरेक ब्रोकरका पनि त्यस्ता समूह छन भन्ने आएको छ । त्यसमा धितोपत्र बोर्डले पनि गम्भीर रूपमा अध्ययन गरिरहेको छ ।’

लगानीकर्तालाई हल्लाभन्दा पनि अध्ययन गरेर लगानी गर्न सुझाउने धितोपत्र बोर्डका ती अधिकारी त्यस्ता समूहको पछि लागेर कुनै एक कम्पनीको सेयर कारोबार गर्दा आम्दानी भए पनि अर्कोमा गुम्ने जोखिम उत्तिकै हुने बताउँछन् ।

त्यस्ता समूहले निश्चित कम्पनीको सेयर खरिद गर्ने अनि कम्पनीको विषयमा अनेक हल्ला फैलाउने र सेयर मूल्य बिक्री गर्ने गरेको गुनासो बोर्डमा पनि आउने गरेको ती अधिकारीको भनाइ छ ।

धितोपत्र ऐन अनुसार त्यस्ता गतिविधिलाई जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने, जालसाजीयुक्त कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पारेको, झुक्याउने विवरण दिने, झुठो कारोबार लगायत कसुर गरेको ठहर्ने उनको भनाइ छ ।

के हो सर्कुलर ट्रेडिङ ?

धितोपत्रको दोस्रो बजारमा समूह मिलेर कुनै एक कम्पनीको सेयर एक व्यक्तिबाट अर्को र अर्कोबाट अर्को तर, आफ्नै समूहको सदस्यले खरिद गर्ने प्रक्रियालाइ सर्कुलर ट्रेडिङ भनिन्छ । यो सेयरको मूल्य बढाउन समूहका सदस्यभित्र हुने खरिद–बिक्री हो ।

के हो म्याचिङ ?

सेयर मूल्य बढाउन एउटै समूहका सदस्यले सल्लाह बमोजिम खरिद–बिक्री गर्ने प्रक्रिया हो । यसको अभ्यास प्रायः बहुखाता प्रयोग गर्ने कारोबारी एक खाताबाट बिक्री गर्ने र अर्को खाताबाट खरिद गर्छन् । यसले सेयर कारोबार गरेको देखिए पनि वास्तविक सेयरधनी भने परिवर्तन हुँदैन ।

के हो कर्नरिङ ?

एक व्यक्ति वा समूहले निश्चित कम्पनीको सेयर खरिद गर्दै होल्ड गर्ने प्रक्रिया हो । यसमा बजारमा कृत्रिम माग सिर्जना नहुँदासम्म त्यो समूहले उक्त कम्पनीको सेयर खरिद गरिरहन्छ । कुनै कम्पनीको सेयर कुनै व्यक्ति वा समूहको कब्जामा राख्नुलाई कर्नरिङ भनिन्छ ।

के हो पम्प एन्ड डम्प ?

सेयर बजारमा पम्प एन्ड डम्प पनि निकै प्रचलनमा रहेको अभ्यास हो । कुनै एक व्यक्त वा संस्था सेयर मूल्य कम भएका कम्पनी छनोट गरेर एकोहोरो खरिद मात्रै गर्छन् । आफूले चाहेको मूल्य कायम भएपछि उक्त सेयर बिक्री गर्ने प्रक्रियालाई पम्प एन्ड डम्प भनिन्छ ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?